प्रदेश २ मा सबै दलको रणनीति असफल

प्रदेश २ मा सबै दलको रणनीति असफल

काठमाडौं : तीन चरणमा सम्पन्न स्थानीय तह निर्वाचन परिणामले संविधान निर्माण र गणतान्त्रिक आन्दोलनका सहयात्री दलहरूको पक्षमा दुई तिहाइभन्दा बढी जनमत रहेको देखाएको छ । गणतान्त्रिक आन्दोलन र संविधान निर्माणका सहयात्री दलले ८८ प्रतिशतभन्दा बढी स्थान जितेका छन् ।

तीन चरणमा सम्पन्न निर्वाचनअन्तर्गत संविधान पक्षधर दलले कुल ७५३ मध्ये ६६४ स्थानीय तहमा जित हासिल गरेका हुन् । पहिलो र दोस्रो चरण निर्वाचन भएका प्रदेश १, ३, ४, ५, ६ र ७ को परिणाम यसअघि नै आइसकेको छ भने तेस्रो चरणमा असोज २ गते निर्वाचन भएका प्रदेश २ का जम्मा ८ तहको परिणाम आउन बाँकी छ ।

 

गणतन्त्रपछिको पहिलो स्थानीय तहको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल एमाले एक्लैले सबैभन्दा बढी २९३ स्थानीय तहमा जित हासिल गरेको छ भने सत्ताको नेतृत्व गरेको कांग्रेस एमालेभन्दा झन्डै ३० स्थानले पछाडि परेको छ । पहिलो र दोस्रो निर्वाचनमा दोस्रो बनेको उसले तेस्रो चरणमा भने झिनो बहुमत पाएको छ । प्रदेश २ को निर्वाचनबाट पहिलो र दोस्रो चरणको घाटा पूर्ति गर्ने उसको रणनीति असफल भएको छ । जबकि उसले प्रदेश २ लाई आफ्नो आधार क्षेत्रका रूपमा लिँदै आएको थियो ।

राष्ट्रवादी आन्दोलनको कडीका रूपमा मधेसमा बहुमत ल्याएर नयाँ रेकर्ड तोड्ने लक्ष्यसहित प्रदेश २ को चुनावमा होमिएको एमाले पाँचौं स्थानमा खुम्चिएको छ भने माओवादी, संघीय समाजवादी फोरम नेपाल र राजपाको संविधान संशोधन र मधेस आन्दोलन पक्षधर जनमतलाई पक्षमा पार्दै पहिलो हुने रणनीति असफल भएको छ । यद्यपि, सत्ताको दोस्रो घटक माओवादी केन्द्र र फोरम नेपाललाई प्रदेश २ को निर्वाचनले सबैभन्दा बढी फाइदा पुगेको देखिएको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले परिवर्तन र संविधान निर्माणका सहयात्री दलले करिब ८८ प्रतिशत जनमत पाउनु संविधान कार्यान्वयनको सुनिश्चितताका लागि सबैभन्दा ठूलो उपलब्धि रहेको बताए । सबै प्रकारका संविधानविरोधी शक्ति केन्द्र र दलहरू परास्त भएको उनको भनाइ छ । राज्य र अन्य सबै दल लाग्दा पनि एमालेलाई पहिलो दल हुनबाट रोक्न नसकेको उनले बताए । ‘राज्यको ज्यादती र प्रदेश २ मा निषेधका बाबजुद एमालेले आमजनताको समर्थन पायो । हामीले यो परिणामलाई सकारात्मक रूपमा लिएका छौं’, उनले भने ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका कृषिमन्त्री रामकृष्ण यादवले प्रदेश २ मा आफूहरूले पाएको मत अपेक्षाअनुसार नभएको बताए । ‘नेपाली-नेपालीबीच विभाजन गराउने र खोक्रो राष्ट्रवादको नारा दिनेहरूविरुद्ध मधेसी जनताले मतदान नगर्ने हाम्रो बुझाइ सही भएन’, उनले भने, ‘अर्कोतर्फ कांग्रेसभित्रको कलह र चुनावी गृहकार्यसमेत पर्याप्त कार्यान्वयनमा आएन ।’

राजपा अध्यक्ष महन्थ ठाकुरले स्थानीय तह निर्वाचनमा आफूहरूले भाग लिए पनि नयाँ संविधान स्वीकार नगरेको बताए । ‘हामीले चुनावमा भाग लियौं भनेर सत्तापक्ष खुसी मनाइरहेको छ तर हामीले उपस्थिति जनाएका मात्रै हौं । स्वीकार गरेका छैनौं । संविधानको विरोध छाड्दैनौं’, उनले भने, ‘यद्यपि, राजपाले पाएको जनसमर्थनका लागि आमजनतालाई हामी धन्यवाद दिन्छौं ।’ पार्टीको केही दिनपछि बस्ने पदाधिकारी बैठकले चुनावी समीक्षा र आगामी दिनको भूमिकाका विषयमा निर्णय गर्ने उनले जानकारी दिए ।

राजपालाई कडा टक्कर दिँदै स्थानीय तहमा विजयी भएको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यो जितलाई सामान्य रूपमा लिएको बताए । ‘ राज्यशक्तिको दुरुपयोग र चौतर्फी प्रहारका बाबजुद यो सफलता पाउनुमा आमजनता धन्यवादका पात्र छन्’, उनले भने, ‘अधिकार प्राप्तिको संघर्षलाई हामी अझै घनीभूत रूपमा अगाडि बढाउँछौं ।’ आमजनताको भावनाअनुसार प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समग्र तयारीमा केही दिनभित्रै जुट्ने जानकारी फोरम नेपालका अध्यक्ष यादवले दिए ।


१. पहिलो चरण निर्वाचन (प्रदेश ३, ४ र ६) : २८६ स्थान

एमाले-१२५, कांग्रेस - १०५ र माओवादी -४७, फोरम नेपाल -१, राप्रपा -१

२. दोस्रो चरण निर्वाचन (प्रदेश २, ५ र ७) : ३३४ स्थान

एमाले-१५१, कांग्रेस-१२२ र माओवादी - ३८, फोरम नेपाल- ८, राजपा- १, फोरम लोकतान्त्रिक - ६, राप्रपा -४

. तेस्रो चरण निर्वाचन (प्रदेश २) : १३६ स्थान

कांग्रेस - ३७, एमाले - १७, माओवादी - २१, संघीय फोरम -२४, राजपा -२४, लोकतान्त्रिक फोरम- ३ (८ स्थानको बाँकी)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.