ओम अस्पतालको दादागिरी विरुद्ध मृतक कमला भट्टराईको परिवार फेरि आन्दोलित
काठमाडौं : नाकको शल्यक्रियाको क्रममा बुटवलकी ४० वर्षीया कमला भट्टराईको बुधबार मृत्यु भएपछि भएका सम्झौता विपरित ओम अस्पतालले ओपीडी सञ्चालन गरेपछि पीडित परिवार आन्दोलित भएको छ। भट्टराईको मृत्यु हुनुमा चिकित्सकको लापरवाही भएको भन्दै मृतकका आफन्त र अस्पताल प्रशानसबीच बिहीबार केही सम्झौता भएका थिए। तर, अस्पतालले सम्झौता विपरित ओपीडी सञ्चालन गरेपछि उनका परिवार र आफन्त आक्रोशित भएका छन्। नाकको कुरकुरे हाड सोझ्याउँन अस्पताल पुगेकी कमलाको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको परिवार र आफन्तको आरोप छ।
अस्पतालले क्षतिपूर्ति दिने सहमति भएपछि बिहीबार राति भट्टराईको अन्तिम संस्कार गरिएको भए पनि अस्पताल सहमति विपरित अघि बढेको भन्दै मृतक कमलाका श्रीमानले विज्ञप्ति निकालेर अस्पतालप्रति आपत्ति जनाएका छन्।
बिहीबार अस्पताल प्रशासन र पीडित परिवारबीच स्वास्थ्य मन्त्रालयको छानबिन समितिले छानबिन गरेर सत्य तथ्य सार्वजनिक नगरेसम्म ओपीडी सेवा बन्द राख्ने सहमति भएको थियो । अस्पतालले पीडित परिवारलाई क्षतिपूर्ति दिएर घटना गुपचुप बनाउने तयारी गरेको भन्दै परिवार र आफन्त अझ आक्रोशित भएका छन् । अस्पतालले पीडित परिवारलाई २५ लाखको लोभ देखाएर घटनालाई गुपचुप राख्ने खोजेकाले स्वास्थ्य मन्त्रालयको छानबिन समितिमा परिवारको पक्षबाट समेत प्रतिनिधित्व हुनुपर्ने माग आफन्तले गरेका छन्। अस्पतालले पीडित परिवारका मागलाई वेवास्था गर्दै सहमति गर्नु भन्दा पनि जबरजस्ती अस्पतालका सेवा सञ्चालन गरेपछि अस्पतालको विवाद झन चर्किएको हो।
शुक्रबार पीडित परिवारका आफन्तलाई बोलाएर धम्की दिँदै अस्पताल प्रशासनले आजैबाट अस्पतालका सबै सेवा सुचारु भएको विज्ञप्ति सार्वजनिक गरेको छ। अस्पतालको यो रबैयाप्रति आक्रोश व्यक्त गर्दै मृतक कमलाका श्रीमान बसन्त भट्टराईले अस्पतालले पीडामाथि थप पीडा थपिदिएकाले आन्दोलन जारी रहेको बताएका छन्।
बसन्तले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै
मेरी श्रीमती कमला भट्टराईको गत भाद्र २४ गते ओम अस्पतालमा नाकको सल्यक्रियामा अस्पताल प्रशासनबाट भएको चरम लापरबाहीका कारण आजीवन क्षतिपूर्ति नहुनेगरी म र मेरा नबालक बच्चाहरुप्रति जीवनघात गरिएको कुरा सर्वविदितै छ।
घुमघाम र स्वास्थ्य सल्लाहको लागि एक हप्ताको बिदामा म र मेरी श्रीमती गत २१ गते काठमाडौ गएका थियौँ। डा. राजेन्द्रप्रसाद गुरागाइंलाई भेट्नकै लागि गत २२ गते ओम अस्पताल पुगेँ। डाक्टरको सल्लाह अनुसार नै २४ गते शनिबार मेरी श्रीमतीको नाकको शल्यक्रिया सम्पन्न भयो।
सल्यक्रिया पछिको १२ घण्टासम्म बिरामीको अवस्था सामान्य थियो। तर भोलिपल्ट बिहान ९ बजे बिरामीलाइ निरन्तर बान्ता भयो र रक्तचाप अचानक ७० र ५० मा झर्यो। त्यो दिन डाक्टरको सामान्य सल्लाहमा ग्यास्ट्रीकको औषधि चलाइयो। मैले दिनभरी कैयौंपटक बिन्ती गर्दापनि डाक्टर वार्ड मा आउनु भएन। सोही दिन रातको बाह्र बजे मेरो बिरामी लाई ‘आइ सि यु’ मा लगियो। राती १२ः३० बजे बिरामिलाइ “हृदयघात“ भएको जानकारी गराइयो। ड्युटीमा रहेका मेडिकल अफिसरले टिचिङ्ग अस्पतालका मुटुका डाक्टर आउदै हुनुहुन्छ, उहाँकै सल्लाहमा रगत पातलो गराउने औषधि खुवाउदै छौ भन्नुभयो।
भोलिपल्ट २६ गते बिहान ८ बजे ’मुटुका डाक्टर’ आएर हृदयघात नभएको, सेफ्टिसेमिया (रक्त विषक्तता) भएको जानकारी गराउनु भयो। त्यसपछी डायलाइसिस गर्ने, भेन्टिलेटरमा राख्ने, रगत चढाउने यावत काम गरी २८ गते दिउँसो उनको मृत्युको जानकारी दिइयो।
बियोगको पीडामा छटपटाइरहेको मेरो त्यो अवस्थामा मलाइ माया गरेर सहानुभूति दिन आउनुभएका आफन्तलाई पुलिस प्रशासन लगाएर चुटियो। वार्ताको बाहनामा मेरो श्रीमतीको लासमा राजनिती गर्ने कुचेष्टा भइरहेको अवस्थामा मेरै अनुरोधमा जनमानस तथा पत्रकारलाई थप आन्दोलन अगाडि बढाउने जिम्मा दिएर मैले २९ गते राती ९ बजे मृतकको शव बुझेँ।
अपसोँच, कुनियत भएका दुराचारी मान्छेहरुबाट मेरो प्रतिष्ठामा आँच पुर्याउन र मलाई थप पीडा दिलाउदै जनताको स्वास्थ्यमा खेलवाड गर्ने माफियाहरुलाइ टेवा पुर्याउन ’मृतक परिवारले क्षतिपूर्ति बापत रकम बुझ्यो’ भन्ने सुन्नमा आएको छ। जुन सरासर गलत र शतप्रतिशत भ्रामक प्रचार हो। इतिहासले यो कुरालाई पुष्टि गर्नेछ। यस्ता कपोकल्पित कुरा उठाउने र प्रचार गर्ने माफियाहरुलाइ मृत आत्माले सदैब श्रापीरहने छ। मैले कहिले पनि मेरो श्रीमतीको जिवनलाई पैसासंग साट्ने कुरा न कहिल्यै सोँचेको थिएँ, न कहिल्यै सोँच्नेछु।
अन्त्यमा मेरो श्रीमती र कैयौं सर्वसाधारणको ’कानुनी हत्या’का विरुद्धको आन्दोलन अगाडि बढिरहने छ। धन्यबाद
बसन्त भट्टराई
मृतकका श्रीमान
२०७४–०५–३०