उपचारमा गल्ती गरे चिकित्सकबाटै क्षतिपूर्ति
काठमाडौं : सरकारले उपचारक्रममा गल्ती गर्ने चिकित्सकबाटै बिरामी वा पीडित पक्षलाई क्षतिपूर्ति भराउने कानुन ल्याउने निर्णय गरेको छ । उक्त निर्णयलाई लिएर चिकित्सकहरू विरोधमा उत्रिएका छन् ।मन्त्रिपरिषद्को बैठकले सोमबार उपचारक्रममा बिरामीलाई प्रतिअसर (साइड इफेक्ट) परेमा, अंगभंग वा मृत्यु भए त्यसको क्षतिपूर्ति पीडित पक्षलाई सम्बन्धित चिकित्सकले नै दिने प्रावधानसहितको छुट्टै कानुन ल्याउने निर्णय गरेको हो । त्यसका लागि प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशनसमेत दिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
सरकारले यसअघि निर्माण गरेका कानुन, नेपाल मेडिकल काउन्सिलको चिकित्सक आचारसंहिता, उपभोक्ता हित संरक्षण ऐन प्रभावकारी रूपमा कार्यान्वयन गर्नुको सट्टा छुट्टै कानुन बनाउन निर्देशन दिनु उचित नभएको विज्ञहरूले बताएका छन् । पूर्वस्वास्थ्यसचिव डा. सेनेन्द्रराज उप्रेतीले यस सम्बन्धमा छुट्टै ऐन ल्याउनुभन्दा पुराना कानुन कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।
'बेलायत अमेरिकामा पनि चिकित्सकको लापरबाही हुन्छ तर त्यहाँ तत्कालै वैज्ञानिक अनुसन्धान हुन्छ र पीडित पक्षलाई क्षतिपूर्ति दिलाइन्छ । नेपालमा त्यस्तो अवस्था छैन,' डा. उप्रेतीले अन्नपूर्णसँग भने, 'चिकित्सकले गल्ती गरेको आरोप लागेका घटनामा अनुसन्धान छिटो, पारदर्शी र प्राविधिक हुनुपर्छ । स्पष्ट अनुसन्धान पद्धति विकास नगरी छुट्टै ऐन मात्रै बनाइयो भने उपचार सेवा झन् महँगो हुनेछ र गम्भीर प्रकृतिका बिरामीलाई चिकित्सकले उपचार गर्ने छैनन् ।'
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ मा उपचारका क्रममा चिकित्सकले गल्ती गरे वा बिरामीको मृत्यु भए त्यसमा वैज्ञानिक अनुसन्धान गरी सम्बन्धित समन्वय समितिले पीडित पक्षलाई क्षतिपूर्ति दिलाउने प्रावधान छ । चिकित्सकीय लापर्वाहीका घटनामा अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने अधिकार नेपाल मेडिकल काउन्सिलसँग पनि छ । सरकारले भने उपचारक्रममा लापर्वाही गर्ने चिकित्सकलाई नै क्षतिपूर्ति भराउने गरी कडा कानुन बनाउने निर्णय गर्दै प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई दिएको हो ।
स्पष्ट अनुसन्धान पद्धति विकास नगरी छुट्टै ऐन मात्रै बनाइयो भने उपचार सेवा झन् महँगो हुनेछ । गम्भीर प्रकृतिका बिरामीलाई चिकित्सकले उपचार गर्ने छैनन् ।' -डा. सेनेन्द्रराज उप्रेती, पूर्व स्वास्थ्यसचिव
हाल नेपालमा 'उपचार वा शल्यक्रिया सुरु गर्नुअघि 'उपचारक्रममा कुनै भैपरी आउने घटनाको जिम्मेवार चिकित्सक हुने छैनन्' भन्ने मञ्जुरीनामा पत्रमा बिरामी र उनका आफन्तलाई हस्ताक्षर गराउने चलन छ । बिरामी चिकित्सकको लापर्वाहीको सिकार हुन थालेकाले चिकित्सकबाटै क्षतिपूर्ति भराउने गरी कानुन बनाउन आवश्यक भएको सूचना तथा सञ्चारमन्त्री बस्नेतले बताए । 'विभिन्न अस्पतालमा उपचार गर्न गएकाहरू लापर्वाहीका कारण ठाडै मरेका छन्, शरीर अगंभंग हुने गरी उपचार गरिएको छ, कतिपय दीर्घरोगीसमेत भएका छन्,' उनले भने ।
नेपाल चिकित्सक संघले सरकारले उक्त निर्णय ७२ घन्टाभित्र फिर्ता नलिए देशभरका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प पार्ने चेतावनी दिएको छ । सरकार सम्पूर्ण चिकित्सकको मानमर्दन गर्दै पेसेवर सामाजिक अपराधीको मनोबल बढाउन उद्यत भएको भन्दै संघले सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मीलाई आन्दोलनका लागि तयार रहन आह्वानसमेत गरेको छ ।