'मतदान र मतगणना प्रक्रिया सुधार गरौं'

'मतदान र मतगणना प्रक्रिया सुधार गरौं'

काठमाडौं : प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदान र मतगणनामा व्यापक सुधार गर्नुपर्ने सरोकारवालाले बताएका छन् । यी दुवै प्रक्रियामा धेरै हदसम्मको सुधारका लागि मुलुकभर एउटै मतपत्र राख्न नहुने उनीहरूको धारणा छ ।काठमाडौं, मोरङ, कास्कीमा जति धेरै उम्मेदवार हुन्छन्, त्यति मुगु, डोल्पा, हुम्लामा हुँदैनन् भन्ने कुरामा सबै पक्षको ध्यान जानु जरुरी रहेको उनीहरूको तर्क छ ।

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचन पद्धतिमै आमूल सुधार गर्नुपर्ने बताए । ‘मतदाताको सोच र शिक्षाभन्दा मतपत्र भिन्न भएकाले मतदान र मतगणना प्रक्रिया लम्बियो । आयोगले प्रदेश २ को स्थानीय तह निर्वाचनमा एक साताभित्र मतगणना सम्पन्न हुने भन्दै दिएको डेट लाइन मिट गर्न सकेन’, उनले भने, ‘२०÷२२ प्रतिशत मत बदर हुनु निर्वाचनको वजन घट्नु र नराम्रो सन्देश जानु हो ।’

 

आयोगलाई सरकार र जिम्मेवार दलले अधिकारसम्पन्न गराउनुपर्ने उनको धारणा छ । आयोगले पनि थप अधिकार माग गर्ने मात्र होइन, भएका अधिकार कार्यान्वयनमा जाने हो भने अहिलेको ढिलासुस्ती र कमी-कमजोरीमा सुधार आउनसक्ने विश्वास उनले व्यक्त गरे । दुई महिनापछि हुन गइरहेको प्रदेश र संघको चुनावमा हुन सक्ने त्रुटि सच्याउन आयोग, सरकार र दलबीच गम्भीर परामर्श सहितको एकअर्कालाई सम्मान गर्ने कार्य अपरिहार्य रहेकोमा श्रेष्ठले जोड दिए । आयोगलाई निर्वाचन मिति घोषणाको अधिकार दिनुपर्ने उनको भनाइ छ ।

पूर्वनिर्वाचन आयुक्त वीरेन्द्र मि श्रले आयोग, सरकार र दलहरूकै कारण स्थानीय निर्वाचनको मतदान र मतगणनामा त्रुटि भएको बताए । ‘आजको निर्वाचनको सन्देश भोलिको निर्वाचन हो भन्ने मान्यतामा सबै पक्ष रहे मात्र निर्वाचन लोकतान्त्रिक मूल्य-मान्यताअनुसार हुन सक्छ’, उनले भने । आफ्नो जितलाई मात्र निर्वाचन सम्झने जो-कोही र जुनकुनै पार्टीलाई तत्काल कारबाही गर्ने आँट र प्रतिबद्धतासमेत आयोगमा हुनुपर्ने उनको तर्क छ । मतपत्रको आकार-प्रकारले निर्वाचनलाई उपहास गरेकोमा उनले दुःख व्यक्त गरे । ‘तटस्थ दर्शकका रूपमा हेर्दा कुनै निर्वाचनमा २०÷२२ प्रतिशत मतपत्र बदर हुनु निर्वाचन होइन । अन्तर्राष्ट्रिय जगतमा यस्तो भए पुनः मतदान हुन्छ । ५ प्रतिशतसम्मको बदरलाई अन्तर्राष्ट्रिय जगतमा पनि स्वाभाविक मानिन्छ’, उनले भने ।

मतपत्रको आकार, मतदान प्रक्रियामा आमजनतालाई प्रशिक्षण गर्नै पर्नेमा उनले जोड दिए । निर्वाचन सहज बनाउन मतपत्र छपाइ जनक शिक्षा सामग्री केन्द्रबाट मात्र नभई केही अन्य छापाखानाबाट पनि हुनुपर्ने सन्देश बदर मतपत्रको संख्या र मतगणना प्रक्रियाले दिइसकेको मि श्रले बताए ।

राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले मतदान र मतगणना प्रक्रियालाई सरल बनाउनुपर्ने बताइन् । प्रत्येक निर्वाचनमा मतदाता परिचयपत्र बदल्ने, नामावली सच्याउने कार्य व्यावहारिक नभएको उनले बताइन् । आयोगको यस्तै कामले संविधानसभाका दुवै निर्वाचनमा मतदान गरे पनि आफूले स्थानीय निर्वाचनमा मतदान गर्न नपाएको उनले जानकारी दिइन् । विश्वका केही मुलुकको उदाहरण हेर्दा खामबन्दी प्रक्रियालाई समेत मतदानका रूपमा गणना गरिने जानकारी उनले दिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.