जाजरकोट काँग्रेसका उम्मेदवार सर्वसम्मत
जाजरकोट : आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको लागि सत्तारुढ नेपाली काँग्रेस जाजरकोटले आफ्ना उम्मेदवारको सर्वसम्मत रुपमा टुंगो लगाएको छ । काँग्रेस जाजरकोटले प्रतिनिधि सभाका लागि वर्तमान सांसद राजीवविक्रम शाह र प्रदेश सभाका लागि क्षेत्र नम्वर १ बाट युवा नेता वेदराज सिंह र क्षेत्र नं २ बाट पार्टीका जिल्ला सभापति एवम पूर्व साँसद दिपकजंग शाहलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको नेपाली काँग्रेस जाजरकोटका सचिव खडक बिसीले बताए ।
उनका अनुसार प्रतिनिधि सभाका लागि राजीव शाह बाहेक अरुले चासो नगरेको र प्रदेश सभाका लागि भने धेरैले रुचि देखाएपनि पछिल्लो राजनैतिक घटनाक्रमले सर्वसम्मत उम्मेदवार चयन गर्न सहयोग गरेको छ । सबै कार्यकर्ता र आममतदाताको भावना अनुसार सर्वसम्मत रुपमा उम्मेदवार छनौट गरिएको सचिव बिसीले बताए ।
जाजरकोटमा फैलिएका विभिन्न रोगका महामारी तथा अन्य दुर्घटनाका बेला आपतमा परेका जनतालाइ निजी खर्चमा सहयोग गरेका कारण राजिव जिल्लामा लोकप्रिय नेताको रुपमा चिनिन्छन् । राजनीति भन्दा बढी समाजसेवाका कारण उनी जिल्ला भित्र र बाहिर निकै चर्चित छन् ।
उनले प्रतिनिधि सभाको चुनावमा माओवादी केन्द्रका नेता एवम् पुर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतसँग प्रतिष्पर्धा गर्ने छन् । माओवादी केन्द्रले उम्मेदवार छानि सकेको छ भने एमालेले अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।