वाम ध्रुवीकरणको प्रभाव : कांग्रेसको नेतृत्वमा ६ पार्टी संगठित

वाम ध्रुवीकरणको प्रभाव : कांग्रेसको नेतृत्वमा ६ पार्टी संगठित

काठमाडौं : वामपन्थी शक्तिबीच चुनावी तालमेल घोषणा भएको २४ घन्टा नबित्दै कांग्रेसले सत्तारुढ र सत्ताबाहिरका लोकतान्त्रिक शक्तिलाई समेटेर अर्का गठबन्धन बनाएको छ।

कांग्रेसको अग्रसरतामा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राप्रपा (प्रजातान्त्रिक), नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसहित ६ दलले चुनावी मोर्चाका लागि आवश्यक गृहकार्य गर्न ७ सदस्यीय कार्यदल गठन गरेका छन्। एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले मंगलबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तालमेल घोषणा गरेका थिए।

बालुवाटारमा बुधबार साँझ ६ देखि पौने ९ बजेसम्म प्रधानमन्त्री शेरबहादुर देउवाको अगुवाइमा बसेको ६ दलको बैठकमा चुनावी तालमेलका लागि कार्यदल गठन गर्ने सहमति भएको हो। कार्यदलमा कांग्रेसबाट दुई र पाँच दलबाट एक÷एकजनाको प्रतिनिधित्व रहनेछ। कार्यदल सदस्यको नाम बिहीबार बिहान ८ बजेभित्र प्रधानमन्त्री देउवालाई उपलब्ध गराउने र बिहान ९ बजे शीर्ष बैठक बस्ने तयारी ती दलले गरेका छन्।

कार्यदललाई प्रतिनिधिसभा र प्रदेशसभामा ६ पार्टीको तालमेल, साझा चुनावी घोषणापत्र, चुनावका लागि आवश्यक रोडम्याप दुई दिनभित्र तयार गर्ने कार्यविधि दिइएको जानकारी राप्रपा नेता दिलनाथ गिरीले दिए। भने, ‘बैठकमा कांग्रेसले देखाएको लचकताको परिणामस्वरूप ६ वटा लोकतान्त्रिक शक्तिको चुनावी तालमेलको खाका बनेको छ। यो एकता अटुट रहनेछ।’ उनका अनुसार यो एकतापछि मुलुकमा बृहत् प्रजातान्त्रिक–राष्ट्रवादी मोर्चा गठन भई वाम एकताविरुद्ध चुनावमा प्रतिस्पर्धा हुनेछ।

राजपा अध्यक्षमण्डलका नेता शरत्सिंह भण्डारीले कार्यदलले दिने प्रतिवेदनका आधारमा मंसिरको चुनावमा तालमेल हुने बताए। भने, ‘वाम एकताले मुलुकलाई एकदलीय अधिनायकवादतर्फ लग्ने सोच र रणनीतिविरुद्ध यो चुनावी तालमेल बन्नेछ।’ बैठकमा प्रधानमन्त्री देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, बहुदलीय व्यवस्था र बहुलवादका लागि लोकतान्त्रिक शक्ति एकजुट हुनै पर्ने धारणा व्यक्त गरेको उनले सुनाए।

राप्रपा अध्यक्ष कमल थापाले बृहत् प्रजातान्त्रिक एकताबाटै निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने परिस्थिति देखापरेको भन्दै कांग्रेसको हदैसम्मको लचकतापूर्ण व्यवहार अपरिहार्य रहेको स्पष्ट पारेका थिए। यस्तो एकताले मात्र लोकतन्त्र रक्षा गर्ने विश्वास थापाले व्यक्त गरेको स्रोतले बताएको छ।
फोरम अध्यक्ष उपेन्द्र यादवले फरक–फरक विचारका ६ पार्टीको उद्देश्य वाम एकताविरुद्ध चुनावी प्रतिस्पर्धा गरी लोकतन्त्रको विजय गराउनु रहेको बताएका थिए।

राजपा अध्यक्ष महन्थ ठाकुरले मधेसका माग अझै पूरा नभएको स्मरण गराउँदैै बैठकमा भने, ‘कांग्रेसको लचकतापूर्ण प्रतिबद्धताले मात्र चुनावमा लोकतान्त्रिक शक्तिको विजय सुनिश्चित छ। राजपाका माग पूरा गराउने प्रतिबद्धतासमेत चुनावी तालमेलमा हुनुपर्छ।’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक शक्तिहरूको एकताबिना प्रजातन्त्रको संरक्षण नहुने उल्लेख गर्दै यो एकता नटुट्ने गरी अघि बढाउन प्रतिबद्ध हुनुपर्ने बताएका थिए। उनले एमाले–माओवादी चुनावी एकतालाई कम्युनिस्टहरूको अधिनायकवादी शासनको पुनरावृत्तिका रूपमा व्याख्या गरेका थिए।

बैठकको अन्त्यमा कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले राजनीतिक ध्रुवीकरणको सामना गर्न लोकतान्त्रिक शक्तिलाई एकै ठाउँमा मिलाएर लैजाने प्रतिबद्धता जनाएका थिए। उनले राजपा र फोरमलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए। प्रधानमन्त्री भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपार्इंहरू सरकारमा सहभागी भए माओवादीबाहेक नै बहुमत हुन्छ।’

गठबन्धन गर्ने कांग्रेसको निर्णय
६ दलको बैठकअघि कांग्रेस कार्यसम्पादन समिति बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक शक्तिहरूसँग मिलेर अघि बढ्ने निर्णय गरेको थियो। एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच निर्वाचनमा तालमेल गर्ने सहमति भएपछि बुधबार बसेको कांग्रेस बैठकले गठबन्धन गर्ने निर्णय गरेको हो। बैठकअघि प्रधानमन्त्री देउवाले बालुवाटारमा सरकारमा सहभागी तथा सरकारबाहिर रहेका लोकतान्त्रिक शक्तिका शीर्ष नेतासँग छलफल गरेका थिए।

राप्रपा अध्यक्ष कमल थापा, राजपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणालगायतसँग देउवाले छलफल गरेपछि बसेको कांग्रेस बैठकले आगामी निर्वाचनमा लोकतान्त्रिक राष्ट्रवादी शक्तिबीच चुनावी तालमेल गर्ने निर्णय गरेको हो।

बैठकमा देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र नयाँ शक्तिसँग तालमेलको अवस्थाबारे अवगत गराएको सुनाएका थिए। संविधान कार्यान्वयनका लागि मंसिर १० र २१ को निर्वाचन अपरिहार्य रहेको स्मरण गराउँदै आफूले निर्वाचनसम्म सँगै जान पटक–पटक आग्रह गरेको उनको भनाइ थियो। प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै कार्यसम्पादन समितिका एक सदस्यले भने, ‘चुनावसम्म सँगै जाऊँ भन्दा दाहालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कति प्रतिशत दिनुहुन्छ भन्ने प्रस्ताव गरे। तर, मैले जवाफ दिइनँ।’

बैठकमा सहभागी कांग्रेस नेता मीनबहादुर विश्वकर्माले अन्नपूर्णसँग भने, ‘कांग्रेसले अहिलेसम्म निश्चित प्रतिशत दिएर पार्टीहरूसँग कुनै सम्झौता गरेको छैन। दाहालले कति प्रतिशत दिनुहुन्छ भन्दा देउवाले कुनै उत्तर दिनुभएन।’

वाम धु्रवीकरण लोकतान्त्रिक शासन व्यवस्थाका लागि अशुभ संकेत हो भन्ने ठहर बैठकले गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.