‘विल’तिर्ने पैसा छैन,अस्पतालबाट कसरी घर जाऊ ?
विर्तामोडः झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ९ कालिस्थानकी सम्झना सुनुवारको पाठेघरको शल्यक्रियापछि चिकित्सकले घर लैजान भने पनि अस्पतालमा तिर्नुपर्ने रकम तिर्न नसक्दा २० दिनसम्म उनले अस्पतालकै बेडमा सुतिरहनु परेको छ । पाठेघरमा पलाएको चार केजीको ऐंजेरुको विर्तामोडमा रहेको मनमोहन सामुदायिक अस्पतालमा शल्यक्रियापछि रकम अभावका कारण उनलाई अस्पतालबाट घर लैजान सकिएको छैन ।
उनको स्वास्थ्य भने सुधार हुँदै गइरहेको छ । अस्पतालले पनि उनलाई अब घर लाँदा हुन्छ भनिसकेको छ । तर रकम अभावमा नचाहँदा नचाहँदै अस्पतालमा नै दिन विताइरहनु परेको सम्झनाले सुनाइन् । उनले भनिन्, ‘अहिलेसम्म अस्पतालको फार्मेसीमा अलिकति पैसा तिर्यौं । तर अब उपचारको त्यत्रो पैसा कहाँबाट जोगाड गर्ने थाह छैन ।’ विहिबार अपरान्ह उनलाई भेट्न अस्पताल पुग्दा विहिबार नै अस्पतालले बेड खाली गर्न भनेको उनले सुनाइन् ।
उनको पाठेघरको शल्यक्रियाका लागि एक लाख ४५ हजार लागेको र पैसा तिर्न नसकेर घर लैजान नसकेको सम्झनाका श्रीमान पोष्टबहादुरले बताए । उनी भन्छन्, ‘चिनजानका आफन्तबाट अलि अलि उठेको पैसा पनि अस्पतालमा बस्दा सकियो । औषधिको पैसा बाहेक नै एक लाख ४५ हजार पुगेको छ । कसरी तिर्ने, अझै पैसा जुटाउन कति समय लाग्ने हो ।’
सामान्य घर बनाउने काम गरी घर व्यवहार चलाइरहेका पोष्टबहादुरलाई यतिका रकम जुटाउन गाह्रो परेको उनले सुनाए । नातेदार, चिनजानका साथी–भाइलाई सहयोग मागे पनि रकम संकलन गर्न नसकेको उनको गुनासो छ । आँखाभरी टिलपिल टिलपिल आँसु झार्दै कसैले सहयोग गरिदिए उपकार हुने उनी बताउँछन् । उनी भन्छन्, ‘घर बनाउने काम गरेर घर व्यवहार चलाइरहेको थिएँ, अचानक यस्तो समस्या आइलाग्यो । अब कसरी यो समस्याबाट मुक्ति पाउने हो । असाध्यै समस्यामा छु । मलाई परेको दुख कसैलाई नपरोस । यस्तो बेलामा कसैले सहयोग गरिदिए उपकार हुने थियो ।’
ढाँड दुख्ने समस्याबाट ग्रसित सम्झनाको अस्पतालमा चेकजाँच गर्दा पाठेघरमा ऐंजेरु पलाएको डाक्टरले भनेपछि सुनुवार परिवारमा समस्या निम्तिएको हो । शल्यक्रिया पनि भयो, अस्पतालले डिस्चार्ज दिँदा पनि रकम अभाबका कारण अस्पतालमा बाध्य भएर बस्नु परेको सम्झनाको दुखेसो गर्छिन् । उनी भन्छिन्, ‘सामान्य बसिरहेको थिए, अचानक पेट दुख्यो, सुत्केरी व्यथा लागेजस्तो दुखाई भएपछि चेक गर्दा यस्तो भयो । उपचार त भयो अब पैसा कसरी जुटाउने भन्ने समस्याले बिरामी जस्तै भएको छु । खै कति दिनमा घर जान पाउने हो ।’
सम्झना बिर्तामोडको मनमोहन मेमोरियल अस्पतालको बेड नम्बर १ सय १६ मा उपचार खर्च तिर्न नसक्दा बाध्य भएर बस्नु परेको छ । अस्पताल व्यवस्थापनले लागेको लागत मात्र पनि तिर्ने अवस्था भइदिए उनले अस्पतालबाट जान दिन सकिने बताएको छ । उनको उपचार खर्च तिरिदिने कसैले ग्यारेन्टी गरिदिए उनले घर जान दिन कुनै आपत्ति नहुने अस्पताल व्यवस्थापनका सदस्य डाचाराज कँडरियाले बताए । उनले भने, ‘फार्मेसी, उपकरण जस्ता प्रयोग भएका बस्तुको पैसा मात्र तिर्ने अवस्था भए बिरामी घर लैजान समस्या हुँदैन ।’