मदनकृष्णको आत्मकथा 'महको म'
काठमाडौं : कलाकारितामा लामो कालखण्ड सहयात्रामा रहेका चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मंगलबार एउटा कार्यक्रममा फरक रूपमा देखिए । मदनकृष्ण श्रेष्ठको आत्मकथा 'महको म'को विमोचनमा उनीहरू फरक रूपमा देखिएका हुन् । मदनकृष्ण कृति लिएर प्रस्तुत भए भने हरिवंश आचार्य त्यही पुस्तक विमोचन गर्न उभिए ।
होटल याक एन्ड यतीमा भएको कार्यक्रममा श्रेष्ठलाई शुभकामना दिँदै आचार्यले भने, 'धेरैपहिले मैले एउटा सुरिलो रूखको आत्मकथा पढेको थिएँ । त्यो पढेपछि सबै चीजको आत्मकथा हुन्छ भन्ने लाग्न थालेको थियो । मदन दाइको जस्तो ओजपूर्ण जीवन भएको मानिसको आत्मकथा त नहुने कुरै भएन।'
साहित्यकार रवीन्द्र समीरले पुस्तकबारे भने, 'प्रख्यात अभिनेता मदनकृष्ण श्रेष्ठको आत्मकथा महको म शास्त्रीय आत्मकथा हो ! आत्मप्रशंसा, आत्मश्लाघाबाट पूर्णतया बचेको यो पुस्तक नेपाली साहित्यको अमूल्य प्राप्ति हो ! महको म आत्मकथाको भीडमा एउटा सग्लो, अग्लो र पृथक् पहिचान बोकेको पुस्तक हो !'
चार दशकभन्दा लामो समय हरिवंश आचार्यको भाषामा सियो र धागो भएर 'मह जोडी' बनेका लेखकको यो पुस्तकमा चिना हराएको मान्छेको प्रसंग नदोहोरिनु अर्को विशेषता भएको उनले बताए । महको ममा कहिले हँसाउने, कहिले गम्भीर बनाउने, प्रेम, अन्तरजातीय विवाह, यशोदा भाउजूको क्यान्सर संघर्ष, लेखकको पार्किन्सनका कारण 'चिप्स र ब्याट्री'ले चलेको जीवन आदि पढ्दा मुटु ढुक्क फुलेर आउने समीरले बताए ।
कार्यक्रममा श्रेष्ठले लेखेका गीतहरू उनका छोराछोरी यमन र सराना श्रेष्ठले गाएका थिए । बहुमुखी व्यक्तित्व मदनकृष्ण श्रेष्ठको 'रोलर कोस्टर' जीवनको कथा हो, महको म । पुस्तकले श्रेष्ठको बाल्यकाल, प्रारम्भिक संघर्ष, प्रेम र विवाहदेखि कलाकारितामा सफल हुँदासम्मका उकालीओराली, श्रीमतीको क्यान्सर संघर्ष, आफ्नै स्वास्थ्यसँगको पौंठेजोरी समेटिएको छ । फाइनप्रिन्टले प्रकाशन गरेको पुस्तकको हार्डकभर मूल्य ८७६ रुपैयाँ र पेपरब्याक मूल्य ५७६ रुपैयाँ तोकिएको छ ।