हकप्रद निष्कासन पाँच गुणा वृद्धि

हकप्रद निष्कासन पाँच गुणा वृद्धि

काठमाडौं : पुँजीबजारमा सूचीकृत ७६ वटा कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा अघिल्लो आर्थिक वर्षको तुलनामा पाँच गुणा बढी हकप्रद सेयर निस्कासन गरेका छन्। बैंक तथा वित्तीय संस्थाले पुँजी बढाउने औजारका रूपमा हकप्रद सेयर प्रयोग गरेपछि निस्कासन वृद्धि भएको हो।

एक वर्षको अवधिमा ४५ अर्ब ६४ करोड रुपैयाँबराबरको हकप्रद सेयर निस्कासन गरिएको छ। धितोपत्र बोर्डले उक्त मूल्यबराबरको ४५ करोड ६४ लाख २४ हजार एक सय ४२ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो। अघिल्लो वर्ष नौ अर्ब ४० करोड रुपैयाँबराबरको नौ करोड ४० लाख कित्तामात्र सेयर निस्कासन भएको थियो।

मर्जर तथा एक्विजिसनका अलवा बोनस सेयर र एफपीओ निस्कासनबाट समेत चुक्ता पुँजी वृद्धि गर्न सकिने भए पनि अधिकांश बैंक हकप्रदलाई प्राथमिकतामा राखेको चुक्ता पुँजी पुर्‍याउन कस्सिएका छन्। राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको पुँजी वृद्धि योजनाअनुसार चुक्ता पुँजी पुर्‍याउन ठूलो परिमाणमा हकप्रद सेयर निस्कासन गरिएको हो। राष्ट्र बैंकको यो योजनालाई सघाउन बोर्डले गत आवका विभिन्न समयमा ७६ वटा बैंक तथा वित्तीय संस्थालाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो।

हकप्रद सेयर निस्कासन गर्न अनुमति पाएका वित्तीय संस्थामा २० वटा वाणिज्य बैंक, ३९ वटा विकास बैंक, १० वटा वित्त कम्पनी (फाइनान्स), ६ वटा इन्सुरेन्स र एउटा हाइड्रोपावर कम्पनी रहेको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ।

राष्ट्र बैंकले अघिल्लो वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएपछि अघिल्लो आवदेखि नै हकप्रदको लहर चल्दै आएको हो। विकास बैंकको साढे दुई अर्ब रुपैयाँ र अन्य वित्तीय संस्था र लघुवित्त संस्थाको पुँजी बढाउने भनेपछि बैंक धमाधम हकप्रद सेयर निष्कासन गरेर पँुजी बढाउन लागेका हुन्।

गएको वर्षमा प्राइम, कृषि विकास बैंक, माछापुच्छ्रे बैंक, जनता, कुमारी, सिटिजन्स बैंक इन्टरनेसनल, नेपाल बंगलादेश बैंक, सानिमा, लक्ष्मी, नेपाल बैंक, नेपाल एसबीआई बैंक, सनराइज, एभरेस्ट, सिद्धार्थ र सेन्चुरी कमर्सियल बैंकले एक अर्ब रुपैयाँभन्दा बढीको हकप्रद सेयर निस्कासन गरेका छन्। सानिमा माई हाइड्रोपावर र ज्योति विकास बैंकले पनि अर्बभन्दा माथिका हकप्रद सेयर निस्कासन गरेका छन्।

गत आवमा चुक्ता पुँजी पुर्‍याउन हकप्रद सयेर जारी गर्ने बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा धेरै बढी लक्ष्मी बैंकले चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गरेको छ। बैंकले तीन अर्ब १५ करोड मूल्यबराबरको हकप्रद सेयर निस्कासन गरेको छ। नेपाल बंगलादेश बैंकले तीन अर्ब २० करोड रुपैयाँबराबरको सेयर निस्कासन गरेको छ।

नेपाल एसबीआई बैंकले एक अर्ब ९९ करोड, सेन्चुरी कमर्सियल बैंकले एक अर्ब ८८ करोड, सनराइज बैंकले एक अर्ब ६३ करोड, सानिमा बैंकले एक अर्ब ५९ करोड, सिद्धार्थ बैंकले एक अर्ब ५७ करोड, नेपाल बैंकले एक अर्ब ५४ करोड, एभरेस्ट बैंकले एक अर्ब ५० करोड, सिटिजन्स बैंक इन्टरनेसनले एक अर्ब ३८ करोड र कुमारीले एक अर्ब ३४ करोड रुपैयाँबराबरको सेयर निस्कासन गरेका छन्।

कतिपय बैंकले नबिकेको सेयर बोलकबोलबाट बिक्री गर्ने भएका छन्। कुमारी, कृषि विकास बैंकलगायतले बोलकबोलमार्फत हकप्रद सेयर बिक्री गरेका छन् भने एभरेस्ट बैंकले बाँकी रहेको हकप्रद सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ। बैंकले बिक्री हुन बाँकी दुई लाख ५३ हजार सात सय ९७ कित्ता हकप्रद बिक्रीका लागि आइतबार बोलपत्र आह्वान गरेको छ। बैंकले असोज १ गते बोलपत्र पेस गर्ने अन्तिम मिति तोकेको छ।

बैंकले चुक्तापुँजी बढाउन गत असार १८ गतेदेखि साउन २२ गतेसम्म हकप्रद निस्कासन गरेको थियो। त्यसबेला बिक्री नभएपछि बैंकले लिलामी प्रक्रियाबाट हकप्रद बिक्री गर्न लागेको हो। यसरी हकप्रदमा बिक्री नभएको सेयर पछिबाट कम्पनीले लिलामीमा बेच्ने गरेका छन्। बैंकले पुँजी वृद्धिका लागि हकप्रदसँगै मर्जमा जाने विकल्पबारे आन्तरिक गृहकार्य गरिरहेकाले पनि सबैले धितोपत्र बोर्डमा अहिले निवेदन नदिएको हुन सक्ने बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए। ‘अन्तिम समयमा गएर मात्रै तात्ने प्रचलन छ। कतिपय बैंकले साधारणसभाबाट हकप्रदको निर्णय गरे पनि अहिलेसम्म बोर्डमा निवेदन दिइसकेका छैनन्।

बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले पुँजी बढाउन भन्दै हकप्रद सेयर निष्कासन गर्न थालेका छन्। आयोजना बनाउन लगानी जुटाउन भन्दै केही जलविद्युत् कम्पनीले हकप्रद र एफपीओ निष्कासन गर्न लागेका हुन्। चुक्ता पुँजी कम भएका बैंकले हकप्रद सेयर निष्कासन गर्ने सम्भावना भएकाले पनि लगानीकर्ता त्यस्ता कम्पनीको सेयर खरिद गर्न आकर्षित भएका छन्।
इन्फो
एक वर्षको अवधिमा ४५ अर्ब ६४ करोड रुपैयाँबराबरको हकप्रद सेयर निस्कासन गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.