जुवातास नखेल्न उर्दी गर्ने वडासदस्य तासको खालबाट पक्राउ
उदयपुर : उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रबाट तास खेलिरहेको अवस्थामा वडा सदस्यसहित सात जना पक्राउ परेका छन । त्रियुगा नगरपालिका वडा नंं ११ स्थित होटल ए वान एलम्बरबाट शुक्रबार राति त्रियुगा नगरपालिका वडा नं. ११ का सदस्य विष्णु कुमार श्रेष्ठ सहित सात जना पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख नवराज भट्टको कमाण्डमा खटिको प्रहरी टोलीले सर्च गर्ने क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका–११ बस्ने बर्ष ४० का दुर्गा ब. श्रेष्ठ, बर्ष ४० का शुरेश पराजुली, बर्ष ४१ का राजु तुलाधर, बर्ष २६ का अरबिन खत्री, बर्ष ३८ का हिराकाजी राई, बर्ष ३६ का प्रमोद पोखरेल रहेका छन । पक्राउ परेका वडा सदस्य नेकपा एमालेबाट विजयी भएका हुन ।
होटलको तेस्रो तल्लामा होहल्ला गरी तास खेलिरहेको अवस्थामा प्रहरीले एक थान तास र एक लाख ५६ हजार ४ सय ८५ नगद बरामद गरेको छ । यसअघि प्रहरीको सेटिङमा उक्त होटलमा जुवा तास खेलाइने गरेको सर्वसाधरणले आरोप लगाएका छन ।
त्रियुगा नगरपालिका वडा नं. ११ ले जुवा तास रहित दशैं मनाउनको लागि अभियान नै संचालन गरेको थियो । तर वडा सदस्यले दिनभर अभियान संचालन गरि जुवा तास नखेल्नु भन्ने तर राति राति आफैं तास खेलिरहेको अवस्थामा पक्राउ परेकोमा त्रियुगा नगरवासी आश्चर्यमा परेका छन ।
(उदयपुरबाट तुल्सी कोईरालाले पठाएको खबर)