संघीय समाजवादीका उपमहासचिव साहद्वारा पार्टी परित्याग, कांग्रेस प्रवेशको तयारी
कपिलवस्तु: कपिलवस्तुः मधेश र मधेशी जनताको भावना अनुसार पार्टी नेतृत्वले काम गर्न नसकेको भन्दै संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं कपिलवस्तु निर्वाचन क्षेत्र नं.५ का सांसद अभिषेक प्रताप साहले पार्टी परित्याग गरेका छन्।
उपमहासचिव साहले पार्टी नेतृत्वले मधेशलाई २ नम्वर प्रदेशमा मात्रै सीमित गरेको, पार्टीबाट समानुपातिक सांसद बनाउँदा ठूलो रकम लिने गरेको, मधेश आन्दोलनबाट पार्टी नेतृत्वमा रहेका मधेशी नेताहरुले अकुत सम्पत्ति कमाएको जस्ता क्रियाकलापहरु आफूलाई चित्त नबुझेको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
नेपाल प्रेस यूनियनले तौलिहवामा गरेको पत्रकार सम्मेलनमा बोल्दै फोरम नेता साहले आफू केही दिन भित्रै नेपाली कांग्रेसमा प्रवेश गर्ने बताएका छन्। नेता साहले मधेश र मधेशी जनताको हितमा पार्टी नेतृत्वले काम गर्न नसकेको र सधै सत्तालोलुपमै अल्झिरहेको आरोप लगाएका छन्।
पार्टी अध्यक्ष उपेन्द्र यादवले आफू सत्तामा रहंदा मधेशका सवै मुद्धाहरु बिर्षने र सत्ता भन्दा बाहिर आउने बित्तिकै मधेशी जनताको महिसा जस्तो वन्ने नाटक मञ्चन गर्ने गरेको बताएका छन् । अब यो नाटक मधेशमा धेरै नटिक्ने उनले दावी गरे।
पत्रकार सम्मेलनमा नेता साहले मधेशी पार्टीका केन्द्रीय नेताहरुको सम्पत्तिको छानविनको माग समेत गरेका छन्। पटक पटक सत्तामा पुगेका नेताहरुले मधेश र मधेशीको हीत भन्दा पनि सम्पत्ति आर्जनको स्वार्थमा लिप्त रहेको नेता साहले आरोप समेत लगाए।
नेता शाहले आफ्ना बाबु बाजे, राणाकालीन अवस्थामा नै नेपाली कांग्रेसमा आवद्ध रहेको बताउंदै चाडै नै नेपाली कांग्रेस प्रवेश गर्न लागेको बताए। कांग्रेसका सभापति एवम् प्रधानमंन्त्री शेरबहादुर देउवाको हातबाट टिका लगाएर जिल्लामा बृहत पार्टी प्र्रवेश कार्यक्रमको आयोजना गरी नेता साह नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी रहेको छ।