चिकित्सकबाट क्षतिपूर्ति भराउने कानुन : स्वास्थ्यमन्त्री भन्छन् थाहै छैन
काठमाडौं : उपचारमा गल्ती गर्ने चिकित्सकबाटै बिरामी वा पीडित पक्षलाई क्षतिपूर्ति भराउने कानुन ल्याउने निर्णय स्वास्थ्यमन्त्रीको सहमतिविनै गरेको पाइएको छ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आफूलाई थाहै नदिई मन्त्रिपरिषद् बैठकबाट त्यस्तो निर्णय भएको भन्दै आपत्ति जनाएका छन् । पोखरेलले छलफलविना भएको निर्णय जायज नभएको टिप्पणी पनि गरे ।
‘उपचारक्रममा चिकित्सकले गल्ती गरे उनीहरूलाई कस्तो कारबाही गर्ने भन्नेबारे हामीसँग थुपै्र कानुन छन् । चिकित्सकको आफ्नै आचारसंहिता पनि छ । अचानक सरकारबाट यस्तो निर्णय कसरी हुन पुग्यो, म आफैँ आश्चर्यमा परेको छु र यसले मलाई गम्भीरसमेत बनाएको छ,' उनले भने, ‘म बाहिर भएका बेला मन्त्रिपरिषद् बैठक बसेको थियो । त्यहाँ हताहतार यस्तो निर्णय गरिनुको रहस्य मैले बुझ्न सकेको छैन ।'
चिकित्सकलाई क्षतिपूर्ति भराउने कानुन बनाउने प्रक्रियासमेत अघि बढाउन सरकारबाट निर्देशन आएको र त्यसबारे उच्चस्तरीय बैठकमा छलफल गरी थप निर्णय लिने उनले जानकारी दिए । उक्त विषयमा छलफल गर्न मन्त्रालयमा बुधबार बैठक तय भए पनि स्वास्थ्यका अधिकारी राष्ट्रिय समीक्षा गोष्ठीमा व्यस्त हुनुपरेपछि बिहीबारका लागि सारिएको छ । बैठकमा मुख्यसचिवलाई समेत डाकेर छलफल गर्ने तयारी रहेको मन्त्री पोखरेलले बताए ।
मन्त्रालयका प्रवक्ता डा.श्रीकृष्ण गिरीले उपचारक्रममा गल्ती भए चिकित्सकले पीडित वा बिरामी पक्षलाई क्षतिपूर्ति भराउने कानुन बनाउँदा चिकित्सा सेवा झनै महँगो र अस्तव्यस्त हुने बताए । मन्त्रिपरिषद्को बैठकले सोमबार उपचारक्रममा बिरामीलाई प्रतिअसर (साइड इफेक्ट) परेमा, अंगभंग वा मृत्यु भए त्यसको क्षतिपूर्ति पीडित पक्षलाई सम्बन्धित चिकित्सकले नै दिने प्रावधानसहितको छुट्टै कानुन ल्याउने निर्णय गरेको थियो । त्यसका लागि प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशनसमेत दिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सार्वजनिक गरेका थिए ।
उक्त निर्णयलाई लिएर सरकारी र निजी स्वास्थ्य संस्थामा कार्यरत प्रायः चिकित्सक विरोधमा उत्रिएका छन् ।
‘अचानक सरकारबाट यस्तो निर्णय कसरी हुन पुग्यो, म आफैँ आश्चर्यमा परेको छु र यसले मलाई गम्भीरसमेत बनाएको छ ।'
- गिरिराजमणि पोखरेल, स्वास्थ्यमन्त्री
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ मा उपचारक्रममा चिकित्सकले गल्ती गरे वा बिरामीको मृत्यु भए त्यसमा वैज्ञानिक अनुसन्धान गरी सम्बन्धित समन्वय समितिले पीडित पक्षलाई क्षतिपूर्ति दिलाउने प्रावधान छ । चिकित्सकीय लापरबाहीका घटनामा अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने अधिकार नेपाल मेडिकल काउन्सिलसँग पनि छ ।
शुक्रबारदेखि स्वास्थ्य संस्था ठप्प
नेपाल चिकित्सक संघले आफूले दिएको समयसीमाभित्र उक्त निर्णय सरकारले फिर्ता नलिएको भन्दै शुक्रबारदेखि मुलुकभरका स्वास्थ्य संस्थाका आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने घोषणा गरेको छ । संघले सोमबार सरकारलाई ७२ घन्टाभित्र फिर्ता नलिए देशभरका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प पार्ने चेतावनी दिएको थियो । माग पूरा गर्न सरकारले अटेरी गरेपछि संघको बुधबार बसेको एक बैठकले स्वास्थ्य संस्था ठप्प पार्नेलगायत आन्दोलन गर्ने निर्णय गरेको हो ।