एक्कै पटक दुर्इ निर्वाचन गर्न के छन् चुनौती ?

एक्कै पटक दुर्इ निर्वाचन गर्न के छन् चुनौती ?

निर्वाचनबिना कुनै किसिमको प्रतिनिधिमूलक लोकतन्त्रको कल्पनासम्म गर्न सकिँदैन । संघीय संरचनायुक्त मुलुकहरूमा केन्द्रीय विधायिका तथा प्रान्तीय विधायिकाहरूको निर्वाचन एकैसाथ गर्ने व्यवस्था परम्पराका रूपमा मात्र होइन संवैधानिक वाध्यता पनि बन्छ ।

birendra-misraयसो गर्दा राष्ट्रिय ढुकुटीमाथि व्ययभार समेत कम हुन्छ । कहिलेकाहीं कुनै दल वा गठबन्धनको स्पष्ट बहुमतको अभावमा केन्द्रीय विधायिका तथा प्रान्तीय विधायिका भंग हुने अवस्थाको सिर्जना हुन्छ र यी निकायका निर्वाचन भिन्नाभिन्नै समयमा गर्नुपर्ने अवस्था हुन्छ । निर्वाचन फरक समयमा भएमा केन्द्रीय र प्रान्तीय सरकारहरूको कुशलता÷क्षमता वा कार्यकालको मध्यावधि मूल्यांकन पनि हुन्छ । तर दुवै निर्वाचनहरू एकै समयमा गर्नु विभिन्न किसिमले मुलुकको लागि हितकर हुन्छ । आर्थिक भार मात्र कम हुँदैन, प्रशासनिक व्यवस्थापन पनि सजिलो हुन्छ ।

भारतमा पनि प्रान्तीय विधायिका कहिलेकाहीं पूर्ण कार्यकालअगावै भंग हुने भएकाले दुवै निर्वाचन छुट्टाछुट्टै समयमा हुन थाले । भारत स्वतन्त्र भएपछि, करिब १५ वर्षसम्म दुवै निर्वाचन एकै साथ हुन्थे, तर पछि संघीय र प्रान्तीय विधायिका विविध कारणले फरक-फरक समयमा विघटन हुन थालेपछि ती निकायका निर्वाचन फरक-फरक समयमा हुन थालेका हुन् ।

 

 

 

केन्द्रीय तथा प्रान्तीय निर्वाचनको घोषणा

निर्वाचन आयोगको परामर्शमा सरकारले प्रान्तीय विधायिका (प्रदेशसभा) तथा केन्द्रीय विधायिका (प्रतिनिधिसभा)को निर्वाचन एकैसाथ मंसिर १० गते गर्ने निर्णयलाई परिमार्जन गरी अब दुई चरणमा क्रमशः १० र २१ मंसिरमा गर्ने घोषणा प्रशंसनीय छ । निर्वाचन आयोगको यस व्यावहारिक सल्लाहलाई स्वीकार गरी सरकारले गरेको निर्णय उचित छ । निर्वाचन आयोगले आधा मनले मौसमका कारणमात्र निर्वाचन सार्न सुझाव दिएको थियो । जबकि, सुरक्षा, प्रशासनिक र व्यवस्थापकीय चुनौती समेत हेर्दा दुई चरणमा निर्वाचन गर्नु उपयुक्त छ ।

निर्वाचन आयोगले यस्ता चुनौतीलाई ध्यानमा राखी परम्परागत सोचबाट माथि उठेर केही दूरगामी निर्णय लिनुपर्छ । यस्ता निर्णय लिई कार्यान्वयन गर्न सकेमा भविष्यमा हुने सबै निर्वाचनलाई पनि सजिलो बनाउँछ । तब मात्र लोकतन्त्र र गणतन्त्र जोगाउन आयोगको योगदान समेत कदर गर्न लायक देखिनेछ ।

निर्वाचन आयोगले सरकारलाई कात्तिक मसान्तभित्र नै उच्च पहाडी र हिमाली क्षेत्रमा मिति तोक्न दबाव दिनुपथ्र्यो । २०५१ सालको मध्यावधि निर्वाचन मंसिर ७ मा भएको थियो र यसमा करिब १०-१२ केन्द्रमा त्यसदिन मतदान हुन सकेको थिएन । त्यसबेला हिउँ पर्नाले, खटिएका कर्मचारीहरू मतदान सामग्रीसाथ मतदान केन्द्रमा पुग्न सकेका थिएन ।

निर्वाचन आयोगको दायित्व

निर्वाचनमा आयोगको दायित्व राजनीतिक दल र सरकारको भन्दा बढी हुन्छ । खासगरी अविकसित र राजनीतिक संक्रमणकमा रहेका मुलुकहरूमा राजनीतिक दल र विशेषरूपमा सरकारमा रहेका दलहरू निर्वाचन आचारसंहिता पालन गर्न र निष्पक्ष मतदानको वातावरण बनाउन प्रतिबद्ध हुँदैनन् । किनकि जसरी भए पनि निर्वाचनमा विजय प्राप्त गरी शासन र सत्ताप्राप्ति तिनका अभीष्ट हुन्छन् । यस्तो अवस्थामा निर्वाचन आयोगको भूमिका महत्वपूर्ण हुन्छ । यसैकारण, निकासका लागि निर्वाचन आयोग जस्ता विभिन्न निकायहरूको व्यवस्था संविधानमा गरिएको हुन्छ ।

हालै सम्पन्न स्थानीय तहका दुई चरणका निर्वाचन हास्यास्पद र लज्जास्पद भएको देखिन्छ । हास्यास्पद यसकारणले कि ‘पहिलो हुन निर्वाचित हुने (पहुनिहु) निर्वाचन प्रणालीमा एक मतको अन्तरमा उम्मेदवार विजयी भएको ठाउँमा २० देखि २२ प्रतिशत (हजारौं) मत बदर भएको अवस्था छ । यस्तो अवस्थामा के जनताले बहुमत दिएको उम्मेदवार विजयी भएको छ त भन्ने प्रश्न उठ्छ । यो निर्वाचनको उपहास मात्र होइन कि यसलाई निर्वाचन नै होइन भन्न पनि सकिन्छ । यस्तो रेकर्ड विश्वमा सायदै होला । यो निर्वाचन लज्जास्पद यस कारण हो कि निर्वाचन आयोगले महत्वपूर्ण भूमिका खेल्न बिर्सेको जस्तो देखिन्छ ।

यो सत्य कुरा हो कि ऐन कानुनबाट निर्वाचन आयोग बाँधिएको हुन्छ, तर आफ्नो प्राप्त अधिकारभित्र खेल्न आयोग स्वतन्त्र हुन्छ । उदाहरणको लागि ६०÷६५ दलहरूको निर्वाचन चिन्हयुक्त मतपत्र पक्कै ठूलो हुन्थ्यो भन्ने थाहा हुँदाहुँदै कम मत बदर बनाउन आयोगले केही काम गर्न सक्थ्यो । जस्तैः मतदानलाई चरणबद्धरूपमा गर्ने, कडा सुरक्षाका साथ विभिन्न छापाखानामा मतपत्र छाप्ने, उम्मेदवारहरूलाई चिन्ह वितरण गरेपछि मात्र मतपत्र छपाउने गरेका भए मतपत्र निकै छोटो हुन्थ्यो । यसो गरेका भए ४-५ प्रतिशत भन्दा बढी मत बदर हुने थिएन । अब उप्रान्त आयोगले यसमा ध्यान दिनुपर्ने देखिन्छ ।

आउँदो निर्वाचनमा चुनौती

ठूलो मतपत्र आगामी प्रादेशिक तथा केन्द्रीय निर्वाचनमा समस्या बन्ने छैन । किनकि मतपत्रको छपाइ उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण पछि हुन्छ जसले गर्दा मतपत्र स्थानीय तहको निर्वाचनको तुलनामा छोटा हुनेछन् । प्रदेश र केन्द्र दुवै तहको लागि हुने निर्वाचनमा मि िश्रत प्रणाली प्रयोग हुन्छ । पहुनिहु प्रणालीको साथसाथै समानुपातिक प्रणालीको प्रयोगले दुवै विधायिकाको लागि दुई-दुई किसिमका मतपत्र चाहिन्छन् । एकै मतदान केन्द्रमा, चार किसिमको मतपत्रको प्रयोग चुनौतीपूर्ण हुन्छ किनकि कुनै-कुनै केन्द्रमा जहाँ ३०÷४० प्रतिशत मतदाता अशिक्षित हुन सक्छन् ।

यस विषयमा निर्वाचन आयोग गम्भीर हुनु आवश्यक छ । हुनत मि िश्रत निर्वाचन प्रणालीका लागि प्रयोग हुने मतपत्रको किसिमको सम्बन्धमा अहिलेसम्म ऐनकानुन बनेको छैन । अहिले कानुन बन्ने क्रममा भएकोले, सरकार र निर्वाचन आयोग धेरै विचार पुर्‍याएर अगाडि बढ्नुपर्ने हुन्छ । यस सम्बन्धमा जस्तोसुकै ऐनकानुन बने पनि निर्वाचन आयोगको भूमिका महत्वपूर्ण नै हुन्छ ।

मतपत्रको समस्या

मतपत्रको संख्या घटाउन ‘पहुनिहु’ प्रणाली र समानुपातिक प्रणालीको लागि एउटै मतपत्र प्रयोग गर्ने भन्ने भनाइ पनि आएका छन् । दुई किसिमको मतपत्र प्रयोग गर्ने विकल्पले विविध कारणले उचित परिणाम दिँदैन । निकै संख्यामा मतहरू खेर जान्छन् र मतदाताले चाहेको वास्तविक प्रतिनिधिको छनोट सम्भव हुँदैन । ‘पहुनिहु’ प्रणालीअन्तर्गत निकै संख्यामा स्वतन्त्र उम्मेदवारहरू निर्वाचनमा भाग लिन्छन् र ती उम्मेदवारले प्राप्त गरेका मतको प्रतिनिधित्व समानुपातिक प्रतिनिधित्वतिर गणना हुन नसक्नाले ती मत खेर जान्छन् ।

मतपत्रको छपाइ २०४८ सालदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट मात्रै हुँदै आएको छ । निर्वाचन सम्पन्न गर्नका लागि १०० देखि १२० दिनसम्मको माग मुख्य रूपमा मतपत्र छपाइको निम्ति हुने गरेको हुन्छ । मतदाताको संख्या २०४८ सालको तुलनामा अहिले करिब दोब्बर भएको छ तर पनि निर्वाचन आयोगको निर्भरता भने जनक शिक्षामाथि मात्रै हुनु अव्यवहारिक हो । त्यो प्रेसको मुख्य दायित्व शिक्षासम्बन्धी पुस्तकहरूको छपाइ र वितरण हो तर उसले निर्वाचनका लागि मतपत्र छपाइमा ध्यान केन्द्रित गर्दा पाठ्यपुस्तक छपाइ पनि ढिलो हुन्छ । अतः जनक शिक्षामाथिको आयोगको निर्भरता बढाउनु सट्टा घटाउनु उचित देखिन्छ । त्यसको लागि विश्वसनीय छापाखानाकोे सहायता लिनु बाञ्छनीय देखिन्छ । जस्तो सुरक्षाको व्यवस्था जनक शिक्षाका लागि गरिन्छ त्यस्तै अर्को छापाखानामा गर्न सकिन्छ ।

मुलुक संघीयतामा गइसकेका अवस्थामा सातवटा प्रान्तमा विभिन्न समयमा निर्वाचन हुने सम्भावना रहेकाले, ठूला महानगर र उपमहानगरका विश्वसनीय तथा राम्रो छापाखानामा मतपत्र छपाइको काम गर्न सकिन्छ । यसो भयो भने निर्वाचनको काम सम्पन्न गर्न ४०-४५ दिनभन्दा बढी समय चाहिँदैन । यसले निर्वाचन खर्च, उम्मेदवार एवं राजनीतिक दलहरूबाट हुने खर्च पनि घटाउँछ । आचारसंहिता पालन गर्ने अवधिलाई समेत यसले प्रभावित पार्छ । अतः निर्वाचन आयोगले परम्परागत सोचाइ त्यागेर काठमाडौं उपत्यका र बाहिर पनि ठूला छापाखानामा मतपत्र छाप्ने व्यवस्था मिलाउनुपर्छ ।

नेपालमा निर्वाचनमा प्रयोग हुने मतपत्रका अर्धकट्टिमा क्रमांक लेखिन्छ तर मतपेटिकामा खसालिने भागमा लेखिँदैन । भारत र बेलायत जस्ता मुलुकहरूमा जस्तै क्रमांक लेख्ने परिपाटी अपनाउने हो भने मतपत्रको सुरक्षा प्रभावकारी हुनसक्छ । अन्य छापाखानामा छापिएका मतपत्र पनि पूर्ण सुरक्षा साथ प्रयोग गर्न सकिन्छ । यदि मतपत्रको राम्रो र भरपर्दो बन्दोबस्त आयोगले गर्न सक्यो भने आयोगका धेरै समस्याको समाधान हुने देखिन्छ ।

मतदान केन्द्रको व्यवस्था

निर्वाचन आयोगको मुख्य कर्तव्य मतदातालाई निर्धक्क भएर सजिलोसँग मतदान गराउने व्यवस्था मिलाउने हो । तर आयोगले मतदाताको सुविधालाई विचार नगरी आफ्नो प्रशासकीय व्यवस्थालाई बढी महत्व दिइएको पाइन्छ । आउँदो निर्वाचनमा जम्मा चार किसिमका मतपत्र प्रयोगमा आउँछन् । मतदान केन्द्रको राम्रो व्यवस्थापानबाट मात्रै पनि बदर मतको संख्या घटाउन सकिन्छ । नत्र बदर मतको संख्या स्थानीय तहको निर्वाचनमा जस्तै धेरै हुनसक्छ । निर्वाचन उपहास बन्न पुग्दछ ।

मतदान केन्द्रको व्यवस्थापनमा मुख्यतः दुइटा कुरामा ध्यान दिनुपर्छ । पहिलो, मतदानकेन्द्रको संख्या बढाउनुपर्छ । मतदातालाई सुविधाजनक मतदानका लागि बढीमा पाँच सय मतदाताका लागि एउटा मतदान केन्द्रको व्यवस्था गर्नुपर्छ । तर आयोगले प्रशासनिक सहजताका कारण मतदान केन्द्रको संख्या बढाउन सकेको छैन । अबको निर्वाचन केन्द्रीय र प्रादेशिक संसद्का लागि हुने भएकोले मतदान केन्द्रको संख्या पहिलेको तुलनामा दोब्बर बनाउनुपर्छ । संख्या बढाएर मात्र पुग्दैन मतदान केन्द्रको लागि बढी फराकिलो स्थान खोज्नुपर्ने हुन्छ ताकि चारवटा मतपत्रमा मतदान गर्न चारवटा पंक्तिमा लाम लागेर मतदाताले सजिलोसँग मतदान गर्न पाउन् ।

कर्मचारी व्यवस्थापन

मतदानमा खटिने निजामती कर्मचारी र सुरक्षाकर्मीको व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । एकभन्दा बढी चरणमा निर्वाचनबाट कर्मचारीको व्यवस्थापन सजिलो हुन्छ । म्यादी प्रहरीको सट्टामा नियमित सुरक्षाकर्मीबाट सुरक्षा व्यवस्थापन गर्दा अर्बौं रुपैया बचत हुन्छ । दुई चरणको स्थानीय तहका निर्वाचनमा करिब ७५ हजार म्यादी प्रहरी खटाइएका थिए । यसबाट एक अर्बभन्दा बढी खर्च भएको अनुमान गरिन्छ र निजहरूबाट भरपर्दो सुरक्षा पनि प्रदान नभएको बारम्बारको अनुभव छ ।

निर्वाचन आयोगले यस्ता चुनौतीलाई ध्यानमा राखी परम्परागत सोचबाट माथि उठेर केही दूरगामी निर्णय लिनुपर्छ । यस्ता निर्णय लिई कार्यान्वयन गर्न सकेमा भविष्यमा हुने सबै निर्वाचनलाई पनि सजिलो बनाउँछ । तब मात्र लोकतन्त्र र गणतन्त्र जोगाउन आयोगको योगदान समेत कदर गर्न लायक देखिनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.