पूर्वाधार निर्माणको काम सुस्त: राज्यमन्त्री गुरुङ
तेह्रथुम: भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले निर्माण व्यवसायी र कम्पनीको लापरबाहीका कारण पूर्वाधार निर्माणको कार्य सुस्त भइरहेको बताएकी छिन्।
तेह्रथुमका सडक, पुल तथा अन्य योजनाको वस्तुस्थितबारे अवलोकन तथा अनुगमन गर्ने क्रममा राज्यमन्त्री गुरुङले भनिन्-“निर्माण व्यवसायी र कम्पनीकै कारण सरकार र मन्त्रालयद्वारा सञ्चालित विकास निर्माणको कार्यमा प्रभावकारिता देखिन सकिएको छैन्।”
राज्यमन्त्री गुरुङले तेह्रथुम जिल्लामा योजना र तिनका लागि आवश्यक बजेट पर्याप्त भए पनि ठेकेदार कम्पनीले समयमा काम नगरिदिदाँ समस्या आएको बताउँदै क्षमताभन्दा धेरै योजना सम्झौता गर्ने र विभिन्न बहाना देखाउँदै समयमा काम सम्पन्न नगर्ने चलन देशभर मौलाएकोमा चिन्ता व्यक्त गरिन्।
त्यसको निराकरणका लागि आफू निरन्तर प्रयासरत रहने विश्वास पनि उनले व्यक्त गरिन्। ठेकेदार कम्पनीको लापरबाहीकै कारण जिल्लाका दर्जनौँ योजना सुस्त गतिमा अगाडी बढिरहेको छ। जिल्लाको मेरुदण्डका रुपमा रहेका मध्यपहाडी लोकमार्गको स्तरोन्नति र कालोपत्रको काम अगाडी बढ्न सकेको छैन्। त्यस्तै खोरुङगा र कोया खोलाको पुल निर्माणको काम पनि अगाडी बढ्न सकेको छैन्।
यसैगरी म्याङलुङ-वसन्तपुर सडकखण्डको स्तरोन्नतिको जिम्मा लिएको ठेकेदार कम्पनीले काम नगर्दा अहिले पनि वर्षा हुनासाथ सवारी अवरुद्ध हुने अवस्था छ। सिधुवा-शुक्रबारे सडक स्तरोन्नतिको जिम्मा लिएको कम्पनीले पनि समयमा काम गर्न सकेको छैन। म्याङलुङ-ओख्रे सडकखण्डको लम्बु खोलामा पुल निर्माणको काम म्याद सकिएर तीन पटक म्याद थप्दा पनि काम सम्पन्न हुन सकेको छैन। म्याङलुङ-याशोक सडकखण्डको तमोर नदी लुमुघाटमा पनि पुल निर्माणको काम अलपत्र छ।