वीरगञ्‍जका २१ मेयर उम्मेदवारको एउटै नारा ‘विकास’

वीरगञ्‍जका २१ मेयर उम्मेदवारको एउटै नारा ‘विकास’

वीरगन्ज : प्रदेश नम्बर-२ को एक मात्र महानगरपालिका वीरगन्जको मेयर पदका लागि २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। असोज २ गते हुने स्थानीय तहको तेश्रो चरणको निर्वाचन कार्यकतालिका अनुसार बुधबार राति अबेरसम्म चलेको मनोनयन दर्तामा वीरगन्ज महानगरपालिकाको मेयरमा २१ र उपमेयरमा १० जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए।

 

बुधबार राति ९ः१५ बजे टेलिफोनमा अन्नपूर्ण पोस्ट्संग कुरा गर्दै उनले भने ,‘अहिले सवा नौ बजेसम्म उम्मेदवार मनोनयनको दर्ता चलेको छ, अहिलेसम्म मेयरमा २१ र उपमेयरमा १० जनाको उम्मेदवारी दर्ता भएको छ, उम्मेदवारको अन्तिम सूची राति १२/१ बजे मात्र तयार हुन्छ होला।’

वीरगन्ज महानगरमेयरका लागि मनोनयन दर्ता गराउनेमा नेपाली का‌‌ग्रेसको तर्फबाट अजय द्विवेदी , एमालेको तर्फबाट बसरुद्धिन अन्सारी, माओवादी केन्द्रको तर्फबाट रहबर अन्सारी, संघीय समाजवादी फोरम नेपालका तर्फबाट विजय सरावगी, राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट राजेशमान सिंह र नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट विमल श्रीवास्तव रहेका छन्।

यस्तै नेपाली जनता दलका तर्फबाट मनोज रौनीयार, राप्रपाका तर्फबाट अर्जुनबहादुर सिंह ठकुरी, नेकपा संयुक्तका तर्फबाट मुन्ना कुमार साह कानु, नेकपा मालेबाट लक्ष्मीराज न्यौपानेले पनि वीरगन्जको मेयरका लागि उम्मेदवारी दिएका छन्। वीरगन्जको मेयरका लागि स्वतन्त्रबाट पनि उम्मेदवारी परेको छ। स्वतन्त्रबाट उम्मेदवारी दिनेहरुमा महम्मद रजा , लक्ष्मण साह तेली , देवकीलाल साह कानु, विल्टु राउत बरई, छोटेलाल राउत कुर्मी, बिकाउ राउत अहिर लगायतका छन्।

यसैगरी उपमेयरमा नेपाली कांग्रेसबाट शान्ति कार्की, नेकपा एमालेबाट सोफिया आचार्य, नेकपा माओवादी केन्द्रबाट दुर्गा क्षेत्री, संघीय समाजवादी फोरम नेपालबाट पिंकी यादव, राजपाबाट रम्भा मिश्रा, लोकतान्त्रिक फोरमबाट रिंकी यादव, नेपाली जनता दलबाट गौतली राउत र राप्रपा (प्रजातान्त्रिक) बाट सुमेश्वरनाथ उपाध्यायले उम्मेदवारी दर्ता गराएका छन्।यस्तै उपमेयरमै स्वतन्त्रबाट अमोद गिरी र श्यामबाबु पटेलले पनि उम्मेदवारी दर्ता गराएका छन्।

सबै एउटै नारा : वीरगन्जको विकास

फोरम नेपालका विजय सरावगी : विगतका नेतृत्व गरेका दल र नेताले ५० वर्षमा गर्न नसकेको विकास मैले पाँच वर्षमै गर्छु। मेरो सपना र चाहना भनेको भ्रष्टचारमुक्त र समृद्ध वीरगन्ज बनाउनु नै हो। वीरगन्जलाई मान्छे बस्न लायकको शहर बनाउँछु। म व्यवसायी भए पनि विगतमा वीरगन्जको नेतृत्व सम्हालेका नेताहरुले इमान्दारी पूर्वक विकासको काम नगरेकाले नै बाध्य भएर राजनीतिमा प्रवेश गरेको हुँ। मेयरमा निर्वाचित भएपछि वीरगन्जलाई अहिलेको दुरावस्थाबाट मुक्त गरी नगरवासीको जनजीवनमा कायापलट हुने गरी परिवर्त गर्छु। मधेस आन्दोलनमा शहादत प्राप्त गरेका शहिदका परिवारको सम्मान पनि मेरो प्राथमिकतामा छ। वीरगन्ज महानगरलाई समृद्ध शहरको पहिचान दिलाउँछु।

कांग्रेसका अजय द्विवेदी : कांग्रेसको नेतृत्वमा वीरगन्जको विकास र संविधान कार्यान्वयन गर्न मैले मेयरमा उम्मेदवारी दिएको हुँ। पछिल्लो समय वीरगन्ज महानगरपालिका थपिएका ग्रामीण भेगका साविकका गाविसहरुलाई शहरको रुपमा विकास गरेर महानगरमा जोडने, वीरगन्ज महनगरको सरसफाई, खानेपानी, शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउनु नै मेरो चुनावी एजेण्डा हो। हुन त अरु उम्मेदवारले पनि वीरगन्ज महानगरलाई आुधनिक शहर बनाउछु भनेका छन्। तर, भनेर मात्रै वीरगन्ज महानगर आधुनिक शहर बन्दैन। जबसम्म महानगरमा पछि थपिएका ग्रामीण भेगहरुलाई शहरका रुपमा विकसित गर्न सकिदैन तबसम्म वीरगन्ज आधुनिक शहर बन्न सक्दैन। यो नै मेरो चुनावी एजेण्डा हो। म लोकतन्त्र र जनताप्रति निष्ठावान नेता हुँ। अजय द्विवेदीले जे बोल्छ त्यो गर्छ भन्ने कुरा जनतालाई थाहा छ त्यसैले चुनावमा वीरगन्ज महानगरका मतदाताले मलाई मत दिएर विजयी बनाउछन् भन्नेमा म ढुक्क छु।

एमालेका बसरुद्धिन अन्सारी : वीरगन्ज महानगरको मतदाताको चाहना र वीरगन्जको आवश्यकताका लागि मैले मेयरमा उम्मेदवारी दिएको हुँ। सुन्दर, स्वच्छ, समृद्ध र हराभरा महानगरका रुपमा वीरगन्जलाई बनाउनु मेरो सपना हो। वीरगन्ज महानगरलाई देशकै उत्कृष्ट नगरका रुपमा विकास गर्नु नै मेरो पहिलो चुनावी एजेण्डा हो। अहिले वीरगन्जमा म प्रति देखिएको जनलहरले पनि मेरो विजय सुनिश्चित गरिसकेको छ। हुन त मेरो विरोधमा रहेका केही तत्वहरुले नेशनल मेडिकल कलेजले वीरगन्ज महानगरपालिका कार्यालयलाई बुझाउन बाँकी रहेको करको विषयलाइ अहिले चुनावका बेला उछालेर ममाथि भ्रामक प्रचार गरिरहेका छन्। यो उनीहरुको हार स्वीकार गरिसकेको मानसीकताको उपज हो, यसले मेरो विजय यात्रामा कुनै फरक पार्दैन।

माओवादी केन्द्रका रहबर अन्सारी : परिवर्तन र विकासका लागि वीरगन्ज महनगरको मेयरमा मैले उम्मेदवारी दिएको हुँ। समृद्ध वीरगन्ज मेरो सपना हो। वीरगन्ज महानगरलाई मुलुककै एक नम्बर महानगर बनाउने मेरो चुनावी एजेण्डा हो। हुन त मेरो उमेरको विषयलाई लिएर केही दल र उम्मेदवारले राजनीतिमा कच्चा खेलाडीका रुपमा अफवाह फैलाइरहेका छन्। तर, म भन्छु समयले कोल्टे फेरि सकेको छ, वीरगन्जले परिवर्तन चाहेको छ, वीरगन्जको राजनीतमा अब पुराना राजनीतिक खेलाडीको दिनगन्ती सुरु भइसकेको छ अबको राजनीति भनेको नयाँ खेलाडीको हातमा आइसकेको छ।

राजपाका राजेशमान सिंह : मेरा लागि युवा ऊर्जाका श्रोत हुन्। युवाहरु मेरा निकटका मित्र शक्ति हुन्। जबसम्म युवाका लागि रोजगारीको व्यवस्था हुदैन तबसम्म वीरगन्जको विकास सम्भव हुदैन। मेरो पहिलो प्राथमिकता भनेको रोजगारी नपाएर विदेश पलायन भइरहेका युवा शक्तिलाई रोक्न वीरगन्जमै रोजगारीको सिर्जना गर्नु हो। यसका साथै ग्रेटर वीरगन्जको अवधारणालाई साकार पार्नु पनि मेरो सपना हो। बाँकी मेरा चुनावी एजेण्डाहरु छिट्टै सार्वजनिक हुने घोषणा पत्रमा उल्लेख गर्नेछु।

फोरम लोकतान्त्रिकका विमल श्रीवास्तव : वीरगन्जमा जे जति विकास निर्माणका काम भएका छन् मेरै पालमा भएका हुन्। तर, मैले निर्माण गरेका वीरगन्जका ऐतिहासिक एवम् पर्यटकीय स्थल अहिले खण्डहर बन्दै गएका छन्। व्यवस्थित वीरगन्ज आज फेरि कुरुप बनेको छ। मेरो पहिलो प्राथमिकता नै वीरगन्जलाई पहिलाको भन्दा पनि आधुनिक र विकसित शहर बनाउने नै हो। वीरगन्जको विकासका लागि नै फेरि मैले मेयरमा उम्मेदवारी दिएको हुँ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.