रोल्पामा समानुपातिक उम्मेदवार आकांक्षी धेरै

रोल्पामा समानुपातिक उम्मेदवार आकांक्षी धेरै

रोल्पा : मंसिर १० र २१ गते हुने प्रतिनिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि रोल्पामा प्रत्यक्ष उम्मेदवार बन्ने भन्दा पनि समानुपातिक आकांक्षीको ओइरो लागेको छ । उम्मेदवार छनौट गर्ने चटारोले यहाँ राजनीतिक चहलपहल पनि निकै बढेको हो ।


दसैंले सुनसान बनेको सदरमुकाम लिबाङ बजारमा दलका नेता कार्यकर्ताको चहलपहलले भरिलो बनेको छ । एमाले र माओवादी केन्द्रको शीर्ष तहमा चुनावी तालमेल र पार्टी एकताको आन्तरिक छलफल भइरहेपनि जिल्लाका तीन ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता उम्मेदवार छनौट र सिफारिस गर्ने हतारोमा छलफल, बैठक र परामर्शमा व्यस्त रहेका छन् । साना दल पनि उम्मेदवार छनौटमा सक्रिय बनिरहेका छन् ।

दसैं बिदाको मौका छोपेर गृह जिल्ला आएका नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त' पनि पर्वका बेला पनि निकै दौडधुपमा रहे । माओवादी केन्द्रले सदरमुकाम लिबाङमा उम्मेदवार छनौटका लागि असोज १५ गते जिल्ला पार्टीको बैठक आयोजना गर्‍यो । बैठकमा प्रत्यक्ष भन्दा समानुपातिक प्रतिनिधित्वका लागि आकांक्षी धेरै देखिए ।

आकांक्षी धेरै भएपछि माओवादी केन्द्रले प्रदेश सभाका लागि दुईवटा निर्वाचन क्षेत्रबाट १४ जनाको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर १ बाट चन्द्रबहादुर बुढा, मिना बुढामगर, पवनकुमार कँवर, ओमबहादुर पुन, सीता आचार्य, राजकुमार कँवर र इन्द्रबहादुर रोका सिफारिसमा परेका छन् । क्षेत्र नम्बर २ बाट सुरेन्द्र थापा, तोपबहादुर डाँगी, कर्मलाल परियार, रामधन पुन, हरिसरा घर्तीमगर, भक्तबहादुर वली र काशीराम बुढामगर सिफारिस गरिएको पार्टीले जनाएको छ । आकांक्षी धेरैै भएकाले नाम टुंगो लगाउन नेतृत्वलाई हम्मेहम्मे परेको थियो ।

प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्पm माओवादी केन्द्रका ५ नम्बर प्रदेश इन्चार्ज समेत रहेका नेता अनन्तलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिसकेको छ । यद्यपी, एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालको चुनावी तालमेलको घोषणा पश्चात कसरी जाने भन्ने यकिन भएको छैन । ‘आसन्न चुनावका लागि आन्तरिक रुपमा उम्मेदवारको नाम सिफारिस गरिएको हो । तालमेल र एकताबारे केन्द्रबाट ठोस नीति आएपछि दुवै पार्टी बसेर उम्मेदवारको अन्तिम टुंगो लगाइन्छ ।' माओवादी केन्द्रका जिल्ला अध्यक्ष सुरेन्द्र थापा ‘धु्रव' भन्छन् । आन्तरिक सिफारिसका क्रममा प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ सभामुख ओनसरी घर्ती र नेतृ जयपुरी घर्तीलाई सिफारिसमा परेका छन् ।

क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका पोलितब्यूरो सदस्य दिपेन्द्र पुन ‘सिजल' सर्वसम्मतिले प्रदेशका लागि प्रत्यक्ष उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नम्बर २ बाट भने नेता द्वय जोखबहादुर महरा र कुलप्रसाद केसी ‘सोनाम' को नाम सिफारिस गरिएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष सुरेन्द्र थापा ‘धु्रव' ले जनाए । नेता महरा क्षेत्र नम्बर १ कै हुन भने सोनाम २ नम्बर क्षेत्रका हुन् । दुवैजना आकांक्षी बनेपछि सिफारिस गरिएको हो ।

दसैंपछि नेकपा एमाले पनि उम्मेदवार छनौट र सिफारिसको चटारोमा रहेको छ । असोज १६ गते क्षेत्र नम्बर १ को र १७ गते क्षेत्र नं. २ को वैठक सम्पन्न गरि प्रत्यक्ष तर्पmकोे उम्मेदवार चयन गरिसकेको छ । एमालेका जिल्ला अध्यक्ष हरीप्रसाद घर्तीका अनुसार संघीय प्रतिनिधिसभाका लागि पोलितव्यूरो सदस्य एवं सचेतक गोकुल घर्ती उम्मेदवार बन्नेछन । क्षेत्र नम्बर १ बाट पर्शुराम घर्ती र क्षेत्र नम्बर २ बाट अध्यक्ष हरीप्रसाद घर्ती प्रदेशका लागि प्रत्यक्ष तर्पmको उम्मेदवार सिफारिस गरिएको छ । ‘हामीहरुले उम्मेदवार चयन गर्दैगर्दा बाम तालमेल र एकता लागि घोषणा भयो । तालमेल सहितको उम्मेदवार सिफारिस गर्ने केन्द्रबाट ठोस नीति आयो भने जिल्लामा एमाले र माओवादी केन्द्रका जिम्मेवार नेता बसेर टुंगो लगाउन सकिन्छ' अध्यक्ष घर्तीले भने । एमालेमा पनि समानुपातिक आकांक्षी धेरै रहेको जनाइएको छ ।


नेपाली कांग्रेसले असोज १६ र १७ गते दुई दिन उम्मेदवार सिफारिसका लागि बैठकको आयोजना गर्‍यो । लामो छलफलपछि सिँचाई राज्यमन्त्री एवं जिल्ला पार्टी सभापति अमरसिंह पुनमगरलाई प्रतिनिधि सभाका लागि प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरिएको छ । क्षेत्रीय समितिले जिल्ला पार्टीलाई उम्मेदवारको सिफारिस गर्ने र आवश्यक राय सहित केन्द्रमा नाम पठाउने प्रावधान रहेको उपाध्यक्ष किशोर आचार्यले जानकारी दिए । आकांक्षी उम्मेदवारबाट ३÷३ जना सिफारिस गर्ने भनिएपनि आकांक्षीको लामो सूचि नै क्षेत्रबाट सिफारिस भएका छन् ।

प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ क्षेत्र नम्बर २ बाट नेतृ भिमकुमारी बुढा र क्षेत्र नम्बर १ बाट आठ जनाको नाम सिफारिस गरिएको छ । संघीय समानुपातिक आकांक्षीमा माधवप्रसाद आचार्य, नारायण सुवेदी, मिश्री हमाल, रेगबहादुुर सुवेदी, सिमबहादुर विष्ट, दलसिंह कामी, हरिबहादुर राना र कविता उपाध्याय रहेका छन् ।

क्षेत्र नम्बर १ बाट पार्टी सचिव शेरबहादुर महरा प्रदेशका लागि प्रत्यक्ष तर्फ सर्वसम्मत उम्मेदवार सिफारिस गरिएका छन् भने क्षेत्र नम्बर २ बाट कोषाध्यक्ष खड्कबहादुर खत्री, खगेन्द्र हमाल र दिपक श्रेष्ठलाई सिफारिस गरिएको छ ।

कांगे्रसमा पनि समानुपातिकतर्फ धेरैको आकर्षण देखिएको छ । क्षेत्र नम्बर एकबाट प्रदेशका लागि समानुपातिकतर्फ पूर्व सांसद लेखनाथ आचार्य समेत अकांक्षी बनेका छन् । आचार्य रोल्पा नगरपालिकाको मेयरमा समेत उम्मेदवार भई माओवादी केन्द्रका पुरण केसीबाट पराजित भएका हुन् । समानुपातिकमा विद्यार्थी नेता मनोजमणि आचार्य, तिजा विष्ट, श्रीकुमारी रोका, मनिकला राना, पुष्पा श्रेष्ठ, पदम विष्ट र देवा आचार्य सिफारिसमा परेका छन् । क्षेत्र नम्बर २ बाट झक्कुप्रसाद घर्ती, बमबहादुर रोका, मोहन परियार, धनबहादुर रसाईली, टीका थापा, संकबहादुर छन्त्याल र टेकबहादुर बस्नेत प्रत्यक्ष तर्फको उम्मेदवार बन्दा धेरै खर्च हुने र जित पनि सुनिश्चित नहुने भएकाले धेरै नेता समानुपातिक तर्फ आकांक्षी बनेको बताइन्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.