मधेसमा निर्वाचन 'उत्सव'
गत बिहीबार बिहानै वीरगन्जस्थित घन्टाघरमा एकजना युवक ठट्टा गर्दै थिए, ‘१५ सयमा मेयरको उम्मेदवार बन्न पाइन्छ, के पत्रिका पढेर बसेको ? ’ ढाकाटोपी लगाएका ती युवकलाई निर्वाचनले पूरै छोएको देखिन्थ्यो । भन्दै थिए, ‘आफू त हिँडियो है मेयरको उम्मेदवार बन्न ।’ चिया चुस्कीसँगै बिहानै अखबारका पाना पल्टाउँदै वीरगन्ज घन्टाघरमा सयौंको संख्यामा मानिस बस्छन् र देशदेखि स्थानीय विषयमा कुरा गर्छन् । अचेल ती सबैको चर्चाको केन्द्रमा छ, प्रदेश नम्बर २ मा हुन गइरहेको तेस्रो चरणको स्थानीय निर्वाचन ।
ठीक महिना दिनसम्म राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचनमा भाग लिने कि नलिने अनिर्णीत हुँदा मधेसमा निर्वाचनलाई लिएर व्यापक अन्योल थियो । भदौको दोस्रो साता मात्रै राजपाले निर्वाचनमा जाने निर्णय लिएको थियो र भदौ अन्तिम साता आइपुग्दा तराई÷मधेसका आठ जिल्ला निर्वाचन उत्सवमा होमिएका छन् । राजपा निर्वाचनमा नआएको भए पनि यस प्रदेशमा निर्वाचन हुन्थ्यो । रौतहटको सदरमुकाम गौरका एकजना अग्रणी समाजसेवी विजयकिशोर झा भन्छन्, ‘त्यतिबेला (राजपा नेपाल निर्वाचनमा नआएको भए) एक किसिमको अनिश्चितता र अन्योल हुन्थ्यो, तर अहिले सबैतिर उत्सवको वातावरण देखिएको छ ।’
निर्वाचन आयोगको कार्यतालिकाअनुसार यस प्रदेशका आठै जिल्लामा उम्मेदवार मनोयनको काम सक्किएको छ । उम्मेदवारहरू व्यापक रूपमा प्रचारप्रसारमा लागिरहेका छन् । निर्वाचन जित्न सकेजति हथकण्डा पनि दलहरूले अपनाइरहेका छन् । १३६ स्थानीय तहमा कुन दलको के हैसियत छ त भन्ने कुरा असोज २ को मतदानपछिको मतगणनाले मात्रै देखाउला । तर मधेसका चोकचौराहादेखि बन्दकोठा, सभाहलहरूसम्म सम्भावित परिणामको आकलन चलिरहेको छ । वीरगन्जका एकजना नागरिक अगुवा भन्छन्, ‘निर्वाचन परिणाम अन्तिम दुई दिनको गतिविधिमा बढी निर्भर रहन्छ ।’
मतदाताका चाहना
२० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनले रौतहटका दलित अगुवा सुखाडी बैठा खुसी छन् । ‘स्थानीय चुनाव नहुँदा विकास निर्माणमा सुस्तता आयो र भ्रष्टाचार बढ्यो’ बैठा भन्छन्, ‘राज्यलाई जनताको नियन्त्रणमा राख्न स्थानीय निर्वाचन महत्वपूर्ण हुन्छ ।’
बैठाले ठूला तथा साना र मधेसवादी दलहरूले समेत निर्वाचनमा दलित समुदायलाई उपेक्षा गरेकोमा गुनासो पोखे । मतदानको लागि दलित समुदायका मतदातामा ठूलो उत्साह रहेको बैठाले बताए । स्थानीय तहको चुनावपछि विभिन्न सामाजिक कुरीति र कुसंस्कार घटाउन मद्दत पुग्ने उनको विश्वास छ ।
रौतहटका नागरिक समाजका एक अगुवा जगन्नाथ केशरी स्थानीय निर्वाचन हुनुलाई राम्रो ठान्छन् । भन्छन्, ‘तर निर्वाचनसँगै मधेसी समुदायले उठाउँदै आएको संविधान संशोधनको कुरा बिर्सनु हुँदैन । स्थानीय निर्वाचन स्थानीय समुदाय र क्षेत्रको विकाससँग जोडिएको विषय हो ।’ केशरी थप्छन्, ‘निर्वाचन नभएको २० वर्ष भइसकेको थियो, यो हुनुपथ्र्यो र हुन गइरहेको छ । यसलाई सबैले मिलेर सफल बनाउनुपर्छ ।’
रौतहटका रामसहाय यादव यसअघि राजपाले गरेको चुनाव बहिस्कारलाई गलत भन्छन् । उनी भन्छन्, ‘सुरुदेखि नै चुनावलाई उपयोग गर्ने रणनीति बनाउनुपथ्र्यो ।’ लोकतन्त्रमा निर्वाचन महत्वपूर्ण हुने भएकाले यसलाई बहिस्कार गर्न नसकिने तर्क गर्छन् उनी । स्थानीय तहलाई संविधानले दिएको अधिकारबारेमा आम मधेसी अझै जानकार नरहेको यादव ठान्छन् । त्यसैले सबैभन्दा राम्रो मान्छेलाई मत दिएर जिताउनुपर्ने उनको राय छ ।
रौतहटकी गोमा दाहाललाई यो चुनाव दसैंभन्दा बढी रमाइलो लागिरहेको छ । ‘यति रमाइलो त दसैंजस्तो चाडमा पनि हुँदैन’, गोमा भन्छिन् । उम्मेदवार मनोयनको दिनमा देखिएको उल्लासले उनमा हर्ष ल्याएको छ । उनी पहिलोपटक मतदान गर्दैछिन् ।
उम्मेदवारी मनोनयनपछि देखिएका विभिन्न विकृतिले भने धेरैलाई चिन्तित बनाएको छ । सर्लाही मंलगवाका अली मिकरानी रक्सी र मासुका भरमा मत किन्ने प्रवृत्ति बढ्दै गएकोमा गुनासो गर्छन् । ‘धेरै खर्च गरेर चुनाव जित्ने नेताहरू निर्वाचित भए भने विकास गर्नुभन्दा पनि चुनावमा गरेको लगानी उठाउन लाग्लान् ।’ यस्तो प्रवृत्ति हटाउन सचेत नागरिकहरू बोल्नुपर्ने उनी ठान्छन् । दुई दशकपछि हुन लागेको चुनावले उत्साह ल्याए पनि नेताहरूमा समाज परिवर्तन गर्न कुनै भिजन नदेख्दा मिकरानी दिक्क भएका छन् । भन्छन्, ‘यस्तो प्रवृत्तिले भ्रष्टाचार मात्रै बढाउँछ जस्तो लाग्छ ।’
सर्लाही मोतीपुरका अखिलेश्वर यादव पनि चुनाव प्रचार दिनप्रतिदिन भडकिलो बन्दै गएको दाबी गर्छन् । भन्छन्, ‘गाउँघरलाई चुनावको माहोलले छोपेको छ, तर आचारसंहिता कसैले पनि पालना गरेको देखिँदैन ।’ नीतिनियम बनाउने नेताहरूले नै आचारसंहिता उल्लंघन गर्ने कामलाई सकारात्मक रूपमा लिन नसकिने यादव बताउँछन् ।
प्रदेश नम्बर २ का आठै जिल्लामा उम्मेदवार मनोयनको काम सकिएको छ । उम्मेदवारहरू व्यापक रूपमा प्रचारप्रसारमा लागिरहेका छन् । निर्वाचन जित्न सकेजति हथकण्डा पनि दलहरूले अपनाइरहेका छन् । १३६ स्थानीय तहमा कुन दलको के हैसियत छ त भन्ने कुरा असोज २ को मतदानपछिको मतगणनाले मात्रै देखाउला ।
सर्लाही गोडैताका राजकिशोर यादव निर्वाचनमा व्यापकरूपमा पैसाको चलखेल भइरहेको दाबी गर्छन् । ‘ठूला दलहरूले पैसाले उम्मेदवारदेखि मतदातासम्मलाई किन्ने गरेका छन्’, यादव भन्छन् । हिजोसम्म एउटा पार्टीमा लागेका नेताहरू आज अर्कै पार्टीबाट चुनाव लड्दा समर्थकहरू निराश बनेको उनी बताउँछन् । टिकटको लागि पार्टी परित्याग गर्ने नेताहरूबाट समाज विकास हुन्छ भन्ने उनलाई लाग्दैन । मधेसमा अहिले विकासको खाँचो भएको तर त्यसको लागि निर्वाचन स्वच्छ हुनुपर्ने उनी ठान्छन् ।
सर्लाही मलंगवाका ललित किशोर पण्डित निर्वाचनमा दल र नेताहरू स्वार्थको लागि जे पनि गर्दा रहेछन् भन्ने देखिएको ठान्छन् । सोझा जनतालाई बँधुवा मजदुर ठान्ने नेतालाई जनताले चिन्न ढिलाइ गर्न नहुने पण्डित ठान्छन् । ‘प्रचारमा आउने नेताहरू मनगढन्ते कुरा गर्छन् । यो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ’, उनी भन्छन् ।
सर्लाही कविलासीका वैद्यनाथ ठाकुर चुनावबाट शक्ति आर्जन गरेर मधेसलाई समृद्ध बनाउन मधेसी नेताहरूसँग आग्रह गर्छन् । उनी भन्छन्, ‘हामीले अधिकारको लागि पटकपटक आन्दोलन ग¥यौं, अब नेताहरूले यसलाई संस्थागत गर्नुपर्छ ।
सर्लाही मंलगवाकी श्वेता कर्ण मधेसमा महिलाको अवस्था अत्यन्तै दयनीय रहेकोेले स्थानीय तहका उम्मेदवारहरूले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने ठान्छिन् । स्थानीय तहका नेताहरूले राम्ररी बुझेका भए पनि उनीहरूबाट अहिलेसम्म विश्वासलाग्दो प्रतिबद्धता नपाएको उनी ठान्छिन् । ‘समावेशीता देखाउन मात्र महिला सहभागिता गराइएको छ’ कर्ण भन्छिन्, ‘संविधानमा यस्तो व्यवस्था नभएको भए महिलाले अवसर पाउने थिएनन्’ । महिला शिक्षा र सुरक्षा अनि लैंगिक असमानताको विषयमा पनि राजनीतिक दलले सोच्नु र बोल्नुपर्ने कर्ण बताउँछिन् । ‘अधिकारबाट वञ्चित भएका मधेसी महिलालाई मधेसवादी दलहरूले नै प्रमुख पदहरूमा टिकट नदिनु दु:खद हो’, कर्ण भन्छिन् । नेताहरूले भाषणमा महिला अधिकारको कुरा गरे पनि व्यवहारमा उतार्न नसकेको उनको ठम्याइ छ । नामको लागि मात्र महिलालाई चुनावमा सहभागी गराइएकाले महिलाको अवस्थामा सुधार नआउने उनी ठोकुवा गर्छिन् ।
कहाँ को बलियो ?
प्रदेश नम्बर २ का आठ जिल्ला, पूर्वमा सप्तरीदेखि पश्चिममा पर्सासम्म, मुख्यरूपमा कांग्रेस, राष्ट्रिय जनता पार्टी, एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालका बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । यी दलहरूले सार्वजनिक रूपमा आफू नै यो प्रदेशमा पहिलो पार्टी हुने घोषणा गरे पनि यहाँ काग्रेस र राजपाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमाले, माओवादी केन्द्र र फोरम नेपालका बीचमा तेस्रो, चौथो र पाँचौं स्थानको लागि प्रतिस्पर्धा हुने देखिन्छ । सांगठनिक रूपमा एमाले कांग्रेसजत्तिकै सशक्त भए पनि पछिल्लो मधेस आन्दोलनले उसको अवस्था बिग्रेको देखिन्छ । पहिलो मधेस आन्दोलनबाट उदाएको फोरम नेपालको अवस्था पनि पहिलाजस्तो मजबुत छैन । हुन त कांग्रेस र राजपाभित्रका आन्तरिक असन्तुष्टिका कारण ती पार्टीका कार्यकर्तामा असन्तुष्टि देखिएको छ, तर स्थानीय अगुवाहरूका भनाइलाई आधार मान्ने हो भने यस प्रदेशको मुख्य शक्तिको रूपमा कांग्रेस र राजपाकै बीचमा प्रतिस्पर्धा हुनेछ ।
पर्सामा कांग्रेसको स्थिति राम्रो देखिएको छ भने बाराका सिमरा, जितपुरसहितका क्षेत्रमा एमालेको अवस्था राम्रो छ । रौतहटमा एमालेको संगठन बलियो भए पनि उम्मेदवार छान्ने क्रममा केपी ओली र माधव नेपाल पक्षबीच देखिएको मनमुटावले उक्त दललाई क्षति पु¥याउने आकलन गरिएको छ । स्थानीय अगुवाहरूका अनुसार रौतहटका १८ मध्ये ६ स्थानीय तहमा एमालेले जित्न सक्ने अवस्था थियो, तर अहिले तीनवटामा मात्रै ऊ बलियो देखिएको छ ।
सर्लाहीमा राजपाको संगठन बलियो छ । उक्त पार्टीका अध्यक्ष मण्डलका तीन अध्यक्षहरू त्यही जिल्लाबाट भएकाले पनि राजपा त्यहाँ बलियो देखिएको हो । यद्यपि सर्लाहीमा राजपाले सजिलै जित्छ भन्नेचाहिँ होइन, त्यहाँ पनि बहुपक्षीय भिडन्त हुने निश्चित छ । हरिवन नगरपालिकामा एमालेबाट गणेश प्रसार्इं, माओवादी केन्द्रबाट कमल बुढाथोकी, कांग्रेसबाट दिलिपराज भण्डारी र संघीय समाजवादी फोरमबाट गंगालाल थिङले नगरप्रमुखको लागि उम्मेदवारी दिएका छन् । त्यहाँ प्रमुख चार दलका बीचमा कडा प्रतिस्पर्धा हुने समाजका अगुवा बताउँछन् । एमाले, कांग्रेस र माओवादीबीच टक्कर हुने अनुमान गरिएको भए पनि फोरमले पहाडी मूलका व्यक्तिलाई उम्मेदवार बनाएपछि चारवटै पार्टीबीच प्रतिस्पर्धा हुने भएको हो ।
सर्लाहीकै लालबन्दीमा एमालेबाट मानबहादुर खडका, माओवादी केन्द्रबाट इन्द्र योञ्जन र कांग्रेसबाट कुवेर आचार्य चुनावी मैदानमा छन् । लालबन्दीमा माओवादीलाई र हरिवनमा कांग्रेसलाई समर्थन गर्ने गरी कांग्रेस र माओवादीबीच गठबन्धन हुने चर्चा चले पनि अन्तिममा आएर टिकटका कारण तालमेल हुन सकेन ।
मलंगवा नगरपालिकामा राजपाका नागेश्वर राय, कांग्रेसका निरसल साह, एमालेका देवेन्द्र यादव र स्वतन्त्र उम्मेदवार नागेन्द्र रायबीच प्रतिस्पर्धा हुने देखिएको छ । कविलासी नगरपालिकामा प्रमुखको लागि राजपाका कौशलकिशोर यादव, संघीय समाजवादी फोरमका ब्रह्मदेव राय, एमालेका विनय कर्ण र कांग्रेसका राजकुमार साह उम्मेदवार छन् । ईश्वरपुर नगरपालिकामा एमालेबाट मनोज देवकोटा, कांग्रेसबाट प्रमोद बराल, माओवादी केन्द्रबाट जयप्रकाश चौधरी, र राजपाबाट योगनारायण चौधरीले उम्मेदवारी दिएका छन् ।
बलरा नगरपालिकामा माओवादीका रामबाबु दास, कांग्रेसका डा. कमलेश्वर सिन्हा र राजपाका अभयकुमार सिंहबीच प्रतिस्पर्धा हुने देखिएको छ । हरिपुर्वा नगरपालिकामा राजपाका वीरेन्द्र यादव, कांग्रेसका सीताराम राय, संघीय समाजवादी फोरमका भजन राय, एमालेका जयप्रकाश यादव, माओवादी केन्द्रका रामबाबु साह प्रमुख पदका आकांक्षी छन् ।
बरहथवा नगरपालिकामा नेकपा एमालेका कल्पनाकुमारी कटुवाल, कांग्रेसका निरञ्जनप्रसाद दास, राजपाका रामबाबु यादव, माओवादी केन्द्रका देवानन्द महतोले उम्मेदवारी दिएका छन् । बागमती नगरपालिकामा एमालेका विष्णु पुलामी, माओवादी केन्द्रका भरत थापा र कांग्रेसका कृष्णराज रायमाझीबीच प्रतिस्पर्धा हुने देखिएको छ । हरिपुर नगरपालिकामा एमालेबाट जमरुद्दिन मन्सुर, माओवादीबाट सुनिल बुढाथोकी, कांग्रेसबाट उदयनारायण चौधरी, राजपाबाट रामप्रसाद चौधरीले प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।
गोडैता नगरपालिकामा कांग्रेसका उपेन्द्र कुशवाहा, राजपाका देवेन्द्रकुमार यादव र माओवादीकी अनितादेवी यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ । पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरमका किसुनदेव राय, राजपाका दिनेश राय, कांग्रेसका रामसेवक राय बलियो उम्मेदवार मानिएका छन् । चक्रघट्टा गाउँपालिकामा माओवादीका विक्रम यादव, कांग्रेसका रामजी साह, राजपाका कृष्णकुमार यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
ब्रह्मपुरी गाउँपालिकामा राजपामा विनोदकुमार साह, कांग्रेसका अमृत साह तेली, माओवादीकी रीता कुमारी र संघीय समाजवादी फोरमका वीरेन्द्रकुमार यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ । कौडेना गाउँपालिकामा कांग्रेसका रूपेश यादव, राजपाका रामप्रसाद यादव, माओवादीका रामपुकार रायबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । बसबरिया गाउँपालिकामा राजपाका रामसिहासन यादव, कांग्रेसका रामअयोध्या राय र माओवादीका रामविश्वास रायबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
रामनगर गाउँपालिकामा कांग्रेसका कृष्णकुमार बर्मा, माओवादी केन्द्रका बाबुलाल राय यादव, राजपाका नरेश राय र संघीय समाजवादी फोरमका अरविन्दकुमार यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ । धनकौल गाउँपालिकामा कांग्रेसका राम श्री साह, माओवादीका गौरीशंकर साह र राजपाका रघुनाथ महतो बलिया उम्मेदवारका रूपमा देखिएका छन् । चन्द्रनगरमा राजपाका महेन्द्र महतो, माओवादीका चेतनारायण महतो र कांगे्रसका श्यामसुन्दर सिंहबीच प्रतिस्पर्धा हुने देखिएको छ । विष्णु गाउँपालिकामा राजपाका विजयकुमार यादव, कांग्रेसका राजेन्द्रराय यादव, संघीय समाजवादी फोरमका अरविन्दकुमार यादव र फोरम लोकतान्त्रिकका जवाहरलाल यादवबीच प्रतिस्पर्धा हुने सम्भावना छ ।
सर्लाहीमा सबैभन्दा बढी उम्मेदवारी परेको छ । यस जिल्लामा २० स्थानीय निकायको प्रमुख पदको लागि २४४ जनाले उम्मेदवारी दिएका छन् । उपप्रमुखमा १६१ जनाको उम्मेदवारी परेको छ । सबै पदमा गरी ५३७३ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा बढी बरहथवा नगरपालिकामा ५४२ जनाको उम्मेदवारी परेको छ ।
जिल्ला स्थानीय तहको संख्या जनसंख्या
सप्तरी १८ ३ लाख ३१ हजार ६ सय ७९
सिराहा १७ ३ लाख ३२ हजार ८ सय ९५
धनुषा १८ ३ लाख ८९ हजार ३ सय ९१
महोत्तरी १५ ३ लाख ८ हजार ४ सय ९
सर्लाही २० ३ लाख ६६ हजार ६ सय
रौतहट १८ ३ लाख २१ हजार १८
बारा १६ ३ लाख ३४ हजार ७ सय ४६
पर्सा १४ २ लाख ८० हजार २ सय १२