कांग्रेसले गर्‍यो उम्मेदवार छान्न सर्कुलर

 कांग्रेसले गर्‍यो उम्मेदवार छान्न सर्कुलर

काठमाडौं : स्थानीय तहको तेस्रो चरण निर्वाचन सम्पन्न भएलगत्तै कांग्रेस प्रदेशसभा तथा संघीय संसद्का लागि निर्वाचन रणनीति बनाउन जुटेको छ । कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभाका लागि उम्मेदवार नामावली असोज १७ भित्र छनोट गरी पठाउन जिल्ला तहलाई पत्राचार गरिसकेको छ ।

सरकारले मंसिर १० र २१ मा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति तय गरेको छ । पहिलो चरणमा १० मंसिरमा हिमाली जिल्ला र भित्री पहाडी जिल्लामा निर्वाचन हुनेछ भने २१ मंसिरमा तराईका २२ सहित बाँकी जिल्लामा निर्वाचन हुनेछ । निर्वाचन आयोगले दुवै तहका निर्वाचनका लागि आचारसंहितासमेत लागू गरिसकेको छ ।

 

स्थानीय तहको निर्वाचनमा एमालेको तुलनामा आफ्नो उपस्थिति कमजोर पाएको कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पहिलो पार्टी बन्ने रणनीति तय गर्न आन्तरिक विमर्श थालेको नेताहरूले बताएका छन् ।

हरेक वर्ष कांग्रेसले दसैं र तिहारको शुभकामनास्वरूप आयोजना गर्दै आएको चियापान कार्यक्रम यसपटक ३ सय ३० वटा प्रादेशिक निर्वाचन क्षेत्रमा आयोजना गरी स्थानीय तहमा कार्यकर्ता परिचालनको रणनीति बनाएको छ । कांग्रेस कार्यसम्पादन समितिको बैठकले केन्द्रीय स्तरमा चियापान नगरेर प्रादेशिक निर्वाचन क्षेत्रमा गर्ने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय सदस्य गगन थापा भन्छन्, ‘हामी संसदीय अभ्यासमा रहे पनि पहिलोपटक प्रादेशिक निर्वाचनको अभ्यास गर्न गइरहेकाले यसबारे पाटीभित्र विमर्श सुरु भएको छ ।’
थापा कांग्रेसले आफ्नो मुख्य प्रतिस्पर्धी एमालेको रणनीति हेरेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति बनाउनुपर्नेमा जोड दिन्छन् ।

‘पार्टीभित्र रणनीतिक तहमा छलफल सुरु भएको छ’, थापाले भने, ‘प्रान्तीय तहमा हाम्रो पार्टीलाई जनताले के आधार बनाएर मत दिन्छन् भन्ने कुरा हामीले स्पष्ट पार्नुपर्छ ।’
एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टीका प्रभावशाली युवालाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर चुनाव जाने रणनीति बनाएको छ । एमालेले अनौपचारिक रूपमा योगेश भट्टराई, रवीन्द्र अधिकारीसमेतका नेतालाई विभिन्न प्रदेशको मुख्यमन्त्रीका रूपमा घोषणा गरी निर्वाचनमा जाने तयारी गरेको छ ।

शुक्रबार सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा एमाले अध्यक्ष ओलीले सबै प्रदेशमा एमालेले बहुमतको सरकार बनाउने र केन्द्रमा संयुक्त सरकार बनाउने रणनीति लिएको जनाएका थिए ।
कांग्रेसका अर्का केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अन्नपूर्णसँग भने, ‘कांग्रेसभित्र प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको रणनीति तय गर्ने विषयमा छलफल सुरु भएको छ । पार्टीभित्र व्यक्ति हाबी नहोस् भन्नेमा सचेत छौं ।’

कांग्रेसभित्र सातै प्रदेशको सम्भावित मुख्यमन्त्रीका नामावलीमा पार्टीवृत्तमा बहस बाक्लिएको छ । पार्टी स्रोतका अनुसार पूर्वस्वास्थ्यमन्त्री गगन थापाले आफूलाई ३ नम्बर प्रदेशको मुख्यमन्त्रीका रूपमा पार्टीले अघि सारे आफू प्रदेशसभा निर्वाचन लड्न तयार रहेको पार्टी नेतृत्वलाई बताएका छन् ।
उनले भने, ‘यो पार्टीले गर्ने निर्णय हो तर पार्टीले त्यस किसिमको निर्णय गर्‍यो भने म तयार छु ।’
३ नम्बर प्रदेशमा कांग्रेसभन्दा एमाले बलियो रहेको विश्लेषण कांग्रेसको छ । कांग्रेसले थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाए एमालेलाई उछिन्न सक्ने आकलन गरेको छ ।

एक नम्बर प्रदेशको मुख्यमन्त्रीमा शर्माको नाम चर्चामा छ । दुई नम्बर प्रदेशबाट फरमुल्लाह मन्सुर तथा महेन्द्र यादवसम्मको चर्चा छ भने ४ नम्बर प्रदेशबाट धनराज गुरुङ, शंकर भण्डारीसम्मले दाबी प्रस्तुत गरिरहेका छन् । ५ नम्बर प्रदेशका लागि पूर्वरक्षामन्त्री बालकृष्ण खाँड तयारीमै जुटिसकेको कांग्रेसीको भनाइ छ । प्रदेश मुख्यमन्त्री हुने गरी खाँडले प्रादेशिक सभा निर्वाचनमा भाग लिने तयारी थालिसकेका छन् ।
६ नम्बर प्रदेशका लागि जीवन शाहीलगायतको नाम चर्चामा छ भने ७ नम्बर प्रदेशमा रमेश लेखक र एनपी साउदको नाम पार्टी वृत्तमा चर्चामा छ ।
कांग्रेस नेता शर्माले मुख्यमन्त्रीको नाम अघि सारेर निर्वाचनमा जाँदा पार्टी पद्धतिभन्दा व्यक्ति हाबी हुने खतरा औंल्याए ।कांग्रेस नेता थापाले पार्टी संकटमा रहेका बेला प्रधानमन्त्रीको नाम घोषणा गरी चुनावमा जाँदा कांग्रेस सफल भएको उदाहरण पेस गरे ।

तेस्रो चरणको निर्वाचन अघि मन्त्रिपरिषद्ले सातै प्रदेशको प्रमुख तोक्ने निर्णय गरिसकेको छ ।
सरकारले प्रदेशहरूमा प्रहरी प्रमुखदेखि उच्च अदालतसम्मको व्यवस्था गरिसकेको छ । प्रदेश प्रमुखहरूको नियुक्तिका लागि समेत गृहमन्त्री जनार्दन शर्माले दलहरूसँग नाम मागिसकेका छन् ।
राजनीतिक नियुक्ति भएकाले दलहरूकै सिफारिसमा सरकारले सातै प्रदेशको प्रमुखहरू नियुक्त गर्न लागेको छ ।

सरकारले निर्वाचनअघि नै प्रदेशको राजधानीसमेत टुंगो लगाउनुपर्ने हुन्छ । सरकारले सातै प्रदेशको राजधानी तोक्ने गृहकार्य गरिरहेको छ । मन्त्रिपरिषद् बैठकले यी सबै कामको जिम्मा गृहमन्त्री शर्मालाई दिएको छ । शर्मानिकट स्रोतका अनुसार प्रदेश प्रमुखदेखि राजधानी तोक्नेसम्मको विषयमा दलबीच उच्च तहमा छलफल चलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.