माओवादीले माग्यो उम्मेदवारको नाम

माओवादीले माग्यो उम्मेदवारको नाम

 

काठमाडौं : माओवादी केन्द्रले संघीय संसद् तथा प्रदेशसभाका लागि उम्मेदवारको नाम साताभित्रै सिफारिस गर्न जिल्ला कमिटीलाई सर्कुलर गरेको छ । जिल्ला संगठन समितिलाई शुक्रबार पत्राचार गर्दै १३ असोजभित्रै उम्मेदवारको नामावली पठाउन उसले सर्कुलर गरेको हो ।

उसले उम्मेदवार सिफारिस गर्ने प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत बुँदासमेत समेटेर प्रत्यक्षतर्फ संघीय संसद् तथा प्रदेशसभाका लागि बढीमा दुई जना र समानुपातिकतर्फ भने एउटा जिल्लाबाट बढीमा तीन जनाको नाम सिफारिस गर्न भनेको छ । ‘पार्टीले सकेसम्म सर्वसहमतिमा नभए प्रत्यक्षतर्फ प्रदेश÷संघ जहाँ उठे पनि बढीमा दुई जना र समानुपातिकतर्फ भने जिल्लाबाटै तीन जनासम्मको नाम सिफारिस गर्न सर्कुलर आएको छ,’ माओवादी केन्द्रका सचिवालय सदस्य डिलाराम आचार्यले भने ।

 

 

 

 

उनका अनुसार केन्द्रको त्यही सर्कुलरकै आधारमा अहिले जिल्लाहरूले पार्टी बैठक राख्ने, सम्भावित आकांक्षी उम्मेदवारको नाममा सकभर सहमति खोज्ने, नभए पनि जित्ने आधार देखिएका व्यक्तिको नाममा छलफल गर्ने क्रम अहिले जिल्ला तहमा तीव्र रूपमा भइरहेको छ । सरकारले मंसिर १० र २१ मा दुई चरणमा एकैपटक प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन गर्ने गरी मिति घोषणा गरेपछि माओवादी अहिले आन्तरिक तयारीमा व्यस्त देखिन थालेको हो ।

‘व्यस्तता बढेको छ, स्थानीय तह निर्वाचन सकेलगत्तै हाम्रो पार्टी संघीय संसद् र प्रदेशसभाको निर्वाचनको आन्तरिक तयारीमा छ,’ आचार्यले भने, ‘दसैंअगाडि नै सम्भवतः सबै जिल्लाबाट आकांक्षी उम्मेदवारको नाम केन्द्रमा सिफारिस भइसक्छ ।’ यस्तो छ उम्मेदवारको मापदण्ड

माओवादी केन्द्रले जिल्लालाई उम्मेदवार सिफारिस गर्दा केही मापदण्डलाई पनि ध्यान दिन भनेको छ । उसले उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति, कार्यक्रम, कार्यदिशा लागू गर्न, संगठन विस्तार गर्दै जनतामा पार्टीको आधार खडा गर्न, जनतासँग प्रत्यक्ष जोडिएका नेतालाई पहिलो आधार बनाउन भनेको छ ।त्यस्तै, सामाजिक प्रतिष्ठा भएको तर पार्टीमा कनिष्ठ नै भए पनि जित्नसक्ने व्यक्तिलाई उम्मेदवार सिफारिस गर्न जिल्लालाई भनेको छ ।

साउन पहिलो साता बसेको माओवादी सचिवालय बैठकले गरेपछि यसपटक उसले सामाजिक चरित्र भएका र समाजमा भिजेका नेतालाई प्राथमिकतासाथ उम्मेदवार सिफारिस गर्न जिल्लालाई आग्रह गरेको छ । सार्वजनिक प्रतिष्ठा गुमाएका वा धुमिल भएका, आचरणहीन देखिएका व्यक्तिलाई उम्मेदवारी सिफारिस नगर्न सचेत गराउँदै उसले सामाजमा लोकप्रिय रहेका व्यक्तिलाई प्राथमिकता दिन भनेको हो ।

त्यसो त माओवादीले कतिपय जिल्लामा केन्द्रले सर्कुलर गर्नुअगावै पनि सर्वसम्मत उम्मेदवार टुंगो लगाइसकेका छन् । अहिलेसम्म जाजरकोट, ओखलढुंगा, बझाङ, प्युठान, नुवाकोटलगायत जिल्लामा माओवादीले संघीय संसद् र प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार टुंगो लगाइसकेको छ ।

‘कतिपय जिल्लाले सर्वसम्मत नाम चयन गर्न थालेका छन्,’ प्रवक्ता पम्फा भुसालले अन्नपूर्णसँग भनिन्, ‘सर्वसम्मत नभएका ठाउँमा भने जिल्ला र प्रदेश हुँदै केन्द्रमा नाम सिफारिस गर्न आग्रह गरिसकेका छौं ।’

केन्द्रमा सिफारिस भएर आएका नामको अन्तिम टुंगो भने उसले दसैंलगत्तै बस्ने पार्टी शीर्ष नेता तथा उम्मेदवार छनोट समितिको बैठकले गर्ने तयारी गरेको छ ।माओवादीले उम्मेदवार छनोटका लागि रामबहादुर थापाको नेतृत्वमा उम्मेदवार छनोट कमिटी साउनमै बनाएको थियो ।

अहिलेसम्म जाजरकोट, ओखलढुंगा, बझाङ, प्युठानलगायत जिल्लामा माओवादीले प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार टुंगो लगाएको छ । जाजरकोटमा प्रतिनिधिसभाका लागि पूर्व गृहमन्त्रीसमेत रहेका शक्तिबहादुर बस्नेतलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको छ । प्रदेशसभाका लागि क्षेत्र १ बाट गणेशप्रसाद सिंह र क्षेत्र २ बाट नरबहादुर कार्कीलाई उम्मेदवार बनाउने निर्णय जाजरकोटले गरेको छ ।

प्रतिनिधिसभाका लागि एउटा निर्वाचन क्षेत्र रहेको बझाङमा धर्मराज विकलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउने भएको छ । प्रदेशसभाका लागि भने एउटा प्रदेशमा दुई जनाको नाम बझाङ माओवादीले सिफारिस गरेर पठाएको छ । क्षेत्र १ मा जनक बुढा र विक्रम खड्का, क्षेत्र २ मा विपना थापा, नन्दलाल धामी, जनक जोशी र भीम भण्डारीको नाम सिफारिस भएको हो ।

त्यस्तै, ओखलढुंगामा बाबुराम गौतमलाई प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनाउने निर्णय माओवादीले गरेको छ । नुवाकोटमा संघीय संसद्का लागि क्षेत्र १ मा हितबहादुर तामाङ र २ मा हिरानाथ खतिवडालाई उम्मेदवार बनाउने निर्णय पनि जिल्ला कार्यालयको बैठकले गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.