दमौली अस्पतालमा शिशुको मृत्यु भएपछि तनाव
तनहुँ : दमौली अस्पतालमा जन्मेका एक शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । बुधबार बिहान जन्मिएका एक शिशुको ज्यान गएपछि आफन्तले उपचारमा लापरबाही गरेको आरोप लगाएका छन् भने अस्पताल व्यवस्थापनले बचाउने प्रयास गर्दा गर्दै ज्यान गएको दाबी गरेको छ ।
बन्दीपुर गाउँपालिका १ नाहाला रिमाल्नी स्थित माइतीमा बस्दै आएकी १९ वर्षीय समिता शाहीले बिहान करिब सात बजेतिर शिशुलाई जन्म दिएकी थिइन् ।
चिकित्सकले उपचार अस्पतालमै हुने भने पनि लापरबाही गरेको समिताका माइला बुबा सोमबहादुरले बताए । आफूहरुले पोखरा लाने तयारी गरेको भए पनि अस्पतालले उपचार हुन्छ भनेपछि त्यही राखेको उनको भनाइ छ।
अस्पतालका चिकित्सक डा. कुलदीप खत्रीले स्वास्थ्य शिशु अभिभावकको जिम्मा लगाइएपछि श्वासप्रश्वास र मुटुको समस्या देखिएको बताए । समस्या देखिएपछि कृत्रिम श्वासप्रश्वास दिइए पनि बचाउन नसकिएको उनले बताए । आफन्तले भने लापरबाही भएकाले दोषीमाथि कारबाही हुनपर्ने माग गरेका छन् ।