दसैंमा सन्थाल नृत्यको रौनक

दसैंमा सन्थाल नृत्यको रौनक

विराटनगर : झापा कोरोबारीका विनोद हेम्ब्रम कक्षा ४ मा पढ्छन् । विद्यालय जाने आउनेबाहेक उनी अन्य काममा खासै रुचि राख्दैनथिए । तर, गाउँकै आइतबारे टुडु समूहले विनोद र उनीजस्तै १५ जना किशोरलाई सन्थाल नाच नाच्ने तालिम दियो । विनोद र उनका साथीले आफ्नो कला प्रदर्शन गर्न धेरै कुर्नै परेन । झापाको बैगुन्धुरामा आयोजना भएको जातीय सन्थाल नाच प्रतियोगितामा आफ्नो समूहमा बसेर उनले राम्रोसँग नाचे । भने, ‘६ महिना अघिसम्म आफ्नै जातिको नाच कसरी नाच्ने भन्ने थाहा थिएन तर गाउँकै बुवा, काकाहरूले तालिम दिएर सिकाउनु भयो । अहिले खुसी छ र यो नाचप्रति उत्साहित पनि छु ।’

अल्पसंख्यक सन्थाल समुदाय मोरङ र झापाको ग्रामीण भेगमा बस्ने गरेका छन् । पछिल्लो समय उनीहरूले नाच लोप हुने खतरामा छ । यसलाई जोगाउन अग्रज तथा सन्थाल अभिभावक सक्रिय बनेका हुन् । यो पटकको दसैंमा झापाको गौरादह, लखनपुर, गरामुनीसहितका विभिन्न क्षेत्रमा उल्लासपूर्ण तरिकाले सन्थाल नाच तथा प्रतियोगिता आयोजना भए । सुरुज लेवर सन्थाल अखडा शिवसताक्षी–२ झापाका संस्थापक लोखिराम मुर्मुले भने, ‘हाम्रो समूहले मात्रै ४५ जना किशोरलाई तालिम दिएर नाच्न जान्ने बनाइयो । अब नयाँ पुस्तालाई नसिकाउने हो भने हामी बूढाले मात्र नाच जोगाउँला भन्ने रहेन ।’ उनले किशोरकिशोरीलाई जातीय बाजा बजाउने तालिमसमेत दिने गरेको बताए ।

झापाका विभिन्न स्थानमा सप्तमीदेखि टीकाको पर्सिपल्टसम्म सन्थाल मेला लाग्ने गर्छ । धेरै स्थानमा नृत्य प्रतियोगिता हुने गरेको छ । गौरीगन्जका तल्लु सोरेनका अनुसार गाउँका समूहहरू झापाभरि हुने नृत्य प्रतियोगितामा भाग लिन जाने गरेका छन् । ‘यो प्रतियोगिता आफ्नो संस्कार अरू समुदायका मानिसलाई चिनाउने अवसर भएकाले हामी बर्सेनि भाग लिन जाने गरेका छौं’, उनले भने । सोरेनले नयाँ पुस्तालाई नृत्यमा पारंगत बनाउन यस्ता अवसर उपयोगी हुने बताए ।
सन्थाल नाच यो जातिको पर्व तथा विशेष अवसरमा नाच्ने गरिन्छ । माघेसंक्रान्तिका बेला सोहराई, फागूपूर्णिमामा वहा र बडादसैंमा दसैं नाच नाच्ने गरिन्छ । वहराईमा महिला र पुरुषले हात समाउँदै गोलो घुमेर नाच्ने गरे पनि दसैं नाचमा भने पुरुष मात्र सहभागी हुन्छन् । कक्षा ८ का विद्यार्थी सुनील मरन्डी भन्छन्, ‘१५ दिन मेहनत गरेपछि नाच्न सिकेँ अब अभ्यास गर्दै अझ दक्ष हुन मन छ ।’ उनले आफूजस्तै गाउँका २० जनाले नाच सिकेको बताए ।

झापा गौरादह नगरपालिका–९ बैगुन्धुराका वासुदेव खतिवडा सन्थाल दक्षिणी झापाको गहना भएको बताउँछन्, ‘दसैंको अर्को रौनक र रमाइलो पक्ष भनेकै सन्थाल नाच हो’, उनले भने, ‘फरक संस्कृति र समुदायका मानिसले पनि यो नाच रमाइलो मानेर हेर्छन ।’ बाहिरबाट आउने आगन्तुकलाई मनोरञ्जन दिन दसैंभरि ठाउँठाउँमा नाचिने सन्थाल नाचले सांस्कृतिक रूपमा दुईवटा समुदायलाई जोडेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.