कहिले बन्ला सरकारी अस्पतालमा 'आइसोलेसन वार्ड' ?
काठमाडौं : स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले कडा मौसमी रुघाखोकीको उपचार गरेर फर्कंदा वीर अस्पतालमा 'आइसोलेसन वार्ड' को अभाव खड्किएको देखे ।'डिस्चार्ज' का क्रममा वीरसँगै अन्य सरकारी अस्पतालमा पनि 'आइसोलेसन वार्ड' स्थापना नगरी नहुने निष्कर्ष उनको थियो । 'मैले उपचार गरेपछि सरकारी अस्पतालमा 'आइसोलेसन वार्ड' अनिवार्य स्थापना गर्नुपर्ने आवश्यकता बोध गरेँ,' मन्त्री पोखरेलले अन्नपूर्णसँग भने, 'त्यसका लागि म प्रक्रिया अघि बढाउँछु । सरकारी अस्पतालमा उपचाररत बिरामी 'आइसोलेसन वार्ड' नहुँदा निजी अस्पताल जान बाध्य रहेछन् ।'
मुलुककै सबैभन्दा ठूलो र पुरानो अस्पतालमा सुविधासम्पन्न 'आइसोलेसन वार्ड' नहुँदा मन्त्री दु:खी हुनु स्वाभाविकै थियो । हुन त पूर्वस्वास्थ्यमन्त्रीहरू गगन थापा, रामजनम चौधरी, खगराज अधिकारी, राजेन्द्र महतोलगायत दर्जन बढीले पनि सरकारी अस्पतालमा 'आइसोलेसन वार्ड' स्थापना गर्ने घोषणा गरेका हुन् । तर, घोषणाअनुसार न मन्त्रीहरूले वार्ड स्थापना प्रक्रिया अघि बढाए न अस्पताल प्रशासनले त्यसमा चासो दियो ।
गम्भीर प्रकृतिका सरुवा रोगका बिरामीको उपचार गर्न सरकारी अस्पतालमा आईसीयूसरहका 'आइसोलेसन वार्ड' सञ्चालनको योजना वर्षौंदेखि अलपत्र परेको छ । रैथानेसँगै नयाँ-नयाँ सरुवा रोग बाह्रै महिना देखिन थालेको नेपालमा 'आइसोलेसन वार्ड' को अभाव हुँदा अस्पतालमा भर्ना हुने अन्य बिरामीको ज्यानसमेत धरापमा परेको छ । सन् २००९ मा हङकङमा (एच वान एन वान पेन्डिेमिक जिरो नाइन) भाइरसका कारण कडा रुघाखोकी फैलियो।
टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको हेपा फिल्टरसहितको 'आइसोलेसन वार्ड' प्रयोगविहीन । २५ लाखको ट्रान्समिटर खरिद नगर्दा करोडभन्दा बढी मूल्यको मेसिन अलपत्र ।
- वीर, पाटन र शिक्षण अस्पतालमा सुविधासम्पन्न आइसोलेसन वार्ड बन्नै सकेन ।- २४ सै घन्टा 'अक्सिजन सप्लाई सिस्टम', 'कम्प्रेसर', 'प्रेसर च्याम्बर' लगायत व्यवस्था गर्न नसक्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्ड तीन वर्षदेखि प्रयोगविहीन ।
- भरतपुर जिल्ला अस्पतालको 'आइसोलेसन वार्ड' पनि उपकरण अभावमा प्रयोगविहीन ।
त्यसको जोखिमा नेपाल पनि परेको भन्दै स्वास्थ्य मन्त्रालयले नै हरेक एक सय शड्ढयाको सरकारी अस्पतालमा 'आइसोलेसन वार्ड' अनिवार्य सञ्चालन गर्ने घोषणा गरेको थियो । पटकपटक परिवर्तन हुने स्वास्थ्यमन्त्रीले पनि त्यसलाई नारा बनाए । तर, सम्बन्धित अस्पताल प्रशासनले बेवास्ता गर्दा, नेतृत्व फेरबदल भइरहँदा, मन्त्रालय स्वयंले अनुगमन र समन्वय नगर्दा 'आइसोलेसन वार्ड' नाममा मात्र सीमित छन् । सञ्चालनका लागि ठिक्क पारिएका वार्ड पनि अस्पताल व्यवस्थापनको हेलचेक््रयाइँले अलपत्र छन् ।
टेकुको आइसोलेसन वार्ड
सन् २०१४ मै मन्त्रालयले टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा 'हेपा फिल्टिर' सहितको 'आइसोलेसन वार्ड' को निर्माण गरेको थियो । त्यहाँ एक करोडभन्दा बढी मूल्यको मेसिन जडान छ । २५ लाखको ट्रान्समिटर खरिद गरी मेसिन सञ्चालन नगर्दा 'आइसोलेसन वार्ड' प्रयोगविहीन छ । अस्पतालसमेत डेढ महिनादेखि प्रमुखविहीन छ । अस्पतालका पूर्वप्रमुख डा. रमेशप्रसाद खरेल मेसिन जडान गरेको लामो समय भएकाले इन्जिनियर बोलाएर देखाउन नसकेको बताउँछन् ।
पाटन अस्पतालमा पनि सुविधासम्पन्न आइसोलेसन वार्ड छैन । सरकारले नेपालमा इबोला फैलिएमा पाटन, वीर र सशस्त्र प्रहरी अस्पताललाई उपचारको जिम्मा दिएको थियो । पाटन अस्पतालका वरिष्ठ चिकित्सक युवराज शर्माका अनुसार हाल ६ वटा शड्ढया गम्भीर प्रकृतिका सरुवा रोगका बिरामीलाई उपचार गर्न छुट्ट्याइएको तर सुविधासम्पन्न आइसोलेसन वार्ड भने छैन । शिक्षण अस्पतालमा पनि सुविधासम्पन्न आइसोलेसन वार्ड छैन ।
जिल्लामा झनै बेहाल
'आइसोलेसन वार्ड' स्थापना गर्ने योजना जिल्लाका अस्पतालमा झनै अलपत्र छ । 'आइसोलेसन वार्ड' अभावमा सबै किसिमका बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्नुपर्ने स्थिति छ । विभागका कर्मचारीलाई जिल्लाका चिकित्सक र स्वास्थ्यकर्मीले शंकास्पद बिरामी भेटिनासाथ 'हामी उपचार गर्न सक्दैनौं' भन्दै धम्क्याउने गरेका छन् । 'आइसोलेसन वार्ड' नहुँदा हेलिकोप्टर चार्टर गरेर बिरामीलाई उद्धार गर्नुपरेका घटना छन् ।
मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चारवटा शड्ढयाको 'नेगेटिभ प्रेसर भेन्टिलेसन रुम' बनाउन उपकरण प्रदान गरेको थियो । २४ सै घन्टा 'अक्सिजन सप्लाई सिस्टम', 'कम्प्रेसर', 'प्रेसर च्याम्बर' लगायतको व्यवस्था गर्न नसक्दा उक्त आइसोलेसन वार्ड तीन वर्षदेखि प्रयोगविहीन छ । मन्त्रालयले दिएको 'प्रोटेवल' भेन्टिलेटर उपयोगी नहुने चिकित्सक बताउँछन् । 'मन्त्रालयको सहयोगमा स्थापना भएको 'आइसोलेसन वार्ड' सञ्चालन लागि दुवैतिरबाट पहल भएन,' अस्पतालका फिजिसियन चिकित्सक विवेक कट्टेललेसँग भने, 'गम्भीर सरुवा रोगका एक जना बिरामी आए हामी पुरानै आईसीयूमा उपचार गर्न सक्छौं तर धेरै बिरामी आए भने समस्या हुन्छ ।' चितवनको भरतपुर जिल्ला अस्पतालको 'आइसोलेसन वार्ड' पनि उपकरण अभावमा प्रयोगविहीन छ ।
किन चाहिन्छ 'आइसोलेसन वार्ड' ?
नेपालका पटक-पटक महामारी र प्रकोपको रूप लिइसकेका हैजा, डेंगुलगायत सरुवा रोगका बिरामीलाई 'आइसोलेसन वार्ड' आवश्यक पर्ने चिकित्सक बताउँछन् । यस्तै, पछिल्लो समय बाह्रै महिना देखिन थालेको कडा मौसमी रुघाखोकीका गम्भीर बिरामी र क्षयरोगको औषधिले असर गरेका बिरामीलाई 'आइसोलेसन वार्ड' नभई हुन्न ।
'यलो फिबर', 'मर्स कोराना भाइरस', 'इबोला' लगायत रोगको जोखिममा पनि नेपाल परेको छ । महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनी संक्रामक रोगको सुरक्षित उपचारका लागि 'आइसोलेसन वार्ड' खाँचो परेको बताउँछन् । 'एउटा बिरामीका कारण अर्को बिरामीको जीवन जोखिममा पार्न हुन्न,' डा. मरासिनीले भने, 'आइलोलेसन वार्ड' स्थापनमा अघि बढ्नुको विकल्प छैन ।' उनका अनुसार कडा रुघाखोकीका बिरामीलाई क्यान्सरका बिरामी नजिकै राखेर उपचार गर्दा रोग सहजै उनीहरूमा सर्छ ।
छिमेकी मुलुक भारतमा अनेक किसिमका रोग फैलिरहेका छन् । ती रोग सहजै नेपाल फैलिन जोखिम त्यत्तिकै भएकाले सर्तकता अपनाउनुपर्ने मरासिनीले बताए ।
कस्तो हुनुपर्छ 'आइसोलेसन वार्ड'
विश्व स्वास्थ्य संगठनको निर्देशिकाअनुसार उपचार गराइरहेका एक बिरामीबाट अर्को बिरामीमा रोग फैलिन नदिन हरेक अस्पतालले 'आइसोलेसन वार्ड' स्थापना गरी उपचार गर्नुपर्छ । छुट्टै जुत्ता, गाउन, मास्क, पन्जा प्रयोगको सुविधा भएको र बिरामीलाई जाँचका लागि प्रयोग गरिने स्टेथोस्कोप, थर्ममिटर, भेन्टिलेटर, अक्सिजन सिलिन्डर, मोनिटरलगायत उपकरण छुट्टै हुनुपर्छ । संगठनले नेपाललगायत विकासोन्मुख मुलुकमा 'हेपाफिल्टर सहितको 'आइसोलेसन वार्ड' को खाँचो रहेको सुझाएको छ । चिकित्सक, नर्ससमेतले 'आइसोलेसन वार्ड' बिरामीको उपचार सतर्कता अपनाउनुपर्छ ।