चुनावी तालमेल र एकता कसैका बिरुद्ध परिलक्षित नरहेको स्पष्टोक्ति

 चुनावी तालमेल र एकता कसैका बिरुद्ध परिलक्षित नरहेको स्पष्टोक्ति

काठमाडौ नेकपा एमाले,नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालका वीचमा तत्काल चुनावी तालमेल गर्ने र मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपछि पार्टी एकता गर्ने घोषणा भएको छ । राष्ट्रिय सभागृहमा मंगलबार भएको संयुक्त पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको चुनावी तालमेल र पार्टी एकता सम्बन्धी सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति नेपालका अध्यक्ष बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् । सो सहमति पत्र गृहमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष जनाद्र्धन शर्माले बाचन गरेका थिए ।

एउटै कम्युनिष्ट पार्टी निर्माण गर्न आठ सदस्यीय पार्टी एकता संयोजन समिति बनाइएको छ । सो समितिमा एमालेका चार,माओवादीका तीन र नयाँ शक्तिका एक जना नेता रहनेछन् । एमाले र माओवादीका अध्यक्ष प्रमुख नेता रहनेछन् ।
पार्टी एकताको बिस्तृत खाका संयोजन समितिले तयार पार्ने घोषण पनि पत्रकार सम्मेलनमा गरिएको छ । बैचारिक छलफल र बहसद्धारा क्रान्तिको सिद्धान्तलाई विकसित गर्दै लगिने पनि पत्रकार सम्मेलनमा घोषणा गरियो । तीन वटै पार्टी सम्मिलित चुनावी घोषणापत्र मस्यौदा समिति बनाउने पनि नेताहरुले घोषणा गरेका छन् ।

 


ओली र प्रचण्ड दुवैले चुनावी तालमेल र पार्टी एकताको घोषणा नेपाली काँग्रेस र अरु कसैका बिरुद्ध परिलक्षित नरहेको र राष्ट्रिय स्वाधिनता,आर्थिक समृद्धि र जनताको चाहना र भावना अनुसार भएको बताए ।

ओलीले भने ‘चुनावी तालमेल कसैका बिरुद्ध छैन,नेपाल र नेपाली जनताको पक्षमा छ । यो नेपालको आवश्यकता हो । यो नेपाली जनताको आँकाक्षा र चाहना हो ।’

‘यो चुनावी घोषणा र पार्टी एकता गर्ने पहल नेपाली जनताको आँकाक्षा हो र नेपालको आवश्यकता हो’ अध्यक्ष ओलीले भने ‘चुनावले सुपरिणाम दिन सकोस,देशलाई अगाडि बढाउने दिशामा निर्वाचन उपयोगी हुन सकोस,यसका निम्ति यो जरुरी थियो ।’
एमाले र माओवादीका वीचमा सोमबारसम्म सूर्य चुनाव चिन्हमा चुनाव लडने घोषणा गरेका थिए तर माओवादी नेताहरुको दबाब अन्य प्राविधिक र कानुनी कारणले त्यो संभव नभएको नेताहरुले बताए । ‘एउटै चुनाव चिन्ह लिएर चुनाव लडने सुन्नु भएको थियो होला । प्राविधिक र कानुनी कुराले त्यो संभव हुन सकेन । हामी एउटै पार्टी बनाउने भएपछि त्यसैदिशामा जान्छौ ।’

चुनावी तालमेल र पार्टी एकताबाट कुनै पार्टीले पनि केहि पनि नछोडेको ओलीले बताए । उनले भने ‘कसैले केहि छोडेको छैन । एमाले र माओवादी केन्द्र र नयाँ शक्ति नेपालले सहमति पत्रमा देशलाई सार्वभौमसत्ता,राष्ट्रिय एकता र स्वाभिमानलाई सुरक्षित र माथि उठाउन चाहन्छौ भनेका छौ । त्यसका निम्ति एकताबद्ध हुन आवश्यक छ ।’

‘भूगोल,जात,भाषा,समुदायका वीचमा द्धन्द भडकाउने प्रयास गरे,एक हदसम्म हामीले पराजित गरेका छौ ’ ओलीले भने ‘सामाजिक न्याय र सदभावमा आधारित भएर अगाडि बढेका छौ । हामी सबै जनताको वीचमा गरिवी,असमानता अन्त्य गर्नुपर्छ ।’

२०७४ मा देशभक्त बामपन्थी सरकार हुने ओलीले बताए । ‘साधारण बहुमत ठूलो कुरा होइन,हाम्रो ध्यान दुईतिहाइतिर छ’ उनले भने । आफूहरुले सन्तुलित र मैत्रीपूर्ण र बरावरीको हैसियतमा छिमेक सम्बन्ध चाहेको ओलीले बताए । ‘राष्ट्रसंघ वडा पत्र भन्दा एक अक्षर बाहिर जाँदैनौ । असंलग्न परराष्ट्र नीतिलाई पनि छोडदैनौ’ उनले भने ।

एकता प्रक्रियामा खुसीयाली र उत्साहकासाथ यस अभियानमा सरिक हुन ओलीले अपिल गरे । ‘एमाले,माओवादी केन्द्र र नयाँ शक्ति नेपालका नेता कार्यकर्तालाई खुसीयाली भावका साथ अगाडि बढन आब्हान गर्न चाहन्छु’ओलीले भने ‘यो अभियान शुरुवात हो । कम्यनिष्ट,प्रगतिशिल साथीहरुलाई आ आफनो ताउलो बसाउन छोडन अपिल गर्दछु । हामी ठूलो र सानो भन्दैनौ । हामी हिसावतिर लाग्दैनौ । भावना र उद्देश्यबाट हामी प्रेरित छौ ।’ एकता प्रक्रियामा सहभागी हुने अरु पार्टीलाई दिएर बाँकी रहेको एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत लिने नीति बनाइएको पनि ओलीले बताए ।
‘हरेक नेपालीको चेहरामा मुस्कान आउनुपर्छ । एकताबद्ध र शान्तिपूर्ण राष्ट्र हासिल गर्न पाउनुपर्छ । त्यहि चाहना हामी पूरा गर्न चाहन्छौ’ ओलीले भने ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग चुनावी तालमेल गर्ने र पार्टी एकता गर्ने पहल काँग्रेस वा कसैका बिरुद्ध परिलक्षित नभएको स्पष्ट पारेका छन् । संयुक्त पत्रकार सम्मेलनमा प्रचण्डले भने ‘पार्टी एकता र चुनावी तालमेल कसैका बिरुद्ध परिलक्षित छैन । नेपाली जनता र राष्ट्रको पक्षमा छ । स्वाधिनता र समृद्धिको पक्षमा छ ।’

उनले भने ‘पार्टी एकता कम्युनिष्टहरुका वीचमा हुनेछ । लोकतान्त्रिक शक्तिहरुसँग पनि चुनावी तालमेल गरिनेछ ।’ मधेशकेन्द्रित दल वा अन्य लोकतान्त्रिक दलसँग तालमेल गर्ने नीति रहेको प्रचण्डले बताए ।
राजनीतिक स्थिरतासहित आर्थिक समृद्धिको दिशामा जान एकता प्रक्रिया अगाडि बढाउनु परेको प्रचण्डले बताए । ‘आर्थिक समृद्धि विना समाजवादको आधार संभव छैन’ उनले भने‘यो पहल २१ औ शताब्दीको मोडल खडा गर्ने,बिश्वलाई नयाँ सन्देश दिने भावनाद्धारा प्रेरित छ ।’

समाजवादको नयाँ मोडल खडा गरेर बिश्वलाई नयाँ सन्देश दिन सक्नु पर्नेमा जोड दिदै प्रचण्डले भने ‘आर्थिक,सामाजिक र राजनीतिक अवस्था अनुसार नयाँ मोडल दिनुछ बिश्वलाई । हामीले सक्नैपर्छ ।’

पार्टी एकताको लागि पहिले पनि छलफल भएको र केहि दस्तावेज तयार पारेर आवश्यक निर्णय लिने प्रयास गरेको प्रचण्डले बताए । जनयुद्ध र जनआन्दोलनका सहिदहरु र वेपत्ता योद्दाहरुलाई स्मरण र सम्मान व्यक्त गरे । ‘हाम्रो एकता ऐतिहासिक आवश्यकताद्धारा निर्देशित छ’ उनले भने । आवश्यकता र आकस्मिकताले एकता प्रक्रिया अगाडि बढेको उनले उल्लेख गरे । ‘राजनीति सभावनाहरुको खेल हो’उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.