पृथ्वीनारायण शाहले उपहार दिएको तरबार जाजरकोट दरबार भित्र्याइयो

पृथ्वीनारायण शाहले उपहार दिएको तरबार जाजरकोट दरबार भित्र्याइयो

जाजरकोट : पृथ्वीनारायण शाहले २४९ वर्षअघि तत्कालिन जाजरकोटी राजा हरि शाहलाई उपहार स्वरुप दिएको शक्तिको प्रतीक खड्ग बुधबार जाजरकोट दरबारमा भित्र्याइएको छ । दशैंको फुलपातीका दिन विशेष पुजाआजा गरी उक्त खड्ग ( तरवार) लाई खलंगास्थित जाजरकोट दरबारमा भित्र्याइएको हो ।

तत्कालीन समयमा शक्तिको प्रतीकको रुपमा पुजिने गरिएको उक्त खड्गलाइ खर्के देउताको रुपमा स्थानीयले पुज्ने गरेका छन् । बडादशैंको फुलपाती भित्र्याउने परम्परा अनुसार सदरमुकाम खलंगाको रानागाउँ स्थित २२२ वर्ष पुरानो कालिका मन्दिरवबाट विशेष सुरक्षासहित बुधबार उक्त खड्ग जाजरकोट दरबारमा भित्र्याइएको हो ।

 

तत्कालिन जाजरकोट दरबार हाल सरकारको स्वामित्वमा छ । उक्त दरबारमा जिल्ला प्रशासन कार्यालय रहेको छ । बाइसे, चौबीसे राज्य रजौटा उन्मुलन भएसँगै तत्कालिन राजाले विशेष पुजा गरेर भित्र्याउने खड्ग पछिल्लो समय प्रमुख जिल्ला अधिकारीले भित्र्याउँदै आएका छन्।

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले खड्गलाई विशेष पुजा गरेर जमरा घरमा खड्ग र फुलपाती भित्र्याएका हुन् । उक्त अवसरमा बलि दिनुका साथै प्रहरीले एक तोपको सलामी समेत प्रदान गरेको थियो । खड्ग हेर्नेहरुको भीड लागेको थियो।

नेपाल एकीकरणको अभियानमा रहेका पृथ्वीनारायण शाहले वि.सं.१८२५ माघ ५ गते उक्त खड्ग जाजरकोटी राजा हरि शाहलाई उपहार स्वरुप दिएका थिए । पृथ्वीनारायण शाह र जाजरकोटी राजा हरि शाहका बीचमा नेपाल एकीकरणमा जाजरकोटी सेनाले सहयोग गर्ने सम्झौता गर्दै उक्त खड्ग प्रदान गरिएको ऐतिहासिक दस्तावेजमा उल्लेख छ।

पुर्णिमाको रातमा भारतको कासीको मणिकर्णिका घाटमा जल छोएर मितेरी साइनो गाँस्दै शक्तिको प्रतीक स्वरुप उक्त खड्ग अर्थात तरवार जाजरकोटी राजालाइ पृथ्वीनारायाण शाहले दिएका थिए । दुई राज्यका बीचमा एक अर्कालाइ सहयोग गर्ने सम्झौता गर्दै पुर्णिमाको रातमा भारतको कासीको मणिकर्णिका घाटमा जल छोएर मितेरी साइनो गाँस्दै उपहार साटासाट गर्ने क्रममा उक्त खड्ग जाजरकोटी राजाले पाएका थिए ।

झन्डै ७ सय वर्षअघि स्थापना भएको जाजरकोट राज्यको तत्कालिन राजधानी जगतिपुरमा राखिएको उक्त तरवार १८५२ सालमा अहिलेको सदरमुकाम खलंगामा राजधानी सारिएपछि दशैंको फुलपातीका दिन विशेष पुजाआजासहित जगतिपुरबाट खलंगा दरबारमा ल्याउने परम्पार सुरु भएको स्थानीय खम्बजंग शाहले बताए ।

जगतिपुरमा रहेको राजा र देवताको शक्तिलाइ विस्तारै खलंगास्थित दरबारमा सार्ने उद्देस्यले प्रत्यक वर्ष फुलपातीका दिन पुजाआजासहित उक्त खड्गलाइ खर्के देउताको रुपमा पुज्दै ल्याउन थालिएको शाहले बताए ।

फुलपातीका दिन जाजरकोट दरबारमा भित्र्याइएको उक्त खड्गलाई दशैंको अष्टमी, महानवमी र विजया दशमीको दिनसम्म पन्चे वाचाका ध्वनीका साथ बोका, रांगाको बली दिएर भव्य रुपमा पुजा आजा गरि एकादशीका दिन जगतिपुरमै फर्काउने परम्परा रहेको थियो तर १० वर्षे सशस्त्र द्धन्दका क्रममा असुरक्षाका कारण २०५९ सालदेखि रानागाउँ स्थित कालिका मन्दिरमा राख्ने गरिएको छ ।

द्वन्द्व अन्त्य भइसकेकाले खड्गलाई जगतिपुरको मन्दिरमै राख्नु पर्ने खड्ग पुजारी सत्यप्रसाद शर्माले बताए । जाजरकोट राज्यको उत्पति र खड्ग सुरुमा राखिएको मन्दिरको गरिमा र महत्व जोगाउनका लागि उक्त खड्गलाइ जगतिपुरमै राख्नुपर्नेमा पुजारी शर्माले जोड दिए । जाजरकोटी शाह ठकुरीहरुले मुख्य जिम्मा लिएर मनाइने खर्के देउता पुजा अहिले ओझेल पर्दै गएको छ । विगतमा खर्के देउताको पुजाका वेलो जाजरकोट दरबारमा ठूलो मेला लाग्ने गरेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले जानकारी दिए ।

जाजरकोटको इतिहास, सँस्कृति र परम्पराको पह्चिान झल्काउने खर्के देउता पुजा विगतमा स्थानीय जनता सरकारी कार्यालयको सक्रियतामा गर्ने गरिए पनि हाल सबैले बिर्सँदै गएको शाहले बताए । उनले भने ‘आफ्नो परम्परा र इतिहासलाई कुनै पनि हालतमा समाप्त हुन दिनु हुँदैन । यसका लागि स्थानीय सरकारले विशेष पहल गर्नुपर्छ । जाजरकोटको इतिहास धेरै महत्वपूर्ण रहेपनि खोज अनुसन्धानको अभावले जानकारीमा आउन सकेको छैन । ’

नेपाल एकीकरणपछि राज्य रजौटा उन्मुलन ऐन अनुसार तत्कालिन जाजरकोट राज्य नेपालमा गाभिएपछि पनि जाजरकोट राज्यले सहयोग गरेको भन्दै गणतन्त्र स्थापना हुनु अघिसम्म जाजरकोटी राजाका सन्तानले विशेष भत्ता पाउँदै आएका थिए । संरक्षण र मर्मतको अभावमा जाजरकोट दरबार अहिले जीर्ण अवस्थामा छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.