वरिष्ठ कलाकार वासुदेव मुनाललाई क्यान्सर
भक्तपुर : वरिष्ठ गायक एवं गीतकार वासुदेव मुनाललाई क्यान्सर भएको छ। रेडियो नेपालका चर्चित बाल कार्यक्रम सञ्चालकसमेत रहिसकेका मुनाल आइतबार क्यान्सर उपचारको लागि भक्तपुर क्यान्सर अस्पताल पुगेका हुन्।
उनलाई घाँटीको क्यान्सर भएको अस्पतालका रेडियसन अन्कोलोजिस्ट डा. उज्ज्वल चालिसेले जानकारी दिए। उनका अनुसार वरिष्ठ कलाकार मुनाल क्यान्सर उपचारको योजना गर्न आइतबार अस्पताल पुगेका हुन्। जसअनुसार सोमबारदेखि नै क्यान्सर लागेको कोषिकाको रेडियसनमार्फत सेकिने डा. चालिसेले बताए।
‘उहाँ (वरिष्ठ कलाकार मुनाल) लाई घाँटीको क्यान्सर (पाइरोफोम साइनस) भएको देखिएको छ’, उनले भने, ‘सम्पूर्ण परीक्षणले क्यान्सर भएको पुष्टि भएको छ। त्यसैले सोमबारदेखि नै उपचार सुरु गर्ने भएका छौं।’
भक्तपुर क्यान्सर अस्पतालले मुनालको क्यान्सरको सम्पूर्ण उपचार निःशुल्क गर्ने भएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले राष्ट्रकै निधि वासुदेव मुनालको क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार निःशुल्क गरिने बताएका हुन्।
उनले राज्यले यस्ता निधिहरुको खोजी गरेर उनीहरुको स्वास्थ्य अवस्थाबारे चासो लिनुपर्नेसमेत बताए। मुनालका छोरा मोहितले आफ्ना बुबाको उपचारको लागि कलाकार तथा संगीतकार संघसंस्थाहरुमा पहल भइरहेको जानकारी दिए।
उनका अनुसार करिब ११ वर्षअघि दसैंको दिन दुर्गा पूजा गरिरहँदा एक्कासी लड्न पुग्दा मुनालको ब्रेन ह्यामरेज भएको थियो। करिब १५ दिन कोमाको अवस्थामा पुगेका मुनाललाई क्यान्सर भएको केही हप्ताअघि मात्रै थाहा भएको छोरा मोहितले जानकारी दिए। ६८ वर्षीय मुनालले रेडियो नेपालमा ३१ वर्षसम्म एउटै बाल कार्यक्रममात्रै सञ्चालन गरेका थिए। उनी २०६४ सालमा रेडियो नेपालबाट सेवा निवृत्त भए। उनले ‘पानी खाने निहुँले तिम्रो घरमा आउँला’, ‘तिम्रो घर चाँचरी, झम झम स्टकोट’, ‘भए पनि ठिकै, नभए पनि ठिकै’ जस्ता अजम्बरी गीत गाएका हुन्।
उनले आफू रेडियो नेपाल प्रवेश गरी बाल कार्यक्रम चलाउँदा मात्र सातवटा बालगीत रहेको जानकारी दिए। उनका अनुसार मुनालले एकसयभन्दा बढी त बालगीतमात्रै गाएका छन्। ७५ वटा बालगीति नाटक तयार गरेका छन्। छोरा मोहितका अनुसार मुनालले एकसय ५० वटा आधुनिक गीत, एकसय २० लोकगीत र ११ वटा राष्ट्रिय गीत गाएका छन्।
‘मैले नारायणगोपालसँग दुइटा गीत गाएको छु’, मुनालले भने, ‘शिवशंकर र नातिकाजीसँग मिलेर बाल कार्यक्रमको संगीत (ट्युन) तयार गरेका थियौं। जुन त्यसबेला सबैको मनमस्तिष्कमा गुञ्जिएको थियो।’उनी आफूलाई गायकसँगै संगीतकार, लेखक, गीतकार, नाटककार र रेडियो नाटकका निर्देशकसमेत मान्छन्।
कोइरालाबाट मुनाल थर लेखेका उनी २०३० सालमा भएको देशव्यापी लोकगीत प्रतियोगितामा पहिलो भए। २०४५ सालमा बालगीतकारी पुरस्कार पाए। उनी मुनाल पत्रिका (२०२६ साल) र सुनकेस्रा बाल पत्रिकाका सम्पादकसमेत थिए।