माओवादीले सहमति तोड्यो : कांग्रेस

माओवादीले सहमति तोड्यो : कांग्रेस

 

काठमाडौं : आसन्न चुनावका लागि एमाले तथा नयाँ शक्तिसँग चुनावी तालमेल गर्ने माओवादी केन्द्रको निर्णयले आलोपालो सत्ता नेतृत्व गर्ने गरी कांग्रेस र माओवादीबीच भएको ३ बुँदे सहमति तोडिएको ठहर कांग्रेसको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तोकिएको अवस्थामा माओवादी केन्द्रले एमाले तथा नयाँशक्तिसँग चुनावी तालमेल गर्ने निर्णयलाई अस्वाभाविक रूपमा लिने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले लोकतान्त्रिक मूल्य-मान्यतालाई कमजोर पार्दै निरंकुशता र अधिनायकवादलाई प्रोत्साहित गर्ने, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कमजोर पार्ने सोचलाई दृढतासाथ कांग्रेसले सामना गर्ने निर्णय गरेको छ ।

शान्ति प्रक्रियाबाट विकसित सहमति, सहकार्य र मेलमिलापका आधारमा राष्ट्रिय एकता, लोकतान्त्रिक शासन, शान्ति प्रक्रिया र संविधान कार्यान्वयनमा जिम्मेवारीसाथ अघि बढ्ने प्रतिबद्धता पनि कांग्रेसले गरेको छ ।प्राप्त उपलब्धिको संरक्षण गर्न तथा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउने दायित्व पूरा गर्न सबै लोकतान्त्रिक, राष्ट्रवादी र प्रगतिशील राजनीतिक शक्तिसँग सहकार्य गरी चुनावी तालमेल गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ ।

समानुपातिक सांसद नदोहोरिने

कांग्रेसले समानुपातिक प्रणालीबाट सांसद बनेका व्यक्तिलाई आसन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ पुनः उम्मेदवार नबनाउने भएको छ ।स्थानीय तह निर्वाचनमा महानगर÷उपमहानगर, नगरपालिका तथा गाउँपालिका प्रमुख÷उपप्रमुख पद एवं अन्यमा उम्मेदवार बनेका व्यक्तिलाई प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार नबनाउने निर्णयसमेत कांग्रेसले गरेको छ ।

०७० को निर्वाचन र स्थानीय तहमा आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका तथा उनीहरूका प्रस्तावक र समर्थक बनेकालाई प्रदेशसभा र प्रतिनिधिसभा सदस्यमा उम्मेदवार नबनाउन नीति पनि कांग्रेसले बनाएको छ ।असोज २७ भित्र प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका सबै उम्मेदवारको नाम टुंगो लगाउने निर्णय पनि कांग्रेसको छ ।
बैठकले उम्मेदवार चयन गर्न संसदीय समिति गठन गर्न पार्टी सभापतिलाई अधिकार दिएको छ ।

‘वाम एकता कांग्रेसका लागि चुनौती’

बैठकमा प्रधानमन्त्री देउवाले भने, ‘वाम गठबन्धनले कांग्रेसलाई मात्र होइन, लोकतान्त्रिक मूल्य-मान्यतालाई नै चुनौती दिएकाले कांग्रेसभित्र एकता, सहमति अपरिहार्य रहेको छ ।’
उनले भने, ‘वाम एकता कांग्रेसका लागि ठूलै चुनौती हो । यो सामान्य विषय होइन । यसको उद्देश्य लोकतन्त्र खत्तम गर्नु नै हो ।’

देउवाले भने, ‘कांग्रेसभित्र घात, अन्तरघात होइन, बृहत् आन्तरिक एकता आवश्यक छ ।’
एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच भएको वाम गठबन्धन सामान्य नभएको उनको ठहर छ ।
वाम गठबन्धन लोकतान्त्रिक मूल्य-मान्यताका साथै राष्ट्रिय एकता र संविधान कार्यान्वयनमा गम्भीर खतरा पैदा भएको कांग्रेसको विश्लेषण छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी तालमेलका लागि आफूहरूले पनि प्रचण्डसँग कुराकानी गरेको भन्दै वाम गठबन्धन भएकोप्रति आश्चर्य प्रकट गरेका थिए ।

उम्मेदवार सिफारिस क्रममा विभिन्न जिल्लामा अहिले पनि पार्टी महाधिवेशनको धङधङी देखिएको भन्दै पौडेलले चिन्ता व्यक्त गरे ।उनले भने, ‘स्थानीय तहको पहिलो, दोस्रो र तेस्रो चरणमा पार्टीले भोग्नुपरेको पराजयबाट त सिकौं र भनाइमा होइन, व्यवहारमै एकता गर्दै पार्टीका इमानदार कार्यकर्तालाई उम्मेदवार बनाऔं ।’

बैठकमा नेता गगन थापाले वाम घटकबीचको चुनावी तालमेललाई सामान्य लिएर उदार प्रजातान्त्रिक मूल्य जोगाउने शक्ति कांग्रेस मात्रै हो भन्ने स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।
नेता नारायण साउदले माओवादी केन्द्रले पटक-पटक दिँदै आएको धोकाबाट सभापति देउवाले पाठ सिक्नुपर्ने माग गर्दै माओवादीलाई सत्ता गठबन्धनमा राख्नुको औचित्य नरहेको जिकिर गरे ।

कांग्रेसले पाँचै दलसँग द्विपक्षीय वार्ता गर्ने

लोकतान्त्रिक गठबन्धनको सात सदस्यीय कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रम, आधार पत्र र सिट व्यवस्थापन सम्बन्धमा परामर्श गरेको छ । कांग्रेसले सिट बाँडफाँटमा मोर्चामा आबद्ध राप्रपा, फोरम नेपाल, राजपा, राप्रपा (प्रजातन्त्रवादी) र फोरम लोकतान्त्रिकसँग द्विपक्षीय वार्ता गर्ने भएको छ।

कार्यदलका सदस्य सर्वेन्द्रनाथ शुक्लाले कार्यदलले प्रभावकारी रूपमा सिटको तालमेल गठबन्धनको हितमा हुनेगरी गृहकार्य गर्ने बताए ।उनले अन्नपूर्णसँग भने, ‘पहिलो चरणमा कांग्रेसले अन्य पाँच पार्टीसँग द्विपक्षीय परामर्श गर्ने भएको छ ।’

कार्यदलको पहिलो बैठकले कार्यदल संयोजकमा कांग्रेस नेता विमलेन्द्र निधिलाई चयन गरेको छ । कार्यदलले साझा नीति तथा कार्यक्रमबारे विस्तृत छलफल गर्ने कांग्रेस नेता पूर्णबहादुर खड्काले बताए।

कार्यदल बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक)बाट विक्रम पाण्डे, संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी सहभागी थिए ।

मन्त्री नहटाऊ : दाहाल

प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारविरुद्ध माओवादी नभएकाले आफ्ना पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई नहटाउन आग्रह गरेका छन् ।

आफूलाई भेट्न प्रधानमन्त्रीनिवास बालुवाटार आएका दाहालले आगामी चुनावी तालमेल र त्यसपछि पार्टी एकताका लागि माओवादी र एमालेबीच सहमति भए पनि वर्तमान सरकार ढाल्ने कुनै योजना नभएको दोहोर्‍याएका थिए ।

माओवादी स्रोतका अनुसार आक्रामक रूपमा प्रस्तुत भएका देउवाले आपूmले १० महिनासम्म माओवादी सरकारलाई कुनै अप्ठ्यारो नपारेको भन्दै माओवादीबाट यस्तो किन भयो भन्ने प्रश्न दाहालसमक्ष राखेका थिए ।

देउवाले कांग्रेसको बुधबार र बिहीबार बसेको कार्यसम्पादन समिति र शुक्रबारको केन्द्रीय समिति बैठकमा अधिकांश सहभागीले माओवादी मन्त्रीलाई हटाउन आपूmलाई दबाब दिइरहेको जानकारी दाहालले दिएका थिए । ‘मैले वर्तमान सरकारबाट माओवादी मन्त्रीलाई तत्काल हटाउने कुरा सोचेको छैन,’ देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

यता, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शुक्रबार प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी ओलीसँग छुट्टाछुट्टै भेटी राजा र हिन्दुबारे परामर्श गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.