भारत हुँदै नेपाल छिर्न खोजेका सात रोहिंग्यालार्इ फर्काइयो

भारत हुँदै नेपाल छिर्न खोजेका सात रोहिंग्यालार्इ फर्काइयो

काठमाडौं : अध्यागमन विभागले म्यान्मारको उत्तरी राज्य राखिनबाट विस्थापित भई बंगलादेशबाट भारत हुँदै नेपाल छिर्ने क्रममा पक्राउ परेका सात रोहिंग्या मुस्लिमलाई फिर्ता (इन्ट्री रिफ्युज) गरेको छ । नेपाल छिर्न खोजेका उनीहरूलाई वीरगन्ज अध्यागमन कार्यालयले भारतिरै फिर्ता गरिदिएको हो । सीमा र वीरगन्ज भन्सार सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलले वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने तयारीमा रहेका सात रोहिंग्या मुस्लिमलाई गत बिहीबार पक्राउ गरी वीरगन्जस्थित अध्यागमन कार्यालयमा बुझाएको थियो ।

 

गृह मन्त्रालयका अनुसार फिर्ता गरिएकामा ३३ देखि ६७ वर्ष उमेर समूहका छन् । सशस्त्रले बुझाएका म्यान्मारका ती नागरिकलाई अध्यागमन कार्यालयले इन्ट्री रिफ्युज गरेको हो ।
अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले वीरगन्ज नाकाबाट काठमाडैाँ प्रवेश गर्न खोज्ने ७ जना बर्मेलीलाई इन्ट्री रिफ्युज गरिएको बताए ।महानिर्देशक काफ्लेले अन्नपूर्णसँग भने, ‘तिनीहरू काठमाडौं आउन लागेका थिए । यात्रा शंकास्पद देखिएपछि भारततर्फ फिर्ता गरिदियौं ।’

वीरगन्जस्थित अध्यागमन कार्यालयले उनीहरूको नेपाल भ्रमण स्पष्ट नभएको भन्दै ती सात रोहिंग्या मुस्लिमलाई इन्ट्री रिफ्युज गरेको हो । गृह मन्त्रालयले केही दिनअघि सबै सुरक्षा निकाय र अध्यागमन विभागलाई भारतीय सीमा क्षेत्रबाट म्यान्मारबाट विस्थापित रोहिंग्याहरू नेपाल प्रवेश गर्न सक्ने भन्दै निगरानी बढाउन निर्देशन दिएको थियो ।सशस्त्र प्रहरी स्रोतले पक्राउ परेकाहरू रोहिंग्या मुस्लिम भएको र उनीहरू काठमाडौंमा रहेका आफ्ना साथीलाई भेट्न आएका थिए ।

सीमा क्षेत्रमा आइपुगेका रोहिंग्यालाई सशस्त्र प्रहरीका अधिकारीले सोधपुछ गरेका थिए । उनीहरूले आफूहरू मुस्लिम रोहिंग्या भएको र काठमाडौं जान लागेको बताएपछि सशस्त्रले पक्राउ गरी वीरगन्जस्थित अध्यागमन कार्यालयमा बुझाएको थियो । दुई जना पुरुष, पाँच महिलाको समूहले भई बंगलादेश हुँदै नेपाल प्रवेश गर्न खोजेका थिए । सातमध्ये पाँच जनाले राम्रोसँग नेपाली भाषा बोल्न सक्छन् । सशस्त्र र अध्यागमनका कर्मचारीसँग उनीहरूले नेपाली भाषामै कुरा गरेका थिए ।

उनीहरूले पटक-पटक नेपाल प्रवेशका लागि अनुमति दिन अध्यागमनका कर्मचारीसँग अनुरोध गरेका थिए । काठमाडौंको कपनस्थित बालुवाखानीमा जग्गा भाडामा लिई बसिरहेका ३ सय १२ मध्ये १ सय ४७ जनालाई शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको नेपाल कार्यालयले शरण दिएको छ । बाँकीले पनि आवेदन दिएका छन् ।

अगस्ट २५ मा अल्पसंख्यक रोहिंग्या मुस्लिम समूहले राखिन राज्यका सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि म्यान्मारमा हिंसा भड्किएको थियो । उक्त राज्यमा भड्किएको हिंसाबाट विस्थापित लाखौं रोहिंग्या मुस्लिम बंगलादेशमा शरण लिएर बसेका छन् ।विस्थापित बंगलादेशबाट भारत हुँदै नेपाल प्रवेश गर्ने सम्भावनालाई ध्यानमा राख्दै अध्यागमन विभागले भारतसँग जोडिएका अध्यागमन नाकामा कडाइ गरेको छ ।

विभागले ती नाकालाई रोहिंग्याको प्रवेशमा निगरानी गर्नसमेत निर्देशन दिएको महानिर्देशक काफ्लेले बताए । भारतीय सरकारले त्यहाँ बस्दै आएका रोहिंग्या मुस्लिमलाई डिपोर्टसम्म गर्ने कडा नीति अवलम्बन गरेपछि भारतका विभिन्न स्थानमा बस्दै आएका रोहिंग्या मुस्लिमसमेत नेपाल छिर्ने सम्भावना बढ्दै गएको छ । यो तथ्यलाई ध्यानमा राख्दै गृह मन्त्रालयले सीमा क्षेत्रमा कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ ।

नाकामा कडाइ गरिएपछि भारतसँगको खुला सीमाको फाइदा उठाउँदै म्यान्मारमा भड्किएको हिंसापछि नाका छली गरी भारतमा बस्दै आएका वा बंगलादेशबाट भारत छिरेका केही रोहिंग्या नेपाल भित्रिएको हुन सक्ने गृह स्रोतले बताएको छ ।
फर्काइएकाहरू :

नाम राहदानी नम्बर
सोए आए एमसी ४१७७२४
गेता देभी एमसी ५४२९५८
कमलर देभी एमबी १९९६३९
साभी थारी एमसी ४१६२३२
थी थी सोए एमसी ४१६२३३
थान मिइन्थ एमबी ५०१६२६
बसन्ते एमसी ४१६२३८


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.