बिरामी किन्ने अस्पतालले आफन्तलाई शव बुझायो

बिरामी किन्ने अस्पतालले आफन्तलाई शव बुझायो

विराटनगर : उपचार खर्च नदिएको भन्दै विराटनगर न्युरो अस्पतालले आफ्नो नियन्त्रणमा राखेको मोरङको ग्रामथान गाउँपालिका २ पिडारवनीकी ६० वर्षीय गेरीदेवी माझीको शव परिवारलाई जिम्मा दिएको छ ।
शव राखेर आफन्तलाई अन्त्येष्टी गर्न नदिएको भन्दै चौतर्फी दवाब आएपछि परिवारका सदस्यलाई शव जिम्मा लगाउन अस्पताल तयार भएको हो । यस विषयमा आइतबार अन्नपूर्ण पोष्ट अनलाइन र सोमबारको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशन नगरिदिन र अनलाइनमा पोष्ट भएको समाचार हटादिनका लागि अस्पताल प्रशासन एवं अस्पतालसंग कुनै पनि साइनो सम्बन्ध नै नभएका व्यक्तिहरुले समेत दवाब दिएका थिए ।
को १७ प १२५९ नम्बरको मोटरसाइकलको ठक्करबाट गत भदौ २८ गते राति घाइते भएकी माझीलाई उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । पेटमा चोट लागेको भन्दै चिकित्सकले पेटको शल्यक्रिया गरिदिएका थिए । पेटको शल्यक्रियापछि थप उपचार गर्न थलिएको जानकारी आफन्तले पाए पनि शनिबार दिउँसो २ बजे अस्पतालले मृत्यु भएको जानकारी आफन्तलाई दिएको थियो । मृत्यु भएपछि अस्पतालमा शव निकाल्नका पुगेका आफन्तलाई उपचार खर्च नतिरेको भन्दै अस्पतालले शव दिन इन्कार गरेको थियो । आफन्त र परिवारका सदस्यले अन्त्येष्टी र काजक्रिया सकेपछि सम्पूर्ण रकम चुक्ता गर्ने भन्दै शव बुझाउन आग्रह गरे पनि अस्पतालले उपचार खर्च बापतको रकम नतिरिकन शव दिन नसकिने भन्दै फर्काइदिएको थियो ।

 

पारिवारिक स्रोतका अनुसार माझीको उपचार बापत अस्पताल र औषधि पसललाई तीन लाख ५५ हजार रुपैयाँ बुझाउन बाँकी थियो । दुर्घटनामा परेर घाइते भएकाको उपचार खर्च एकदमै महँगो भएको भन्दै चौतर्फी विरोध भएपछि अस्पतालले माझी परिवारलाई एक लाख रुपैयाँ छुट समेत दिएको छ । ‘अस्पतालले एक लाख रुपैयाँ छुट दियो । एक लाख रुपैयाँ तिरियो,’ गेरीदेवीका छोरा सुमनले भने, ‘बाँकी रकम पछि तिर्ने सहमति भएको छ । आमाको अन्त्येष्टी र काजक्रिया सकिएपछि खोजखाज गरेर र दुर्घटना गराउनेसंग समन्वय गरेर तिर्ने सहमति भएको छ ।’

राम्रो उपचार हुन्छ भन्ने सुनेर न्युरो लगिए पनि चिकित्सकले लापरवाहीपूर्ण तरिकाले शल्यक्रिया गरिदिएका कारण आमाको मृत्यु भएको उनले बताए ।
उपचार खर्च तिर्न नसक्दा माझी परिवारले शव नपाएको भन्दै पिडारवनी र बेलबारीका बासिन्दाले सहयोग जुटाएका थिए । बाँकी रहेको उपचार खर्च मध्ये अस्पताललाई बुझाइएको एक लाख रुपैयाँ पनि आफन्त, छिमेकी र शुभचिन्तकले सहयोग स्वरुप संकलन गरेको सुमनले बताए । शव आइतवार राति नै परिवारका सदस्य र आफन्तको जिम्मा लगाइएको हो । शवलाई राति नै कोसी अञ्चल अस्पताल विराटनगरमा पोष्टमार्टम गरेर आफन्तले जिम्मा लिएर लगेका छन् ।
दुर्घटना गराउने मोटरसाइकल चालक बेलबारी २ का ५० वर्षीय योगेन्द्र थापालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । दुर्घटना गराउने चालक थापाले पनि तत्काल आफूसंग उपचार खर्च तिर्ने रकम नभएको भन्दै पछि तिर्ने गरी शव आफन्तको जिम्मा लगाइदिन अस्पतालसंग आग्रह गरेका थिए । दुर्घटनाका घाइतेसंग न्युरो अस्पतालले उपचार बापतको रकम अत्यधिक लिने गरेको गुनासो चौतर्फी रुपमा आइरहेको छ ।
अस्पतालका प्रशासकिय अधिकृत सुरेश आचार्यले अस्पतालको केही रकम बुझाएपछि शव आफन्तलाई दिइएको बताए । ‘अस्पताल भित्र शल्यक्रिया लगायतका उपचार गराएको एक लाख ७६ हजार रुपैयाँ तिर्नु पर्ने थियो,’ उनले भने, ‘एक लाख रुपैयाँ तिरेपछि अरु छुट दिइएको छ ।’ आफन्तले उपचार बापतको खर्च तिरेर लैजाने भनेकाले उनीहरुकै सहमतिमा शव अस्पतालले राखिएको बताउँदै आचार्यले भने, ‘शव अस्पतालले आफन्तलाई नदिने नियत राखेको थिएन । दुई पक्षीय सहमतिमा शव आफन्तलाई बुझाइयो । उपचार र औषधीको बाँकी रहेको केही रकम पछि तिर्ने सहमति भएको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.