'वृहत प्रजातान्त्रिक एकताका लागि गृहकार्य'
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकमा राष्ट्रियताको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि आफ्नो दल प्रतिबद्ध रहेको बताएका छन्।
पार्टीद्वारा काठमाण्डौंमा आयोजित कार्यक्रममा अध्यक्ष राणाले विभिन्न शक्तिका बढ्दै गएको हस्तक्षेपले सामाजिक सद्भाव कचमचिएको र राष्ट्रिय एकता संकटमा परेको अहिलेको अवस्थामा देशमा राजनीतिक स्थिरता, समन्वयात्मक सम्बन्धको खाँचो औँल्याए।
आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावपछि मुलुकमा विकास र जनताको समृद्धि कायम गर्न सकिने बताउँदै उनले भने-‘‘मुलुकमा दिगो शान्ति र निर्वाचनको सुनिश्चितताका लागि राप्रपा (प्रजातान्त्रिक) सरकारमा सहभागी भएको छ।”
संविधानअनुसार चुनाव सम्पन्न भएपछि लोकतन्त्रको सुदृढीकरण भई जनताको समृद्धिको चाहनालाई मूल लक्ष्यका साथ पूरा गर्न सकिने उनको भनाइ थियो।
अध्यक्ष राणाले पार्टीले वैचारिक रुपमा निकट रहेका दलसँग सहकार्य गरी आगामी चुनावमा सहभागी हुने जानकारी दिँदै पार्टी सैद्धान्तिक रुपमा नजिक अन्य दलसँग वृहत प्रजातान्त्रिक एकताका लागि गृहकार्य गरिरहेको बताए।