नाकको शल्यक्रियाको क्रममा बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाव
काठमाडौं : नाकको शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्यु भएको उनका आफन्त आन्दोलनमा उत्रिएपछि बुधबार दिनभर ओम अस्पताल तनावग्रस्त बनेको छ।
गत शनिबार अस्पताल भर्ना भएकी बुटवलकी ४० वर्षीया कमला भट्टराईको मृत्यु हुनुमा चिकित्सकको लापरवाही भएको भन्दै मृतकका आफन्त आन्दोलनमा उत्रिएका थिए। भट्टराई नाकको कुरकुरे हाड सोझ्याउँन अस्पताल पुगेकी थिइन्।
शल्यक्रियापछि भट्टराईको नाकबाट रगत बगिरहने, लगातार वान्ता हुने र पिसाब रोकिने समस्या देखिएको मृतकका आफन्त ताराप्रसाद अर्यालले बताए। भट्टराई मृत्युबारे छानबिन गर्नुपर्ने, अस्पतालले लापरवाही स्वीकारेर माफी माग्नुपर्ने माग मृतकका आफन्तले राखेका छन्।
अस्पतालका प्रशासन प्रमुख विनय प्याकुरेलले भने भट्टराईको उपचारमा चिकित्सकको लापरवाही नभएको दाबी गरे। ‘शल्यक्रियाका क्रममा कहिलेकाँही यस्तो घटना हुन सक्छन्। जहाँ चिकित्सकको लापरवाही भएको भन्न मिल्दैन,’ प्याकुरेलले भने, ‘यस विषयमा हामी छानबिन गर्न तयार छौं। त्यसका लागि मृतकका आफन्तलाई कानुनी प्रक्रियामा जान सक्छन्।’