धादिङमा पनि डेंगुका विरामी भेटियो
धादिङ: धादिङ जिल्लामा पनि डेङ्गु रोगको बिरामी भेटिएको छ। जिल्ला अस्पताल धादिङमा उपचारका लागि आएका बिरामीमा डेङ्गु रोगको संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। अत्याधिक ज्वरो आएका बिरामीको उपचारका क्रममा रगत परिक्षण गर्दा दुई जनामा देखा परेको हो। केही दिन अघि जिल्ला स्वास्थ्य कार्यालय धादिङमा काम गर्ने एक जनालाई यो रोग देखा परेको थियो।अहिलेसम्म जिल्ला अस्पताल धादिङमा तीन जनालाई रोग देखापरेको अस्पताल प्रशासनले जानकारी दिएको छ।
डेङ्गु रोगको आंशक्रम रगतको नमुना परिक्षण गराएपछि पुष्टि भएको हो। अत्याधिक ज्वरो आएको बिरामीको रगत परिक्षण गर्दा रोगको संक्रमण देखा परेको जिल्ला अस्पताल धादिङका सुचना अधिकारी कृष्ण उप्रेतीले जानकारी दिए।
एक साता भित्रै धादिङ जिल्ला अस्पतालमा दुई जना बिरामीमा यस रोगको संक्रमण फेला परेको उप्रेतीले जानकारी दिए। विशेष गरी धादिङमा बढ्दो शहरीकरणका कारण बजार क्षेत्रमा बढ्दै गएको फोहोर मैलाका कारण लामखुट्टे पनि बढ्न थालेकोले डेङ्गु रोग देखा परेको स्वास्थ्यकर्मीहरुको भनाई छ।
डेङ्गु एडिज नामक लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगबाट बच्नका लागि घर टोल सफा राख्न र फोहर पानीहरु जम्न नदिने जस्ता सावधानीका उपायहरु अवलम्वन गर्न चिकित्सकहरुले सल्लाह दिएका छन्।
जिल्ला स्वास्थ्य कार्यलय धादिङले पनि आफु मातहतका सवै स्वास्थ्य सस्थालाइ सजगता अपनाउन आग्रह गरेको छ। जिल्ला स्वास्थ कार्यलयका एक अधिकृतले भने, 'जिल्लामा डेङ्गुको सक्रमण फेला परेपछि हामीले सबै स्वास्थ्य सस्थामा सजगता अपनाउन भनेका छौं।'
जिल्लाका सरोकारवालाहरुको सहभागीतामा बढी लामखुट्टे रहेका ठाउहरुमा विषादी छर्कन र पानी जमेका ठाउँहरुको व्यवस्थापनका लागि बैठक आह्वान गरिएको छ।