थारु भाषामा संविधान प्रकाशित
बर्दिया: नेपालको संविधान पश्चिमा थारु भाषामा प्रकाशित गरिएको छ। प्राचिन श्रृजनशिल आदिवासी समाज बर्दियाको अगुवाईमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको अनुमतिबाट नेपालको संविधान थारु भाषामा प्रकाशन गरिएको हो ।
नेपाली भाषामा रहेको नेपालको पहिलो संशोधित संविधान २०७२ वाँसगढी स्थित गुर्वावा एमएमका प्रमुख एकराज चौधरीले थारु भाषामा अनुवाद गरेका हुन् । सिँचाई मन्त्री संजयकुमार गौतम र पशुपंक्षी विकास मन्त्री सन्तकुमार थारुले एक कार्यक्रमका विच थारु भाषामा प्रकाशित संविधान संयुक्त रुपमा विमोचन गरेका छन् ।
नेपालको संविधान थारु भाषामा प्रकाशन गर्न नेपाल सरकार मन्त्रिस्तरीय बैठकले पुष १ गते निर्णय गरेको थियो । मन्त्रालयले नेपाल सरकारको शर्त पालनासहित पश्चिमा थारु भाषामा संविधान प्रकाशन गर्ने अुनमति दिएको छ। प्रकाशित संविधानको प्रति निशुल्क वितरण गर्नुपर्ने शर्तमा उल्लेख भएको अनुवादक एकराज चौधरीले बताए ।
जसअनुसार थारु भाषामा अनुवाद गरी प्रकाशन गरिएको संविधान प्राज्ञिक प्रयोजन एवं नेपालका थारु जातिलाई सचेतना दिलाउनका लागि मात्र प्रयोग गर्नुपर्ने, संवैधानिक, कानुनी प्रश्नको निरुपण वा व्याख्या समेतको सन्र्दभमा कानुन किताब व्यवस्था समितिले नेपाली भाषामा प्रकाशन गरेको संविधान मात्र मान्य हुने, थारु भाषामा अनुवादित प्रतिमा कुनै त्रुटी एवं द्विविधा भए मन्त्रालय जवाफदेही नहुने लगायतका शर्तहरु मन्त्रालयले तोकेको छ।