सुत्केरीलाई पाँच हजार भत्ता
तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिन थालेको छ । उपमहानगरपालिकाले सुत्केरी स्याहार तथा पोषण भत्ता कार्यविधि पारित गरी सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता पु¥याउने निर्णय गरेको हो । आइतबार उपमहानगरपालिका कार्यालयमा कार्यक्रम गरी सुत्केरी भत्ता वितरण थालिएको हो । उपमहानगरपालिकाका मेयर घनश्याम पोण्डेले शिशु मृत्युदर घटाउन तथा बच्चा र आमाको पोषण अनि स्याहारका लागि पाँच हजार भत्ता दिन सुरु गरेको बताए । ‘बच्चा र आमाको पोषण व्यवस्थापनमा सहयोग होस् अनि एक हजार दिनसम्म बच्चाले पोषणयुक्त खाना पाउन सकोस् भनेर पाँच हजार भत्ता दिन थालेका हौं’, मेयर पाण्डेले भने, ‘यो मेरो निर्वाचनको बाचा पनि थियो त्यो पूरा गरेको छु ।’
सरकारी मापदण्डअनुसार गर्भवती तथा सुत्केरी महिलाले परीक्षणका चरणहरू पार गरेपछि अनि उपमहानगरपालिकाको स्थायीवासी र बच्चाको जन्मदर्ता भए सुत्केरी भत्ता दिइने स्वास्थ्य संयोजक विष्णुप्रसाद पोख्रेलले बताए । उनका अनुसार गर्भवती हुँदा गर्नुपर्ने नियमित स्वास्थ्य जाँच सूचीकृत स्वास्थ्य संस्थामा गरेको, विभिन्न खोप लगाएको, आइरन चक्की र जुकाको औषधि खाएकोे तथा बच्चा जन्मिसकेपछि पनि नियमित स्वास्थ्य जाँच गराएर ३५ दिनभित्र जन्मदर्ता गराएको हुनुपर्नेछ ।
कार्यविधिले तीनप्रकारको सुत्केरी भत्ता तय गरेको उनले जानकारी दिए । सबै प्रक्रिया पु¥याए पूरै पाँच हजार, सूचीकृत स्वास्थ्य संस्थामा सुत्केरी गराए २५ सय तथा अति विपन्न र दुर्गमका महिलालाई प्रक्रिया पूरा नगरे पनि एक हजार भत्ता दिने तय भएको उनले सुनाए । उपमहानगरपालिकाले दुई बच्चासम्म मात्र भत्ता दिनेछ । यसअघि सरकारले नौ सय रुपैयाँ सुत्केरी भत्ता दिँदै आएको थियो ।
उपमहानगरले आइतबार ३० जनालाई सुत्केरी भत्ता वितरण गरेको छ । चालू आर्थिक वर्षको सुरुदेखि सुत्केरी भएका महिलालाई सुत्केरी भत्ता प्रदान गरिनेछ ।
सुत्केरी महिलाले भत्ता पाएकोमा खुसी जनाएका छन् । उनीहरूले भत्ता रकम पोषण र बच्चाको हेरचाहमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन् । तुलसीपुर–४ की दुर्गा नेपालीले भत्ताको सदुपयोग गर्ने बताइन् । उनले सुत्केरी हुँदा पैसा नहुने र आवश्यक पोषण अभावमा समस्या निम्तिने अवस्थालाई नगरले बुझेको प्रतिक्रिया दिइन् । सुत्केरी भत्ता पाएकी कल्पना बुढाले यसले आफूलाई धेरै सहयोग पु¥याउने बताइन् ।