चिनियाँ प्रतिबद्धता कार्यान्वयन भएन

चिनियाँ प्रतिबद्धता कार्यान्वयन भएन

काठमाडौं : दुई वर्षअघिको भूकम्पबाट गोरखा, ताक्लुङस्थित सिन्जाली माध्यमिक विद्यालयको भवन पूर्णरूपमा ध्वस्त भयो । भवन भत्किएपछि विद्यालयले अस्थायी टहरामा विद्यार्थी राखेर पढाइरहेको छ । तर, नयाँ भवन निर्माण अझै अघि बढ्न सकेको छैन । भूकम्पबाट क्षतिग्रस्त जिल्लाकै अन्य विद्यालयको निर्माण सुरु भइसके पनि सिन्जालीको निर्माणमा अन्योल थपिएको छ ।

 

चिनियाँ सरकारले चार वर्षअघि उक्त विद्यालयका लागि आधुनिक र सुविधासम्पन्न आवासीय भवन निर्माण गर्ने सम्झौता शिक्षा मन्त्रालयसँग गरेको थियो । चिनियाँ सरकारले निर्माण गरिदिने भनेर २०७० मै छनोटमा परेको उक्त विद्यालयमा अहिले अन्य दाताले लगानी गर्न मानेका छैनन्, मन्त्रालयले पनि चीनले बनाउन लागेको भनेर आफ्नो बजेट छुट्ट्याएको छैन ।

प्रधानाध्यापक बलनारायण श्रेष्ठले भने, ‘विद्यार्थीलाई अस्थायी टहरामा राखेर पढाइरहेका छौं । जिल्लाकै अन्य विद्यालय सरकार र विकास साझेदार निकायको सहयोगमा बनिसक्यो । हाम्रोमा भने चीनले बनाउन लागेको भनेर कसैले चासो दिँदैनन् ।' तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियावाओको नेपाल भ्रमण क्रममा नेपालका १० वटा सामुदायिक विद्यालय निर्माण गर्ने सम्झौता भएको हो । ती सबै विद्यालय आधुनिक र आवाससहितको हुने सम्झौतामा उल्लेख छ । तर, अहिलेसम्म तीमध्ये दुईवटाको मात्र निर्माण सुरु भएको छ । अन्य आठवटा विद्यालय निर्माण अन्योलमा परेको शिक्षा मन्त्रालयले जनाएको छ ।

चिनियाँ दूतावासका प्रतिनिधिले छनोटमा परेका विद्यालय क्षेत्रको पटक-पटक अवलोकन गरिसकेका छन् । तर, निर्माण कार्य अझै सुरु गरेका छैनन् ।
छनोटमा परेका विद्यालय सबै हिमाली क्षेत्रका छन् । मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले सहरी क्षेत्रमै सुविधा सम्पन्न भवन बनाइदिनुस् न त भन्यौं तर उहाँहरूले हिमाली क्षेत्र र त्यसमा पनि अधिकांश बोर्डर क्षेत्रका विद्यालय छान्नुभएको छ ।'

शिक्षा मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालले विद्यालय बनाउने सम्झौता भए पनि सोचेअनुसार काम हुन नसकेको स्विकारे । ‘विद्यालय निर्माणलाई कसरी तीव्रता दिन सकिन्छ भनेर नेपालस्थित चिनियाँ दूतावासका अधिकारीसँग छलफल भइरहेको छ', लम्सालले भने । चिनियाँ प्रधानमन्त्री सन् २०१४ जनवरी १४ मा काठमाडौं आएर सोही दिन फर्केका थिए ।

छनोटमा परेका विद्यालय
१.सरस्वती मावि लेलेप, ताप्लेजुङ,
२.सगरमाथा मावि बुङ, सोलेखुम्बु
३.जिरी मावि जिरी, दोलखा
४.रत्नराज्यलक्ष्मी मावि, चनौटे, सिन्धुपाल्चोक
५.सिन्जाली मावि, ताक्लुङ, गोरखा
६.भैरव मावि मोरियाघाट, लमजुङ
७.राष्ट्रिय मावि, लोमान्थाङ, मुस्ताङ
८.नीलकण्ठ मावि, रसुवा
९.दुर्गा मावि, थाली, बझाङ
१०.गोकुलेश्वर मावि गोकुले, दार्चुला


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.