भूकम्पपछि बनाएको घरको जग नै भासियो (फोटो फिचर)
भोटेकोसी (सिन्धुपाल्चोक) : बच्चु विश्वकर्मा भूकम्पबाट घर भत्किएपछि अनुदान पाउनयोग्य ७ लाख ६५ हजार ६ सय १८ जनामध्ये एक हुन् । पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ पाउने ६ लाख ६ हजार १ सय ३० जनाको सूचीमा पनि उनको नाम छ ।सरकारी मापदण्डअनुसार बच्चुले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ लिएर घरको जग हाले अनि दोस्रो किस्ता बापतको १ लाख ५० हजार लिने अवस्थामा घर पुर्याए । तर, दोस्रो किस्ता बापतको रकम लिएर घर ठड्याउने बेलामा उनी परिवार र झिटीगुन्टा बोकेर ललितपुरको चापागाउँ गएर बस्न बाध्य भए ।
०७२ वैशाख १२ गतेको भूकम्पले घर भत्काइपछि अलिक माथितिर सुरक्षित मानिएको जमिनमा छाप्रोमा बस्दै आएका थिए बच्चु । तीन बर्खा र दुई हिउँद त्यही छाप्रोमा बिताएका उनले तेस्रो हिउँद आफ्नै नयाँ घरमा खुसीसाथ बस्ने आसा राखेका थिए । नयाँ घरमा बस्ने उनको सुनौलो सपनालाई साउन/भदौमा परेको पानीले विस्थापित तुहाइदियो ।
शुक्रबार बच्चुको निर्माणाधीन घरमा पुग्दा नजिकै भेटिएकी उनकी भाउजु टंककुमारी विश्वकर्माले उनको घर भनिन्, ‘देवरले घर बनाउन थाल्नुभयो, तर जमिन भासिएर बिम नै भाँचियो । बस्न सक्ने अवस्था नभएपछि देवर बच्चा च्यापेर चापागाउँमा डेरा लिएर बस्न थाल्नुभएको छ ।’ भूकम्पपछि पुनर्निर्माण भइरहेका १ लाख २३ हजार ५ सय २० वटा निजी घरमध्ये उनको पनि एउटा हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिचान गरी स्थानान्तरण गर्नुपर्ने सूचीमा राखेका १ सय १६ वटा जोखिमपूर्ण बस्तीमा यो ठाउँ पर्दैन ।सिन्धुपाल्चोकको साबिक फुल्पिङकट्टी गाविस हालको भोटेकोसी गाउँपालिका–४ स्थित हिन्दी र लुक्सिङको मध्यभागमा रहेको उनको निर्माणाधीन घर मात्र होइन, पूरै बस्ती नै बग्न थालेको छ । यो संवाददातासँगै स्थलगत भ्रमणमा पुगेका सो वडाका अध्यक्ष साङदोर्जे शेर्पाका अनुसार जमिन १५ फिटसम्म भासिएको छ ।
छरिएका करिब सय घर रहेको बस्तीको जमिन १५ फिटसम्म भासिएको छ ।
काठमाडौं–कोदारी राजमार्गको हिन्दीस्थित भोटेकोसी गाउँपालिका कार्यालयबाट १५ मिनेट पैदल यात्रापछि पुगिने सो ठाउँमा छरिएका करिब सय घर छन् । ती घरमा कुनैमा ताला लागेका छन्, कुनैमा मानिस बसिरहेका छन्, कुनैको ढोका खुलै छन्, मानिस कोही भेटिँदैनन् । जमिन भासिएपछि कोही बनेपा, कोही काठमाडौं र कोही अन्यत्र विस्थापित भएका छन् । राजमार्गमै रहेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको घर पनि बाढी पसेर बस्नलायक छैन ।
गाउँका घरको अवस्था अवलोकन गरेपछि वडाध्यक्ष शेर्पा आफैं पनि अलमलिएका छन् ।‘मानिसलाई कहाँ लगेर राख्ने, अन्यत्र लगेर राखे पनि के खुवाउने ? यहीं राखौं यसरी जमिन भासिएको देख्दादेख्दै कसरी राख्नु ? ’ ठूलो वर्षात हुँदा यो गाउँले ०७१ सालमा सिन्धुपाल्चोकको माङखा र राम्चे गाविसस्थित जुरे पहिरोको नियति भोग्नुपर्ने त्रासले वडाध्यक्ष शेर्पा सशंकित छन् । प्रहरीले गाउँलेको तथ्यांक संकलन गरेर पनि राखेको छ । जुरे पहिरोको घटना पुनरावृत्तिको महसुस गरिरहेका शेर्पा विज्ञहरूको टोली लगेर जमिनको भौगर्भिक अध्ययन गराउने तयारीमा छन् ।
वडाध्यक्ष शेर्पाका अनुसार जमिन भासिएको ठाउँ भूकम्पपछि पनि सुरक्षित मानिएको थियो ।प्राधिकरणले भूकम्पपछि जोखिमपूर्ण अवस्थामा रहेका बस्तीको अध्ययन गराउने क्रममा यो बस्तीलाई सम्झेको पनि थिएन । जग राखिसकेपछि विस्थापित हुनेहरूका लागि कसरी राहत उपलब्ध गराउने चुनौती प्राधिकरणतर्फ पनि सोझिएको छ । नीति, योजना र कार्यक्रम बनाउँदा कल्पना पनि नगरेको घटना भएपछि प्राधिकरणमा पनि यहाँका बासिन्दालाई कसरी सम्बोधन गर्ने अन्योल थपिएको छ ।
प्राधिकरणका प्रवक्ता यमलाल भुसालले अन्नपूर्णसँग भने, ‘यो नयाँ र गम्भीर प्रकृतिको घटना लाग्यो । यसबारे कार्यकारी समितिका सदस्यसँग छलफल नगरी केही भन्न सकिएन ।’ आफ्ना लागि पनि यो नयाँ सूचना रहेको भुसालले बताए । स्थानान्तरण गर्नुपर्ने सूचीमा परेका बस्तीका लाभग्राहीलाई २ लाख रुपैयाँ जग्गा खरिद गर्न र ३ लाख रुपैयाँ निजी आवास निर्माण गर्न अनुदान उपलब्ध गराउने प्राधिकरणको नीति छ ।
‘पानी परेका बेला राति सुत्दा जमिनमुनि पानी बगेको सुनिन्छ’, टंककुमारीले भनिन्, ‘तल रोडमा हाइड्रो प्रोजेक्टका सामान बोकेका ट्रक र टिपर हिँड्दा जमिन थर्किन्छ ।’ उनलाई अघिल्लो वर्ष बाढी आएपछि भोटेकोसीले तलबाट तानेर जमिन भासिएजस्तो लाग्छ । ‘तलको घर भुइँचालोले लग्यो, माथि यहाँ त केही नहोला भनेर छाप्रोमा बस्दै आएका थियौं, राति निदाएका बेला सिरानी होचोतिर खुट्टा अग्लोतिर भयो’, टंककुमारीले भनिन् ।
जमिन भासिँदा, उनको छाप्रो भासिएर उनी सुतेको पलङ पनि ओरालो र उकालो अवस्थामा छ । टंककुमारीसँग यहाँ एक रोपनी जमिन छ, त्यसभन्दा बाहेक अन्यत्र एक टुक्रा जमिन छैन । त्यही जमिन पनि भासिएपछि कहाँ गएर बस्ने उनी चिन्तित छिन् । उनीजस्तै घर बनाएर बस्ने आसमा रहेका सो बस्तीका करिब सय घरका बासिन्दा अहिले त्रासमा छन् ।