निजामती सेवा दिवस : व्यवस्थापनमा अग्रसरता जरुरी
असीको दशकको अन्त्य र नब्बेको सुरुआत सार्वजनिक क्षेत्र व्यवस्थापनमा थुप्रै प्रयोग र पुनर्बोधको समय थियो। नवीन अवधारणाको विकास, तेस्रो औद्योगिक क्रान्तिले प्रविधिमा ल्याएको परिवर्तन र ग्राहक चेतनाका कारण सार्वजनिक संस्थाहरू परिवर्तनको निरन्तर दबाबमा रहे। यो दबाब थेग्न सरकार र उसका संगठन संरचनामा परम्परागत सुधार पर्याप्त थिएन। निजी क्षेत्रका संस्थात्मक घरहरू कर्पोरेट गुरिल्लाका रूपमा कुदिरहेका थिए। निजी क्षेत्रको जस्तो प्रतिस्पर्धात्मक क्षमता भित्वयाएर सामाजिक न्याय कसरी वितरण गर्न सकिन्छ भन्ने छटपटीमा सार्वजनिक क्षेत्रका नीति शिल्पीहरू देखिए।
तर सार्वजनिक प्रशासन यसअघिका प्रयासबाट परिमार्जित हँदै भविष्यपथ निर्माणबाट पर रहन सम्भव थिएन। आजभन्दा भोलि र भोलिभन्दा पर्सि आउने चुनौतीको सामना र स्वयं आफ्नै अस्तित्व रक्षाको लागि राम्रो प्रणाली निर्माण र हस्तान्तरणको विकल्प थिएन। अग्रसरता व्यवस्थापन त्यसको रणनीति बन्न पुग्यो। संगठनमा अग्रसरताको संस्कृति भित्वयाउने अवधारणा निजी क्षेत्रको रणनीति हो। सफल र प्रतिस्पर्धी कर्पोरेट संस्था अर्को संस्था, कम्पनी, व्यवस्थापक र प्रविधिभन्दा कसरी उम्दा भई ग्राहक सन्तुष्टि र व्यवसाय विस्तार गर्ने भन्ने तनावमा रहन्छन्।
यसैलाई सम्बोधन गर्न नै अग्रसरता व्यवस्थापन आविस्कार भएको हो। त्यसैले प्रतिस्पर्धा अर्को व्यक्ति, संस्था र प्रविधि सबै हाम्रो लागि चुनौती हुन्। व्यवसाय/संस्था खडा गर्नु सजिलो कुरा हो, तर जब व्यवसाय र संस्थाको कार्य क्षेत्र विस्तार हुन्छ, त्यसलाई सधैं कायम गर्नु, अझ अग्रगामी र प्रतिस्पर्धी बनाउनु चुनौतीको कुरा हो। अमेजन अग्रसरताको उदाहरण बन्यो, किनकि ऊ नयाँ तरिकाबाट ग्राहकको घरदैलोमा पुग्यो। डिज्ने सफल भयो, दर्शकको मन जित्ने नया शैली ‘इमोसनल कनेक्सन' अवलम्बन गर्यो।
सोनीले उपयुक्त समयमा निर्णय गर्न सकेन, ग्राहकबाट टाढिन पुग्यो। कोडाकजस्ता फिल्मको रिल बनाउने स्थापित ब्रान्ड सही प्रविधि चयनमा पछि परे, परिणामतः ग्राहकले भुलिसके। जेफ विजोस (अमेजन मालिक) बिल गेट्सभन्दा धनी बन्नुको रहस्य ग्राहकको स्वादलाई तत्काल टिप्न या नयाँ स्वाद सिर्जना गर्न अग्रसर नहुनुको कारण हो। सामसुङ र एप्पलको प्रतिस्पर्धा नयाँ स्वाद सिर्जना गरी ग्राहकलाई मुग्ध बनाउनुमै केन्द्रित छ।
असीको दशकबाट सफल सार्वजनिक संगठन अग्रसरताको संस्कृति विकास र परिवर्तन व्यवस्थापनमा लाग्दै आएका छन्। संगठनले कार्यसम्पादन उपलब्धि विस्तारको लागि रणनीति योजना, अपरेटिङ गाइडलाइनलगायतका प्रविधि अवलम्बन गर्न थालेका छन्। व्यवस्थापनको उद्देश्य संगठनका मूल्य संस्थागत गराउनुमा रहन्छ। उत्साह, आदर, जिम्मेवारी, विश्वास, निष्ठा, अनुशासन र निष्पक्षताजस्ता आभ्यान्तरिक गुणको समष्टि मूल्य भएकाले यसले कार्य र निर्णयको आधार दिइन्छ। मूल्यपछि उद्देश्य (मिसन) सांगठनिक प्रभावकारिता बढाउने आधार हो। उद्देश्यको सही अभिव्यक्तिले कामप्रतिको संवेगात्मक सम्बन्ध र प्रतिबद्धता देखाउँछ। त्यसपछि परिदृश्य (भिजन) स्थापित गरिनु आवश्यक छ।
परिदृश्यले भविष्यको अनुमान गर्ने भएकाले यो निकै जटिल पनि छ किनकि भविष्य देखिए वा लेखिएजस्तो सजिलो हुँदैन। विगत वा वर्तमानजस्तो प्रस्ट पनि हँदैन। भविष्यद्रष्टा समस्या आउनुअघि नै समाधानको कल्पना गर्छन्। भविष्यद्रष्टा भविष्यको बाटो कल्पना मात्र गर्दैनन्, बनाउँछन् पनि। भविष्य द्रष्टामा आफ्नो मष्तिस्क खियाउने र अरूको मन जित्ने क्षमता हुन्छ। सार्वजनिक संरचनाभित्र कर्मचारीतन्त्रीय पद्धति, पदसोपान र कार्यविधिगत औपचारिकताले अग्रसरतालाई सितिमिति भित्रिन दिँदैन।
अब भन्न थालियो, ‘व्यवस्थापन जहाँ भए पनि व्यवस्थापन हो।' उत्पादन, सेवा, स्रोतसाधन र कार्यविधिमाथि निरन्तर परिवर्तनको सोचबाटै सार्वजनिक व्यवस्थापनभित्र अग्रसरतामुखी संस्कृति विकास गर्नुपर्ने बाध्यता छ। अग्रसरता सधैं विचारको नतिजा हो। सकारात्मक विचार नै त्यस्तो शक्ति हो, जसले खोज, आविस्कार र नतिजा उत्पादन गर्न सक्छ, नवप्रवर्तन ल्याउन सक्छ। तर संगठनको नेतृत्वले त्यसको नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ। यो जटिल नभई सरल कार्य हो। ट्वीटर प्रणेता ज्याक डोर्सेका अनुसार उत्तम प्रविधि/विचार नदेखिन सक्छ यदि त्यो प्रयोगमा आएन भने। रिड हफम्यानले लिक्डइनमार्फत व्यावसायिक विवरणमा सर्वसुलभ पहुँच स्थापना गरे। व्यवस्थापनका सबै तह, विशेषतः नेतृत्वले आफ्नो संगठन किन स्थापित छ, भविष्यमा कस्ता ग्राहकलाई कसरी आजभन्दा राम्रो सेवा पुर्याउन सकिन्छ भन्ने प्रतिबद्ध सोच राख्नुपर्छ।
निजामती संगठनमा अग्रसरता विकास गर्ने सर्वमान्य सूत्र हँदैन, परिस्थितिले पनि व्यवस्थापनलाई निर्दिष्ट गर्छ। तर निरन्तरको प्रयत्न, अनुसन्धान, मष्तिस्क मन्थन र कतिपय अवस्थामा असल अभ्यासको अनुकरण र परिमार्जनबाट अग्रसरता भित्रयाउन सकिन्छ।
संगठनमा अग्रसरता विकास गर्ने सर्वमान्य सूत्र हँदैन, परिस्थितिले पनि व्यवस्थापनलाई निर्दिष्ट गर्छ। तर निरन्तरको प्रयत्न, अनुसन्धान, मष्तिस्क मन्थन र कतिपय अवस्थामा असल अभ्यासको अनुकरण र परिमार्जनबाट अग्रसरता भित्वयाउन सकिन्छ। यस शताब्दीमा कर्पोरेट गुरिल्लाका रूपमा चिनिएका कम्पनी र उसका स्थापित ब्रान्डका आधारमा केही निष्कर्ष निकाल्न सकिन्छ। जस्तो- डिस्ने वल्र्डको सिर्जनाले उसका सबै ग्राहकलाई मन्त्रमुग्ध बनाएको छ।
डिस्नेका अनुसार कर्मचारी, ग्राहक र सेवा (उत्पादन) बीच संवेगात्मक सम्बन्ध स्थापना नगरी ग्राहक स्वाद र सन्तुष्टि दिन सकिँदैन। संगठनका कर्मचारी इमोसनल इन्जिन हुन्। ग्राहक कायम राख्न र नयाँ ग्राहक विस्तार गर्न स्वादस्वादको सिर्जना चाहिन्छ। ब्रान्ड लोयल्टी वा आउँदा दिनमा आफ्नो उत्पादन (सेवा) झनै स्वादिलो अनि मितव्ययी पार्ने प्रविधि के हुन सक्छ, सोको निरन्तर प्रयत्न चाहिन्छ। त्यो पनि उपयुक्त समयभित्र। नयाँ प्रविधि र नवप्रवर्तनको लागि प्रोत्साहन गर्नुपर्छ। कर्पोरेट घरहरूले यसको लागि विचार सर्जक विज्ञ नै नियुक्त गरेका हुन्छन्।
डेढ दशकअघि शिक्षा मन्त्रालयले शिक्षा प्रणालीमा आमूल परिवर्तन गरी जीवनोपयोगी शिक्षा विकासको लागि निजी क्षेत्र र विज्ञहरू भएको सानो परिवर्तन व्यवस्थापन एकाइ (सीएमजी) गठन गरेको थियो, जसका सुझाव शिक्षा प्रणाली परिवर्तनको लागि निकै महत्ववपूर्ण पनि थिए। सुझावहरू निरन्तर कार्यान्वयन गर्न सकिएको भए आधारभूत शिक्षा साक्षरता, माध्यमिक शिक्षा सीप र उच्च शिक्षा प्रतिस्पर्धाको उद्देश्यमा पुग्न सक्थ्यो, अहिलेजस्तो बेरोजगार उत्पादन गर्न शिक्षा प्रणाली उद्यत् हुने थिएन। कृषि तथा जीव विज्ञानमा नार्क, नास्टलगायतका निकायबाट थुप्रै आविस्कार पनि भएको छ। त्यस्तै सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा सुरु गरिएको शासकीय सुधार कार्यक्रममा खास मन्त्रालयहरूमा शासकीय सुधार एकाइ र परिवर्तन एकाइ गठन गर्ने काम भएको थियो।
अहिले पनि मन्त्रालयहरूमा प्रत्येक दिन वा निश्चित समयको अन्तरालमा उच्च व्यवस्थापन तह (एसएमटी) को बैठक बस्ने गरेको छ। कार्यसम्पादन सूचकका आधारमा व्यवस्थापन करार गर्न सक्ने व्यवस्था छ। कर्मचारी पुरस्कार र प्रोत्साहनका लागि नेतृत्व र परिवर्तनलाई आधार मान्न सकिन्छ। सचिव बैठक, ग्राहक सन्तुष्टि सर्वेक्षण, नागरिक पृष्ठपोषण र सरकारले समयसमयमा गठन गर्दै आएका विज्ञहरूको कार्यदललाई नवप्रवर्तन भित्वयाई अग्रसरता विकास गर्ने माध्यमको रूपमा प्रयोग गर्न सकिन्छ।