कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बालुवाटारमा जारी
काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यसहित कार्यसम्पादन समितिको बैठक बसेको हो। पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो।
सत्तारुढ दल नेकपा माओवादी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच निकट भविष्यमा पार्टी एकता गर्ने गरी तत्काल चुनावी तालमेल गर्ने औपचारिक सहमति भएपछि कांग्रेस पार्टीको आगामी रणनीति बनाउन जुटेको हो।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने जनाए पनि कांग्रेसका नेताहरुले भने माओवादीसंगको सम्बन्धमा पुनविचार गर्नुपर्ने धारणा राखेका छन्।
बालुवाटारमा जारी कार्यसम्पादन समितिको बैठकमा बाम एकताबारे छलफल हुनुका साथै बृहत लोकतान्त्रिक गठबन्धन बनाउनेबारे पनि छलफल हुने कांग्रेस केन्द्रीय सदस्य एनपी साउँदले बताए। उनले भने, कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिदै गर्दा हामीलाई पनि लोकतान्त्रिक शक्तिहरुको गठबन्धन बनाउन दवाव छ। कांग्रेसले यसको नेतृत्व गर्छ।’
मंगलबार नेकपा एमाले, एमाओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल गर्ने र चुनाव लगत्तै पार्टी एकता गर्ने गरी ६ बुँदे सहमति भएको थियो।