पद्यश्री पुरस्कार नवराज पराजुलीको कविता कृति ‘सगरमाथाको गहिराइ’लाई
काठमाडौं : खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले २०७३ सालको पद्यश्री पुरस्कार नवराज पराजुलीको कविता संग्रह ‘सगरमाथाको गहिराइ’ लाई दिने निर्णय गरेको छ। प्रष्ठिानले जनकराज सापकोटाको ‘कहर’, कुमार नगरकोटीको ‘घाटमान्डु’ राज सरगमको ‘छाउघर’, नविन विभासको ‘रोल्पा सुइना’ र पराजुलीको सगरमाथाको गहिराइलाई उत्कृष्ट पाँचको सूचीमा राखेको थियो। यही सूचीबाट पराजुलीको कृतिलाई पुरस्कार दिने निर्णय प्रतिष्ठानले गरेको हो।
पुरस्कारको राशी दुई लाख रुपैयाँ रहेको छ। पुरस्कार कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिने प्रतिष्ठानले जनाएको छ। सँगै प्रतिष्ठानले २०७३ सालको पद्यश्री सम्मान रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई संयुक्त प्रदान गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
यसअघि पद्यश्री सम्मान राष्ट्रकवि माधव घिमिरे, साहित्यकार मदनमणि दीक्षित,ध्रुवचन्द्र गौतम, वैरागी काइला, संस्कृतिविद् सत्यमोहन जोशी र महजोडी (हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ) ले पाइसकेका छन्।