जुधेरै मर्छन् बाघ

जुधेरै मर्छन् बाघ

बर्दिया : विश्वमै लोपोन्मुख पाटे बाघ आपसमा जुधेर मर्ने गरेका छन् । निकुञ्जको साढे दुई दशकको तथ्यांक अध्ययन गर्दा बाघहरू एकापसमा अस्तित्व टकरावका कारण भिडन्तमा उत्रिने गरेका हुन् । जंगलमा भाले बाघले सामान्यतः २२ वर्ग किलोमिटर र पोथीले १२ वर्ग किलोमिटर क्षेत्र ओगटेर बस्छन् । आफ्नो क्षेत्रमा अन्य बाघ प्रवेश गरे यिनीहरू जाइलाग्छन् । बाघहरू अस्तित्व रक्षाको द्वन्द्वका कारण भिडेर मर्ने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापा बताउँछन् ।

निकुञ्जको तथ्यांकअनुसार ०४५ देखि ०७२ साल चैतसम्म बर्दियामा ३६ बाघ मरेका छन्, जसमध्ये आठ भाले, ६ पोथी गरी १४ वटा भिडेरै मरेका हुन् । दुईवटा चोरीशिकारी, दुई प्राकृतिक, ६ कालगति र १२ अन्य कारणले मरेका छन् । मान्छे खान पल्किएको एउटा बाघलाई ०५६ साल वैशाख ६ गते बिन्द्रपुरीमा गोली हानी मारिएको थियो ।

 

‘हरेक बाघको आआफ्नो क्षेत्र हुन्छ । आफ्नो क्षेत्रमा अरू बाघको अस्तित्व स्वीकार्य नहुने भएकाले भिडन्त हुने गरेको हो’, थापा भन्छन्, ‘भिडन्तमा हारेको बाघ पलायन हुनु वा मर्नुबाहेक अन्य विकल्प रहँदैन ।’ उनका अनुसार पोथीका कारण भाले बाघबीच बढी दुस्मनी हुने भएकाले पनि उनीहरूबीच भिडन्त पर्छ ।

बर्दियामा बाघको संख्या वद्धिसँगै वासस्थान, आहारा र पानीको उचित व्यवस्थापन गरिएको छ । बाघलाई लक्षित गरी गत आर्थिक वर्ष २५ भन्दा बढी नयाँ पोखरी निर्माण गरेको निकुञ्जले जनाएको छ ।

‘हरेक बाघको आआफ्नो क्षेत्र हुन्छ । आफ्नो क्षेत्रमा अरू बाघको अस्तित्व स्वीकार्य नहुने भएकाले भिडन्त हुने गरेको हो ।’ रमेश थापा, निमित्त प्रमुख संरक्षण अधिकृत

नेपाल, भारत, भुटान र बंगलादेशमा पाटे बाघको संख्या २५ सय हाराहारी छ । सन् २०११ को तथ्यांकअनुसार भारतमा १४११, बंगलादेशमा तीन सय र भुटानमा एक सयवटा पाटे बाघ थिए । नेपालमा सन् २००९ मा १२१, २०११ मा १५५ वटा पाटे बाघ थिए । सन् २०१३ को सर्वेक्षणअनुसार चितवनमा १२०, बर्दियामा ५०, शुक्लामा १७, पर्सामा ७ र बाँके राष्ट्रिय निकुञ्जमा चार बाघ छन् । सन् २०१६ मा क्यामेरा ट्र्यापिङ प्रविधिबाट गरेको अनुगमनले बर्दियामा ५८ वटा वयस्क पाटे बाघ रहेको देखाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत बाघ मार्न, जीवितै वा कुनै पनि अंगप्रत्यंग ओसारपसार वा लेनदेन वा घरमा राख्न प्रतिबन्ध लगाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.