श्रीमतीले श्रीसम्पत्ति उडाउँदा...
पछिल्लो समयमा सामाजिक सञ्जालमा सबैभन्दा बढी गाली खानेमा महिला अधिकारवादी भएका छन्। उनीहरूको त नामै रहेको छ, ‘डलरवादी।' वर्षौंदेखि महिलामाथि हुने विभिन्न प्रकृतिका हिंसाको विरुद्धमा कलम चलाउँदै आउँदा पंक्तिकार स्वयंले भोग्दै र अनुभव गर्दै आएका शाब्दिक हिंसाको बयान गरिसाध्य छैन भने दाताको सहयोगमा महिला अधिकार क्षेत्रमा काम गर्नेहरूको हकमा झन् कस्तो सोच राखिन्छ होला, त्यो भनिरहनु पर्दैन। महिलाका अलिकति पनि कमजोरी भेटिए या महिलाले पुरुषप्रति गरेका घात वा बेइमानीका समाचारहरू भेटिए भने ‘कहाँ गए अधिकारवादी/डलरवादी महिला ? ' भनेर कोकोहोलो मच्चिन्छ। कुनै अधिकारवादी महिलाले कुनै महिलालाई पुरुषको विरुद्धमा खडा हुन निर्देशन दिने तथा परिवार र समाज भाँड्ने काम गर्छे होला ?
देशमा जति राजनीतिक परिवर्तन भए पनि आर्थिक विकासको गति सुस्त नै रह्यो। राज्यसत्तामा पुग्नेहरू सधैं सत्ता कसरी टिकाउने भन्ने खेलमै व्यस्त हुने र प्रतिपक्षी कसरी सत्ता गिराएर त्यहाँ पुग्ने भन्ने दाउमै रम्ने प्रवृत्तिका कारण देश झन्झन् ओरालो लाग्दै तारेभीरमा पुगिरहेको छ, ऊर्जाशील जनशक्ति रोजीरोटीको लागि आफ्नो जायजेथा र स्वाभिमान बन्धकी राखेर खाडीमा पसिना बगाउन विवश छ, तर राज्य सञ्चालनको ठेक्का लिएका दलका नेताहरूलाई युवा बहिर्गमनको लर्कोले ढुक्कको सास फेर्न पाएको महसुस हुन्छ। न ‘रोजगार दे' भन्दै कोही कराउन आउँछ, न नारा, न जुलुस, न विरोध। रोजगार दिने ‘मेनपावर कम्पनी' छँदैछन्, देश रेमिटेन्सले चलेकै छ। ढुक्कले सत्ताको खेल खेल्यो, भत्ताले रमायो बस् !
वैदेशिक रोजगारले सिर्जना गरेको नकारात्मक पाटो कति भयावह हुँदैछ भने यसले गर्दा परिवार, समाज, सम्बन्ध र नैतिकतामा ठूलो पहिरो गइरहेछ। यो त्यस्तो पहिरो हो, जसको रोकथामको लागि राज्यले गम्भीरतापूर्वक सोचेर बेलैमा युवाशक्तिलाई स्वदेशमै अड्याउने बलियो तारजाली तयार नगर्ने हो भने भोलि केही बाँकी रहने छैन। एकातिर रोजगार अभावले युवा बिदेसिन बाध्य छन् भने अर्कोतिर देखासिकी र विदेश मोहले गर्दा खेतबारीमा सिस्नु उमारेर बिदेसिनेको लर्को पनि कम छैन। तर विदेशमा पसिनासँग साँटेर पठाएको पैसा न राज्यले सदुपयोग गरिरहेको देखिन्छ न त परिवारले।
उता जोखिम मोलेर कमाएको पैसा यता मायाले सम्हालेर राख्ने र सदुपयोग गर्नेभन्दा दुरुपयोग गर्ने र बेइमानीपूर्वक धोका दिँदै लोग्नेको रगतपसिनाको कमाइ कुम्ल्याएर भाग्ने प्रवृत्ति दिनप्रतिदिन संक्रामक रोगजस्तै फैलिइरहेछ। यस्ता प्रवृत्तिका समाचार जब अखबारका पानामा छापिन्छन्, तब सामाजिक सञ्जाललगायतमा आवाज चर्किन्छ, ‘महिलामाथि हिंसा भयो भनेर कुर्लिने अधिकारवादीहरू ! देख्यौ कसरी महिलाहरू पुरुषमाथि हिंसा गरिरहेछन् ? के हेरेर बसेका छौ ? ' मानौं लोग्नेले विदेशमा दुःख गरेर कमाएको पैसा पोको पारेर परिवारको बिचल्ली पार्दै भागेर बेपत्ता हुन अधिकारवादीहरूले नै हौस्याइरहेका छन्। समस्याको टुसा कहाँबाट उम्रेको छ र यसको जरो कहाँसम्म पुगेको छ भनेर सोच्ने र खोज्ने प्रयास कतैबाट भएको हुँदैन, केवल ‘महिलाले पुरुषलाई हिंसा गरे' भन्यो, करायो बस्।
यस्ता घटना हिंसाको सूचीमा भन्दा पनि अपराधको सूचीमा पर्छन्। लोग्नले विदेशमा मरीमरी कमाएर पठाएको सम्पत्ति दुरुपयोग गर्ने र कुम्ल्याएर बेपत्ता हुने प्रवृत्ति गम्भीर अपराध हो। यस्ता अपराध किन र केकसरी बढिरहेछन् भनेर राज्य, समाज र परिवारका सदस्य स्वयंले गम्भीरतापूर्वक अनुसन्धान नगर्ने र चासो नदिने हो भने यो समस्या कति बिकराल बन्नेछ भने यसले परिवार व्यवस्थालाई नै भताभुंग पार्नेछ। अतः यस्ता अपराध गर्ने महिला र यसमा संलग्न पुरुष दुवैलाई खोजीखोजी कडा सजाय दिनुपर्छ।
नेपाली समाज संयुक्त परिवारबाट एकात्मक बन्दै गर्दा विदेशमा गएर दुईचार हजार कमाउनेबित्तिकै श्रीमतीलाई सुख दिने नाममा परिवार र बाबुआमाबाट अलग गरेर सहरमा कोठा खोजेर राखिदिने चलन छ। अझ बहाना बन्छन् भर्खर जन्मेका बच्चा, जसको ‘भविष्य बनाउने' भन्दै तिनलाई गाउँका ‘स्कुल' लाग्दैनन्।
सहरका निजी स्कुलमा बच्चा भर्ना गरिदिने चलन छ। दिनभर बच्चा स्कुल जान्छ, फुर्सदिला आमाहरू एक्लोपन मेटाउन यताउता भौंतारिने प्रवृत्तिसँगै ‘केही' को लागि यी एक्ला महिला ‘गतिलो र सजिलो जागिर' भैदिन्छन्। एकातिर लोग्नेले वर्षौंसम्म छोडेर बिदेसिने, अर्कोतिर पराइले माया देखाउने र पछ्याउने हुनाले लोग्नेको माया अन्यत्रै मोडिन्छ।
कमाउन र परिवारलाई सुख दिन गएको लोग्ने फर्केर आउँदा न श्रीमती रहन्छे न सम्पत्ति। कतै बालबच्चा नै लिएर भाग्छन्, कतै तिनको बिचल्ली पारेर हिँड्छन्। यस्ता अपराध गर्ने महिला त दोषी हुन् नै, यो वातावरण तयार पारिदिनेको पनि गल्ती छ।
अन्तत ः वैदेशिक रोजगारमा गएकाहरूका कोहीकोही श्रीमतीहरू यतिसम्म सोचहीन, कर्तव्यहीन र बेइमान निस्किदिन्छन् कि उनीहरूले ‘आफ्नै लागि, आफ्नै खुसी र सुखी जीवनको लागि लोग्नेले विदेशमा पसिना बगाएर कमाएको छ, लोग्नेको पसिनाको कमाइ मैले संरक्षण गर्नुपर्छ' भन्ने नसोची ‘परपोषण' गर्ने वा परपुरुषसँग भागेर बेपत्ता हुने गर्छन्। अन्ततः कमाउन र परिवारलाई सुख दिन गएको लोग्ने फर्केर आउँदा न श्रीमती रहन्छे न सम्पत्ति। कतै बालबच्चा नै लिएर भाग्छन्, कतै तिनको बिचल्ली पारेर हिँड्छन्।
यस्ता अपराध गर्ने महिला त दोषी हुन् नै, यो वातावरण तयार पारिदिनेको पनि गल्ती छ। यस्ता घटनालाई हिंसाको कोटीमा राखेर हिंसाविरुद्ध आवाज उठाउनेहरूलाई धारेहात लगाउनुभन्दा समाजमा यस्ता आपराधिक घटना उत्पन्न हुने संकेत देखिनेबित्तिकै सम्बन्धित परिवारलाई जानकारी दिने वा सचेत गराउने कर्तव्य हरेक सचेत नागरिकको हुन जान्छ। कुनै पनि अधिकारवादी महिलाले कसैको घर उजाडेर, कसैको पसिनाको कमाइ लिएर बेपत्ता हुन वा भाग्न कुनै महिलालाई उकास्न चाहदिनँ।
अतः यस्ता समस्या आउन नदिन र परिवार र समाज ध्वस्त हुन नदिन प्रमुख दायित्व राज्यको हुन जान्छ। यसको लागि स्वदेशमा रोजगारका अवसर सिर्जना गरी युवाशक्ति बाहिरिन रोक्ने र गएकाहरूलाई पनि स्वदेश फर्किने वातावरण तयार गर्नुपर्छ। यस्ता घटनाबाट पाठ सिकेर सकेसम्म श्रीमती र बालबच्चालाई घरमै बाबुआमा वा परिवारसँगै रहने व्यवस्था मिलाउनुपर्छ।
विश्वासको संकट परिरहेको अहिलेको सामाजिक परिवेशलाई ध्यानमा राख्दै विदेशमा कमाएको सबै पैसा आँखा चिम्लेर श्रीमतीको नाममा पठाउनुभन्दा आफ्नै नाममा भरपर्दो खातामा जम्मा गरेर राख्ने र आवश्यक रुपयाँ मात्र श्रीमतीलाई पठाउनुपर्छ। यसो भनिरहँदा सबै श्रीमतीहरू धोकेबाज र बेइमान छन् भन्न खोजेको होइन तर पनि सबै सकिएपछि पछुताउनुभन्दा समयमै सोचविचार गर्नु महत्ववपूर्ण हुन्छ।