निजी कार ट्याक्सीसरह  

निजी कार  ट्याक्सीसरह  

गोरखा : गोरखा बजारमा रातो नम्बर प्लेटका निजी कारले ट्याक्सीको काम गर्दै आएको पाइएको छ । निजी कारले गोरखा बजारआसपास यात्रु ओसार्ने काम गर्दै आएका छन् । प्राइभेट गाडीले ट्याक्सीसरह काम गर्नु ट्राफिक नियमविपरीत मानिन्छ । ट्राफिक प्रहरी कार्यालयअघि नै निर्वाध रूपमा निजी कारले यात्रु ओसारिरहेको स्थानीयवासी बताउँछन् । रातो प्लेटका गाडीले बिहानैदेखि बसपार्क, बीपी चोक, हरमटारी चोक र अस्पताल मार्गमा यात्रु ओसार्ने गरेको उनीहरूको भनाइ छ ।

 

गोरखामा कालो प्लेटका ट्याक्सी पनि सञ्चालनमा छन् । उनीहरूको छाता संस्था ट्याक्सी व्यवसायी समिति डेढ वर्षअघि गठन भएको थियो । समितिमा ३० जना ट्याक्सी व्यवसायी आबद्ध छन् । समितिले जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी समिति तथा सरोकारवालाको रोहबरमा भाडा पनि निर्धारण गरेको छ । तर रातो प्लेटका गाडीहरूले मनोमानी भाडा असुल्दै आएको ट्याक्सी व्यवसायीको संस्था गोरखा-मनकामना यातायात सेवा प्रालिले जनाएको छ ।

रातो प्लेटका ट्याक्सी दुई किसिमका छन् । एकथरीले नियमित रूपमा लोकल र खैरेनी, पोखरा, चितवन, काठमाडौंसम्म यात्रु ओसार्छन् भने अर्काथरीले सम्पर्कका आधारमा टाढा दूरीका यात्रु मात्र ओसार्छन् । भाडा लिएर टाढा दूरीको यात्रा गराउने निजी कारको संख्या यसभन्दा धेरै रहेको अनुमान छ । लोकल यात्रु ओसार्ने रातो प्लेटका ट्याक्सी करिब ३० वटा छन् ।

समितिमा आबद्ध ट्याक्सी व्यवसायीले निर्धारण गरेको भाडामा सेवा दिँदै आए पनि रातो प्लेटका गाडीले यात्रुसँग मनोमानी भाडा लिने गरेका हुन् । बार्गेनिङ गर्न सक्नेसँग उनीहरूले भाडा दरभन्दा पनि कम लिने गरेको प्रालिका महासचिव सुमन कार्कीले बताए ।


सार्वजनिक पद धारण गरेका व्यक्तिले नै रातो प्लेटका गाडीलाई ट्याक्सीका रूपमा चलाइरहेका छन् ।

‘अहिले सबै रातो प्लेटका कारलाई भाडाका गाडी सम्झन्छन्', एक स्थानीयले भने, ‘ट्राफिकले कारबाही नगर्दा यस्तो भएको हो ।' बजारमा सार्वजनिक पद धारण गरेका व्यक्तिले पनि रातो प्लेटको गाडीलाई ट्याक्सीका रूपमा चलाइरहेको ट्याक्सी व्यवसायी समितिका महासचिव कार्कीले बताए । ‘पुलिसलाई सुराकी गर्‍यो भने त कारबाही हुन्थ्यो कि ? तर सबै आफ्नै साथी छन् । साथीहरूसँग के दुस्मनी गर्ने ? ', उनले भने, ‘रातो प्लेटका गाडी चलाउने ड्राइभर हाम्रा छन् । उनीहरूले पनि किन दुश्मनी गर्ने ? '

ट्याक्सी व्यवसायी समितिमा रातो प्लेटका केही कार पनि आबद्ध छन् । समितिका महासचिव कार्कीका अनुसार त्यस्ता कारलाई कालो प्लेटमा ल्याउने प्रयास गरिएको छ । तर समितिमा आबद्ध नभएका रातो प्लेटले भने प्लेट परिवर्तन गर्ने प्रयास गरेका छैनन् । दुई वर्षअघि सबै रातो प्लेटका ट्याक्सीलाई कालो नम्बर प्लेट बनाउन प्रहरीले कडाइ गरेको थियो । तीमध्ये ५० प्रतिशतले परिवर्तन गरेका छन् । रातो प्लेटका ट्याक्सी चालक भने क्युमा बसेर गाडी नचलाएको दाबी गर्छन् ।

आफू सम्पर्कमा रहेर सेवा दिएको बा १४ च ४३०८ नम्बरका रातो प्लेटका ट्याक्सी चालकले दाबी गरे । उनका अनुसार रातो प्लेटका ट्याक्सी ३० वटा भन्दा बढी छन् । ‘बिहान हेर्न आउनुभयो भने हरर निस्किरहेका हुन्छन् । दिउँसो त कता पुगिसकेका हुन्छन्', उनी भन्छन् । प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले रातो प्लेटका गाडीले भाडाका यात्रु ओसार्नु गैरकानुनी भएको र त्यस्तो पाइए कारबाही गर्ने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.