भारतीय दूतावासमा विद्यार्थीको प्रदर्शन
काठमाडैाँ : भारतीय एसएसबीले यादवलाई गिरफ्तार गरेको विरोधमा विभिन्न विद्यार्थी संगठनले सोमबार काठमाडौंस्थित भारतीय दूतावास अगिल्तिर प्रदर्शन गरेका छन् । चर्का नाराबाजीसहित दूतावास अघिल्तिर पुगेका संयुक्त विद्यार्थी संगठनका नेता-कार्यकर्ताले यादव र उनका छोरालाई तत्काल रिहाइ गर्न माग गरे ।
‘सीमारक्षक देवनारायण यादवलाई तत्काल रिहाइ गर’, ‘सीमा अतिक्रमण बन्द गर’ र ‘भारतीय दादागिरी मुर्दावाद’ लगायत नारा लगाउँदै गरिएको उक्त विरोध प्रदर्शनमा नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीका नेता तथा कार्यकर्ता सहभागी थिए ।
यादवलाई भारतीय प्रहरीले पक्रेपछि सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ । सामाजिक क्षेत्रका व्यक्तित्वहरूले यादवको रिहाइका लागि कूटनीतिक पहल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
यादवलाई पक्राउ गर्नुको कारणबारे बुझ्न भारतीय दूतावासमा सोमबार बेलुकी सम्पर्क गर्दा दूतावास प्रवक्ता रुवी जस्प्रीतको मोबाइल स्वीच अफ थियो ।