६ वर्षमा ३० प्रतिशत काम
काठमाडौं : सरकारले उत्तर र दक्षिण सीमानासम्म जोड्ने गरी निर्माण सुरु गरेका व्यापारिक सडकको प्रगति न्यून देखिएको छ । ६ वर्षअघि थालिएका पाँचवटा सडकको काम अहिलेसम्म ३० प्रतिशत मात्र पूरा भएको छ । हाल भारतीय सीमानातर्फ मात्र सडक निर्माणको काम भइरहेको छ । अहिले बेलहिया-बुटवल, रानी-विराटनगर-इटहरी, जटही-जनकपुर-ढल्केबर, वीरगन्ज-पथलैया र मोहनापुल-अत्तरिया सडकखण्ड निर्माण सुरु गरिएको छ ।
उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयका निर्देशक भीमार्जुन अधिकारीले यी सडक तत्कालका लागि भारतसँग व्यापार विस्तार गर्न निर्माण गरिए पनि भविष्यमा चीनसँग जोड्ने लक्ष्य रहेको जानकारी दिए । उनले निर्माण सुस्त हुनुमा आवश्यकता अनुसार बजेट विनियोजन नहुनु र भएको बजेट पनि खर्च गर्ने क्षमता नहुनु प्रमुख कारण रहेको बताए ।
उनका अनुसार यीमध्ये कतिपय सडक निर्माण भर्खर थालिएको छ । अहिलेसम्म यी सडक निर्माणमा सवा सात अर्ब रुपैयाँ खर्च भइसकेको छ । यी सबै सडक उच्च गुणस्तरका हुनेछन् । अधिकारीले भने, ‘स्थानीय व्यापार अभिविृद्धि गर्ने गरी सबै सडकलाई ६ लेनको बनाइनेछ ।' सरकारले भारत र चीनसँग नेपालको व्यापारिक सम्बन्ध बढाउन आर्थिक वर्ष २०६८/६९ बाट यी सडक निर्माण सुरु गरेको हो ।
सबै व्यापारिक सडकको ठेक्का व्यवस्थापन पूरा भएर निर्माण प्रक्रिया अगाडि बढेको छ । यी सडकमध्ये सबैभन्दा पहिले सुरु भएकामा अलि बढी र पछि सुरु भएकामा कम काम भएको छ । औसतमा एक तिहाई काम भएको आयोजनाले जानकारी दिएको छ । नेपाल र भारतबीचको व्यापार तथा उपभोग्य वस्तुमा सहजीकरण गर्ने भएकाले ‘व्यापारिक मार्ग' नामाकरण गरिएको छ ।
भारतका विभिन्न पाँचवटै नाकाबाट पूर्व—पश्चिम अर्थात् महेन्द्र राजमार्गसँग यी सडक जोडिनेछन् । यी सडकमध्ये बेलहिया-बुटवल सडक सबैभन्दा पहिले सुरु भएको हो । २४ किमिको यो सडक आव २०६८/६९ मै सुरु भएको थियो । यो सडकमा हालसम्म तीन अर्ब ३८ करोड रुपैयाँ खर्च भएको छ । यो खर्चबाट ६१ प्रतिशतको भौतिक प्रगति भएको आयोजनाको दाबी छ । यो सडकमा गत वर्ष एक अर्ब १८ करोड रुपैयाँ विनियोजन भएकोमा ९९ प्रतिशत बजेट खर्च भयो ।
५० किलोमिटरको रानी-विराटनगर सडक आव २०६९/७० बाट सुरु भएको हो । यो सडकमा हालसम्म दुई अर्ब २४ करोड रुपैयाँ खर्च भएको छ । यो खर्चबाट १३ प्रतिशतको मात्रै भौतिक प्रगति भएको तथ्यांकले देखाएको छ । यो सडकमा २८ किमिमा काम भइरहेको छ । ४० किमिको जनकपुर-जटही र २७ किमिको वीरगन्ज-पथलैया सडक भने २०७१/७२ बाट सुरु भएका हुन् । यी सडकमा जनकपुर जटही ४५ करोड खर्च गरेर १० प्रतिशतको मात्रै भौतिक प्रगति भएको छ । यो रकमबाट १४ किमि निर्माण कार्य अगाडि बढाएकामा सात किमि मात्रै काम भइरहेको छ । बाँकी २६ किमिको भने ठेक्का सम्पन्न भएको छ ।
२७ किमिको वीरगन्जबाट-पथलैयाका लागि भने ८१ करोड रुपैयाँ खर्चेर सरकारले हालसम्म २६ प्रतिशतको प्रगति हासिल गरेको उल्लेख छ । यो सडकमा जम्मा नौ किलोमिटरको सबवेसमा मात्रै काम भइरहेको छ भने बाँकी प्रक्रियामै रहेको उल्लेख छ । १४ किमिको मोहनापुल अत्तरिया सडक भने गत आर्थिक वर्षबाट मात्रै सुरु भएकाले खासै प्रगति भएको छैन । साइट क्लियर गर्ने र ठेक्का प्रक्रियासहितको काम गर्दा १५ करोड खर्च भएको सडक विभागले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
सडक विभागको वार्षिक प्रतिवेदनअनुसार आव २०७३/७४ सम्ममा यी सबै व्यापारिक सडकलाई ठेक्का गर्ने र निर्माण कार्य अगाडि बढाउने काम भएको छ । इन्फोअहिले बेलहिया-बुटवल, रानी-विराटनगर-इटहरी, जटही-जनकपुर-ढल्केबर, वीरगन्ज-पथलैया र मोहनापुल-अत्तरिया सडकखण्ड निर्माण सुरु गरिएको छ