हत्तपत्त पक्राउ पर्दैनन् मोटरसाइकल चोर

हत्तपत्त पक्राउ पर्दैनन् मोटरसाइकल चोर

काठमाडौं : सोह्रखुट्टेका शेखर प्रधानको बा.४६ प ९७२९ नम्बरको मोटरसाइकल गत वर्ष कात्तिकमा लगनखेलबाट पार्किङ गरेकै ठाउँबाट हरायो । भाइटीकाको दिन दिदीको घर जाँदा ‘लक' गरी राखेको बाइक हराएको थियो । उनले तत्काल धेरै खोजी गरे ।

तर, भेटेनन् । सोही मोटरसाइकल केही दिनअघि भेटियो, बा.४० प ८६ नम्बर प्लेटमा । महानगरीय ट्राफिक प्रहरी कार्यालयको हराएका सवारीसाधन खोजी टोलीले ललितपुरबाटै उक्त मोटरसाइकल फेला पार्‍यो । शुक्रबार रामशाहपथस्थित ट्राफिक कार्यालय परिसरमा आफ्ना सवारी बुझ्न पुगेका प्रधान मख्ख थिए । ‘मोटरसाइकल त भेटियो तर थोत्रै बनाएको रहेछ', उनी भन्दै थिए । उनी यस मानेमा भाग्यमानी हुन् कि चोरी भएका मोटरसाइकल हत्तपत्त भेटिँदैन ।

 

काठमाडौं उपत्यकामा पछिल्लो समय मोटरसाइकल हराउनेक्रम बढ्दो छ । गत आर्थिक वर्ष महानगरीय ट्राफिक प्रहरीमा मोटरसाइकल हराएको भन्दै १ हजार १४ वटा निवेदन परेको थियो । प्रहरीले चोरी भएका एक सय ८३ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझायो । चालु आर्थिक वर्षमा मोटरसाइकल हराएको भन्दै दुई सय ४५ वटा निवेदन आइसकेको छ । प्रहरीले यसबीचमा चोरी भएका ३८ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

आर्थिक वर्ष ०७२/७३ मा पाँच सय ४४ वटा मोटरसाइकल हराएकोबारे निवेदन परेकामा उक्त आर्थिक वर्ष एक सय १३ वटा चोरीका मोटरसाइकल फेला पारी सम्बन्धित सवारीधनीलाई बुझाइएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार ट्राफिक कार्यालयले एकैपटक १६ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझायो । ती साधनमा एक वर्षदेखि दुई साताअघि हराएकासम्म छन् ।

प्रहरीले हराएको भन्दै निवेदन पर्नेमध्ये २० प्रतिशत मात्र भेट्ने गरेको छ । ‘ उपत्यकाबाट हराउने धेरै मोटरसाइकल उपत्यकाबाहिर जाने गरेको प्रहरीको बुझाइ छ । ‘चोरी भएर उपत्यकामै रहेका मोटरसाइकल मात्र भेट्न सकिन्छ । तर, चोरी भएकामध्ये ७० प्रतिशत मोटरसाइकल उपत्यकाबाहिर पुग्छ', महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठले भने । चोरी भएका मोटरसाइकल धेरै ग्रामीण क्षेत्रमा लगेर प्रयोग हुने गरेको पाइएको छ ।

पक्राउ पर्दैनन् चोर

पछिल्लो तीन आर्थिक वर्ष (चालुसहित)मा महानगरीय ट्राफिक प्रहरी कार्यालयले चोरीका २ सय ३४ वटा बाइक फेला पारी सम्बन्धित सवारीधनीलाई बुझायो । तर, यसमा २८ जना मात्र चोरी आरोपमा पक्राउ परे । प्रहरीका अनुसार चोर फेला नपर्ने धेरै कारण छन् । हराएकामध्ये नम्बर प्लेट परिवर्तन नगरिएका मोटरसाइकललाई चालकविना पनि प्रहरीले नियन्त्रणमा लिन्छ । कहिलेकाहीँ चालक पनि पक्राउ पर्छन् ।

‘ब्लु बुक' र लाइसेन्स दुवै नभएको अवस्थामा प्रहरीले परिस्थितिअनुसार मोटरसाइकल मात्र वा चालकलाई पनि नियन्त्रणमा लिन्छ । ‘धेरै घटनामा चोरबाट सस्तोमा किनेकाहरू समातिन्छन् । उनीहरूलाई चोरीको मोटरसाइकल हो भन्ने थाहा पनि हुन्न । किनभने नक्कली ब्लु बुक दिइएको हुन्छ । चोरहरू पछि नामसारी गरौं भन्दै फरार हुँदा रहेछन्', प्रहरी निरीक्षक श्रेष्ठ भन्छन्, ‘चेकजाँचका क्रममा कागजपत्र नभएकाले नियन्त्रणमा लिइएका मोटरसाइकल लिन चालक आउँदैनन् । पछि बुझ्दा त्यो बाइक चोरीको हुन्छ ।' प्रहरीले गत आर्थिक वर्षमा सवारीधनी नखुलेका ५१ वटा मोटरसाइकल भन्सार कार्यालयलाई बुझाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.