गाईपालनमा रमाउँदै वडाअध्यक्ष

गाईपालनमा रमाउँदै वडाअध्यक्ष

कुश्मा : राजनीति गर्नेले कृषि पेसा गर्नु हुँदैन भन्ने मान्यतालाई चुनौती दिँदै यहाँका एक वडाअध्यक्षले राजनीति र व्वयसायलाई एक साथ अघि बढाएका छन्। चुनावअघि प्रायः फार्ममै भेटिने कुश्माका नवनिर्वाचित वडाअध्यक्ष सुवासचन्द्र पौडेल जिल्लाका नमुना कृषक हुन्। धेरै समय गाईभैंसीको स्याहार र फार्मको विकासमा खर्चिने उनी जनप्रतिनिधि भएपछि घरको कामसँगै जनताको काममा व्यस्त हुन थालेका छन्।

हिम्मत लिएर काम गर्‍यो भने सफलता धेरै पर छैन। जोश, जाँगर र लगनशिलताले युवा उद्यमी पौडेल यतिबेला कुश्मा नगरपालिकाको खरेहामा आफ्नै ‘स्वर्ग' फार्ममा मा रमाइरहेका छन्। जनप्रतिनिधि भइसकेपछि दैनिकजसो नागरिकको सेवाबाहेक कुश्माबजारनजिकै रहेको खरेहामा खोलिएको स्वर्ग अर्गानिक तथा कृषि, पशु फार्ममै उनको दिन बित्ने गरेको छ। विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका उनी चार वर्षयता खोलेको फार्मले अहिले जिल्लाकै नमुना कृषक बनेका छन्।

२०७० सालमा स्वर्ग अर्गानिक कृषि तथा पशु फार्म सुरु गरेका उनीसँग हाल २५ वटा गाईभैंसी छन्। राजनीतिक जीवनमा सक्रिय उनी राजनीति समाजसेवाका लागि र व्यवसाय आफ्नो आर्थिक उपार्जनका लागि भएको बताउँछन्। श्रीमान्- श्रीमतीकै सहकार्यले सुवास दम्पत्ति सफल कृषि व्यवसायीका रूपमा परिचित हुँदै गएका छन्। पछिल्लो पटक भएको स्थानीय निर्वाचनमा कुश्मा नगरपालिका वडा नं ७ को अध्यक्षमा उनी एमालेको तर्फबाट विजयी भएका हुन्। गहन अध्ययन गर्ने र योजनाबद्ध रूपमा काममा लाग्ने उनको बानी छ।

पोखरा-बागलुङ राजमार्गअन्तर्गत कुश्माको खरेहाछेवैमा पशु फार्म सञ्चालन गरेका उनले हाल एक सय ४५ रोपनी जग्गा लिजमा लिएर घाँसखेतीसमेत गरेका छन्। यसका अलवा ६ जनालाई उनले रोजगारी दिइरहेका छन्। २०७० साल फागुनमा पशु फार्म सुरु गरेका सुवासले यसका अलवा स्वर्ग डिपार्टमेन्ट स्टोर्स, स्वर्ग डेरी उद्योगसमेत सञ्चालन गरेका छन्। श्रीमान् राजनीतिक कार्यक्रममा व्यस्त भएका बेला आफूले समेत सघाउने गरेको उनकी श्रीमती अम्बिका शर्माले बताइन्।

२०७० सालमा स्वर्ग अर्गानिक कृषि तथा पशु फार्म सुरु गरेका उनीसँग हाल २५ वटा गाईभैंसी छन्।

वडाध्यक्षमा निर्वाचित भएपछि सुवासको काम पनि बढेको छ। हाल उनको फार्मबाट दैनिक एक सय २० देखि एक सय ५० लिटर दूध उत्पादन हुने गरेको छ। उनको डेरीमा अन्य कृषकबाट तीन सय लिटरभन्दा बढी दूध दैनिक संकलन हुन्छ। उनी दैनिक जम्मा भएको चार सय ५० बढी लिटर दूध कुश्माबजारका घरघर र होटल-होटलमा विहान बेलुकै पुर्‍याउने गरेका छन्। उक्त व्यावसायबाट मासिक तीन लाख रुपैयाँ आम्दानी हुने गरेको पौडेलले जानकारी दिए। ‘मेहनत गर्‍यो भने एक दिन पक्कै सफलता हात पर्छ', उनले भने, ‘म यो व्यवसायबाट निकै सन्तुष्ट छु।

उक्त फर्मबाट भएको कमाइले उनले व्यवस्थित घरघडेरी, छोराछोरीलाई सुविधासम्पन्न विद्यालयमा पढाउनुका साथै बैंकमा बचतसमेत गरेको बताए। शुद्ध दूधका अलवा उनले कुराउनी, दही, पनिरलगायत दुग्धजन्य वस्तु उत्पादन गर्दै आएका छन्। सुवास भन्छन्, ‘सबैभन्दा महत्ववपूर्ण पक्ष व्यवस्थापन रहेछ। व्यवस्थापन सही ढंगबाट गर्न सकियो भने जुनसुकै काममा पनि विफल भन्ने भइँदोरहेनछ।' सुवासको सफलता, कृषिप्रतिको मोह, पशुप्रतिको सामिप्यता र लगनशीलता युवाका लागि प्रेरणाको स्रोत हुने जिल्ला पशु सेवा कार्यालय प्रमुख सुधिर थापाले बताए।





प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.