सोलको ओलम्पिक पार्कमा नेपथ्य
काठमाडौं: लोक-रक ब्यान्ड नेपथ्य दक्षिण कोरियाको राजधानी सोलस्थित ओलम्पिक पार्कमा आफ्ना चर्चित गीतहरूका साथ प्रस्तुत हुने भएको छ। यसअघि चारपटक सोलमा कन्सर्ट गरिसकेको नेपथ्यले असोज १८ गते पुनः कन्सर्ट गर्न लागेको हो। तर, यसपटक सोलस्थित ओलम्पिक पार्कमा प्रस्तुत हुन लागेकाले नेपथ्य पनि उत्साहित छ।
सन् १९८८ को ओलम्पिक आयोजनाका निम्ति निर्मित सो पार्कलाई कोरियाली सरकारले सन् २०११ मा कन्सर्ट हलका रूपमा पुनःनिर्माण गरेको हो। यस पार्कलाई अहिले विश्वमै सुविधासम्पन्न र प्रतिष्ठित कन्सर्ट हलको रूपमा लिइन्छ। सो पार्कमा डिप पर्पल, जुदास प्रिस्ट, मारिया क्यारे र एयर सप्लाईजस्ता विश्वप्रसिद्ध कलाकार एवं सांगीतिक टोलीले प्रस्तुति दिइसकेका छन्।
कोरियाको सबभन्दा ठूलो पर्व छुसकको अवसर पारेर त्यहाँस्थित ‘कास्की परिवार'ले नेपथ्यको कन्सर्ट आयोजना गर्न लागेको हो। कृषिमा आधारित यो पर्वका बेला तीन दिनसम्म त्यहाँको सरकारले सार्वजनिक बिदा दिने गरेको छ। यो चाडमा कोरियाली नागरिकहरू पुख्र्यौली थातथलो पुग्दै मान्यजनसँग रमाउँछन्।
नेपालस्थित दक्षिण कोरियाली दूतावासका अनुसार यति बेला त्यहाँ ईपीएस योजनाअन्तर्गत चालीस हजारभन्दा बढी नेपाली कामदार कार्यरत छन्। विश्वभर छरिएका नेपालीभाषी र नेपाली संगीतलाई मन पराउने घेराकै निम्ति समर्पित रहँदै आएको नेपथ्यले असोज १८ गते त्यहाँ आफूलाई प्रस्तुत गर्नेछ। ‘सन् २००५ मा पहिलोपटक कोरियामा रहेका नेपालीलाई आफ्ना गीत सुनाएपछि नेपथ्यलाई निरन्तर निम्तो आइरहेको छ', ब्यान्डलाई प्रवद्र्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले भने।
यसपटक नेपथ्यका गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिँदैछन्।