नेपाल आइडलले उठाएका प्रश्न
ह्यान्स क्रिस्टियन एन्डर्सनले कतै भनेका छन्, ‘जब शब्द असफल हुन्छन्, संगीत बोल्छ।' विश्वव्यापी भाषा भनिने संगीतको मान्यता के पनि छ भने यसले सबै प्रकारका मानिसलाई जोड्छ। संगीतको कुनै राष्ट्रियता, सम्प्रदाय वा जातविशेष हुँदैन र यसमा सबै प्रकारका सीमा र पर्खाल भत्किन्छन्।
सीके लालको शब्दमा (अ) सामाजिक सञ्जाल फेसबुकमा प्रस्तुत हुने अभिव्यक्तिलाई ‘स्ट्याटस' पनि भन्ने चलन छ। यसलाई ‘मेन्टल स्ट्याटस' मान्ने हो भने आजभोलि सामाजिक सञ्जालका प्रतिक्रिया हेर्दा लाग्छ, नेपाली मानसिकता क्रमशः साँघुरो हुँदै गएको छ र नकारात्मकतातर्फ बढी उन्मुख छ। हाम्रा प्रतिक्रियामा विवेक होइन, आवेग वा आग्रह छ र चेतना कम उत्तेजना ज्यादा छ। सबैलाई जोड्ने भनिएको संगीतलाई समेत हामी आपसी विभाजनको पर्खाल बनाउने प्रपञ्च गर्दैछौं।
प्रसंग हो एपीवान एचडी टेलिभिजनबाट प्रसारण भइरहेको ‘अन्तर्राष्ट्रिय फ्रेन्चाइज' गायन प्रतियोगिता नेपाल आइडलको। पहिलो सिजनमै नेपाली टेलिभिजन जगत्मा दर्जनौं कीर्तिमान कायम गर्न सफल नेपाल आइडलका विषयमा आएका प्रतिक्रिया हेर्दा लाग्छ, हामीलाई विभाजनकारी चेतले थिलथिलो बनाएको छ। हाम्रो दृष्टि यति क्षयीकरण भइसक्यो कि अब हामी हरेक विषयमा नकारात्मकता खोज्न उद्यत् छौं।
इन्डियन आइडलको तेस्रो सिजनमा दार्जिलिङका नेपालीभाषी युवा प्रशान्त तामाङलाई ‘नेपाली' भन्दै उनलाई जिताउन नेपालीले करोडौं खर्च गरे। नेपालीको एसएमएस भोटिङकै कारण तामाङभन्दा तुलनात्मक रूपमा राम्रो क्षमता भएका प्रतियोगी पराजित भए। प्रतिस्पर्धीको तुलनामा कमजोर मानिएका प्रशान्तले नेपालीको भोटको बलमा इन्डियन आइडल त जिते, तर उनीसँग पराजित अमित पललगायतका प्रतियोगी भारतीय सिनेमा उद्योगमा प्लेब्याक गायकको रूपमा स्थापित भइसक्दा प्रशान्तको नाम भने सुनिएकै छैन। यद्यपि आइडलमा कसरी दर्शकको भोटले अन्तिम फैसला गर्छ भन्ने कुराका प्रमाण प्रशान्त हुन्। आइडल नेपालमै आइपुगेको छ, फैसलाको समय पनि भएको छ र लाग्छ, हामी पुनः भावना र आग्रहप्र्रधान फैसला गर्न वा गराउन लागिपरेका छौं। राम्रोले होइन ‘हाम्रो' ले जित्नुपर्छ वा जिताइनुपर्छ भन्ने पूर्वाग्रहबाट हामी ग्रस्त छौं।
आइडलबारे सुरुदेखि उठेका केही सवालबारे चर्चा गरौं। एपीवान टेलिभिजनले प्रसारणसँगै सुरु गरेको नेपाल आइडल एक प्रकारको दुस्साहस नै थियो। किनभने बजार साँघुरो रहेको नेपालमा टेलिभिजनहरूले खासै दर्शक तान्न नसकिरहेको पृष्ठभूमिमा नेपाली टेलिभिजन इतिहासकै सर्वाधिक महँगो फ्रेन्चाइज सो सुरु गर्ने निर्णय एपीवान व्यवस्थापनको लागि सहज विषय थिएन। तर औपचारिक प्रसारण नै सुरु हुन बाँकी रहेको एपीवानले अडिसनका लागि गरेको विज्ञापन अनपेक्षित रूपमा प्रभावकारी देखियो र हजारौं संगीत पारखी युवा÷युवती नेपाल आइडल अडिसनको लागि लाइन बस्न आइपुगे।
त्यतिबेला केही मानिसले आइडलका जजहरूको छनोटलाई लिएर विवाद उठाउन खोजे। कतिपयले यसलाई इन्डियन आइडलको नक्कल र म्युजिक नै चोरिएको समेत भन्न भ्याए। तर यसरी विवाद उठाउने जमातमा एउटा सामान्य ज्ञानको भने अभाव देखियो। अन्तर्राष्ट्रिय फ्रेन्चाइज शोहरू फ्रेन्चाइजकै मापदण्डअनुसार सञ्चालित हुन्छन् र यसको फम्र्याट विश्वव्यापी रूपमा एउटै हुन्छ। नेपाल आइडलका जज पनि फ्रेन्चाइजको मापदण्डअनुसार नै लामो प्रक्रिया र विमर्शपछि फ्रेन्चाइजको अनुमोदनपछि मात्र छनोट गरिएको थियो।
जतिसुकै विवादमा तान्ने कोसिस गरिए पनि आम दर्र्शकले नेपाल आइडल मनपराए। टेलिभिजन हेर्ने लाखौं दर्शकबाहेक यु-ट्युबलगायतका माध्यमबाट लाइभ प्रसारणमा नेपालको इतिहासमै सबैभन्दा बढी दर्शक बटुल्न नेपाल आइडल सफल भइसकेको छ। पत्रकार, गीतकार एवं लेखक विप्लव प्रतीकको शब्द सापटी लिने हो भने नेपाली टेलिभिजन इतिहासमा भएका दुई क्रान्तिमध्ये नेपाल टेलिभिजनको स्थापनापछिको अर्को क्रान्ति एचडी फम्र्याटमा एपीवान टेलिभिजनको सुरुवात र आइडलजस्तो फ्रेन्चाइज सो नेपाल भित्रिनु हो।
नेपालमा पहिलोपटक यस्तो समय आएको छ कि विदेशी टेलिभिजनमा जतिसुकै चर्चित कार्यक्रम आए पनि दर्शकले सबै छोडेर नेपाल आइडल हेर्छन्। अर्थात् नेपाली टेलिभिजनमा पैदा भएको ‘बोरडम' लाई आइडलले क्रमभंग गरिदिएको छ। तर जतिजति चर्चाको शिखर टेक्दैछ, त्यतित्यति सामान्य विषयलाई लिएर नेपाल आइडललाई विवादमा तान्ने कोसिस भइरहेको छ। कुनै पनि टेलिभिजनले स्थापनाकालमै सुरु गरेको कार्यक्रम यति चर्चित बनेपछि छिर्के हान्न खोजिनु सामान्य हो। संसारमा धेरै मन पराइएका चिजलाई यो वा त्यो तरिकाले विवादमा तान्न खोजिएकै हुन्छ।
हामीले नेपाल आइडलको रूपमा एउटा सुर र स्वरमा सशक्त प्रतियोगी खोजिरहेका छौं न कि कुनै साम्प्रदायिक विद्वेषकारीको तुष्टि। नेपाल आइडलको ‘टप फाइभ एलिमिनेसन एपिसोड' मा ‘गेस्ट जज' भएर आएका गायक रामकृष्ण ढकालले गरेको टिप्पणीलाई लिएर कतिपयले सञ्चालकको नियतमाथि नै शंका गरे। खासगरी नेपालमा अति साम्प्रदायिक चेत (भ्रम) पैदा गरेर समाजलाई विभाजन गर्न उद्यत् वर्ग त्यतिबेला सक्रिय देखियो। रामकृष्ण ढकालले शोमा रहेका सबै प्रतिस्पर्धी उत्तिकै सशक्त रहेको र त्यसमध्ये दुई प्रतिस्पर्धी आफूलाई विशेष लाग्ने बताएका थिए।
उनको टिप्पणी एकजना गेस्ट जजको रूपमा स्वतन्त्र अभिव्यक्ति थियो। तर उनले अमूक समुदायका प्रतिस्पर्धीलाई प्रवद्र्धन गरे र बाँकीलाई कमसल देखाउन खोजे भन्ने विद्वेषकारीले नजरअन्दाज गरेको सत्य के थियो भने संगीत बुझेका ढकालले मनपर्ने भनिएका दुई प्रतियोगी विशुद्ध दुई फरक समुदायका थिए। नेपाल आइडलले अमूक समुदायको प्रतियोगीलाई मात्र प्रवद्र्धन गर्छ भन्नेहरूले के कुरा बिर्सिए वा बुझ पचाए भने साँच्चिकै त्यसो गर्न चाहेको भए अहिले प्रतिस्पर्धामा रहेका त्यस्ता प्रतियोगीलाई गाला राउन्ड सुरु हुनुअघि नै प्रतियोगिताबाट बाहिर पठाउने अधिकार फ्रेन्चाइज र जजहरूलाई थियो।
गाला राउन्डपछि बाहिरिएका हरेक प्रतियोगी विशुद्धरूपमा दर्शकको भोटकै आधारमा बाहिरिएका हुन् नकि नेपाल आइडल वा जजहरूको इच्छाले। कसैले यो सत्यलाई पनि अस्वीकार गर्छ भने प्रतियोगीले अडिसन राउन्डमा भरेको फर्ममा लेखिएका सर्त राम्रोसँग पढे हुन्छ। नेपाल आइडलमा उठ्न सक्ने जुनसुकै प्रकारको विवादको अन्तिम टुंगो सर्वोच्च अदालतले लगाउनेछ र अदालतले माग्ने सबै प्रमाण पेस गर्न नेपाल आइडल तयार छ।
पछिल्लोपटक नेपाल आइडललाई विवादमा तान्न खोज्नेहरूले मसला बनाएका छन् गाला राउन्ड ‘टप फोर' को ‘एलिमिनेसन डे' मा कुनै पनि प्रतियोगीलाई ‘एलिमिनेट' नगर्ने जजहरूको निर्णयलाई। निर्णयको विरोध गर्नेहरूमा चार प्रकारका प्रवृत्ति देखियो। पहिलो वर्ग जसले नेपाल आइडललाई असाध्यै मन पराउँछ, यसको चर्चा र साख नघटोस् भन्ने पनि चाहन्छ, तर यो निर्णय फ्रेन्चाइज फम्र्याटमै गरिएको थियो भन्ने वास्तविकता बुझेको छैन। दोस्रो वर्ग थियो- आफूलाई सर्वज्ञानी उपबुज्रुक ठान्ने र भद्दा टिप्पणी गर्न हतार गर्ने, चाहे सही होस् कि गलत। तेस्रो पंक्ति खतरनाक थियो, जसलाई एपीवान टेलिभिजनले स्थापनाकालमै हासिल गरेको सफलता र प्रसिद्धि पटक्कै मन परेको छैन। सबैभन्दा डरलाग्दोचाहिँ चौथो प्रवृत्ति देखियो, जसले नेपाल आइडलजस्तो विशुद्ध गायन शोलाई साम्प्रदायिकतामा धकेल्न खोज्दैछ।
विदेशी भाषा र टेलिभिजन हावी रहेको हाम्रो देशमा आफ्नो भाषा र संस्कृति प्रवद्र्धन गर्ने सुरुआती तरिका नेपालीकरण गरिएका अन्तर्राष्ट्रिय फ्रेन्चाइज वा अन्तर्राष्ट्रिय मापदण्डका कार्यक्रम नै हो। नेपाल आइडल त्यसको सजीव उदाहरण हो।
पहिलो वर्गलाई मात्र केही कुरा भन्न सकिन्छ। आइडलको विश्वव्यापी मान्यताअनुसार नै नेपाल आइडलका जजलाई फ्रेन्चाइजले एउटा विशेषाधिकार दिएको थियो ‘नो एलिमिनेसन पावर' अर्थात् जजहरूले एकपटकको लागि चाहेको एपिसोडमा कुनै पनि प्रतियोगी प्रतियोगिताबाट नबाहिरिने निर्णय गर्न सक्थे र उनीहरूले यो अधिकार ‘टप फोर' मा प्रयोग गरे। कतिपयलाई लाग्न सक्छ, टप फोरमै किन ? तर टप सिक्स वा टप फाइभमा नै त्यसो गरिएको भए पनि यो प्रश्न उठ्ने निश्चित थियो। आइडलमा ‘वाइल्ड कार्ड' अर्थात् बाहिरिइसकेका प्रतियोगीलाई पुनः प्रतियोगितामा फर्काउने अधिकार पनि दिने चलन छ, तर पहिलो सिजनमा फ्रिम्यान्टलले नेपाल आइडलका जजलाई यो अधिकार दिएको थिएन। यो अधिकार पाएको भए नेपाल आइडलमाथि झनै बढी आक्रमण हुने थियो।
नेपाल आइडलले पैसा कमाउन यस्तो निर्णय गरायो भन्नेहरूलाई त झन् के भन्नु, सामान्य ज्ञान भएकाले पनि बुझ्ने कुरा के हो भने यसले कसैलाई पनि भोट दिन बाध्य पारेको छैन र दर्शकले भोट दिने कि नदिने भन्ने निर्णय स्वविवेकले गरिरहेका छन्। संसारमा नेपाल मात्र यस्तो देश हो, जहाँ आइडलमा प्राप्त भोट सार्वजनिक गर्न भन्दै तथाकथित पारदर्शिताको कुरा उठाइएको छ। एसएमएस भोटिङको केही प्रतिशत रकम नेपाल आइडललाई आउने भएका कारण नाफा कमाउन खोजेको भन्ने तर्क हो भने उनीहरू स्पष्ट हुनुपर्छ- एउटा निजी नाफामूलक संस्था नियम, कानुन र फ्रेन्चाइजका मापदण्डभित्र रही वाञ्छित नाफा कमाउन स्वतन्त्र छ। नेपाल आइडल नेपालको सबैभन्दा महँगो टेलिभिजन शोमध्ये एक हो र यसमा ठूलो उत्पादन लागत छ।
अन्त्यमा,
हाम्रोमा सांस्कृतिक साम्राज्यवादका विषयमा बहस हुने गर्छ। कहिलेकाहीं विदेशी टेलिभिजन च्यानल बन्द गर्नुपर्ने मागसमेत उठ्ने गर्छ। नेपाल आइडलले यस्ता अव्यावहारिक मागको सान्दर्भिकता अन्त्य मात्र गरेको छैन, टेलिभिजन प्रस्तुतिको नयाँ परिभाषा निर्माण पनि गरेको छ। नेपाल आइडलको दृष्टान्त भन्छ, ‘कन्टेन्ट इज किङ।' अर्थात् नेपाली टेलिभिजनका दर्शक अन्तर्राष्ट्रिय स्तरका शो नेपालमै हेर्न चाहन्छन् र विदेशी टेलिभिजनलाई केवलबाट हटाउनु पर्दैन, स्तरीय शो नेपालमै निर्माण गरे पुग्छ। नेपाल आइडलजस्तै नेपाल भित्रिएको ‘हिमालयन रोडिज' प्रति दर्शकको क्रेजले पनि यसै भन्छ। आइडललाई कतिपयले विदेशी नक्कल भन्न सक्लान् र अर्काथरीलाई अंग्रेजी भाषाको प्रयोगले टाउको दुख्न सक्ला। तर विदेशी भाषा र टेलिभिजन हावी रहेको हाम्रो देशमा आफ्नो भाषा र संस्कृति प्रवद्र्धन गर्ने सुरुआती तरिका नेपालीकरण गरिएका अन्तर्राष्ट्रिय फ्रेन्चाइज वा अन्तर्राष्ट्रिय मापदण्डका कार्यक्रम नै हो। नेपाल आइडल त्यसको सजीव उदाहरण हो।