राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुन पौडेलको आग्रह
काठमाडौँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनता एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुन आह्वान गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ लाई लक्ष्य गरी आयोजना गरेको घोषणापत्र तयारी सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस निरंकुश राणा शासन, पञ्चायती व्यवस्था, दक्षिणपन्थी र दरबारिया शक्तिसँग लड्दै आएको नेपालको ऐतिहासिक पार्टी भएको र यसको इतिहासलाई कसैले मेटाउन नसक्ने दाबी गरे।
कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी हुन नसक्ने बताउँदै नेता पौडेलले कम्युनिस्ट अधिनायकवादविरुद्ध लोकतन्त्रवादी संगठित हुनु आजको आवश्यकता भएको विचार व्यक्त गरे। कांग्रेसको घोषणपत्रमा सुशासन, निमुखालाई न्याय र विपन्नलाई आय, कृषि, पर्यटन, ऊर्जा, जलस्रोत, सहकारी, शिक्षा, स्वास्थ्यसम्बन्धी विषय समेट्न उनले सुझाव दिए।
कांग्रेस नेता महेश आचार्यको संयोजकत्वमा तयार हुने घोषणपत्रमा समेट्नुपर्ने विषयमा कांग्रेस निकट विभिन्न पेशागत संघले रचनात्मक सुझाव दिएका थिए ।
सुझाव दिनेमा नेपाल महिला संघका अध्यक्ष उमा रेग्मी, प्रजातान्त्रिक चिकित्सक संघका अध्यक्ष केके राई, नेपाल ट्रेड युनियनका उपाध्यक्ष गणेश निरौला, नेपाल शिक्षक संघका अध्यक्ष केशव निरौलालगायत थिए।