सिट बाँडफाँट दुई दिनभित्रै

सिट बाँडफाँट दुई दिनभित्रै

 

काठमाडौं : लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलबीच सिट बाँडफाँटलाई दुई दिनभित्रै टुंगोमा पुर्‍याउने गरी प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा आइतबार बिहानैबाट छलफलमा जुट्ने भएका छन् । प्रतिनिधिसभाको २७५, राष्ट्रियसभाको ५९ र सात प्रदेशको ५५० गरी कुल ८८४ स्थानमा सबैको चित्त बुझ्ने गरी तालमेल मिलाउने विषयमा देउवाले सबै दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् । लोकतान्त्रिक शक्तिबीच तालमेलका लागि गठित सात सदस्यीय कार्यदलमा गठबन्धनभित्रका महत्वपूर्ण नेताहरूलाई कुनै न कुनै सदनमा पुर्‍याउने विषयमा सहमति जुटेको छ । कार्यदलको शनिबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा उक्त सहमति भएको हो ।

 

बैठकमा कार्यदल संयोजक विमलेन्द्र निधिले राजनीतिक ड्राफ्ट प्रस्तुत गरेका थिए । अन्य दलका नेताले भने मूल कुरा सिट तालमेल रहेकाले त्यस विषयमा निकासमा पुगेपछि अन्य कुरा स्वतः मिल्ने भन्दै त्यसका लागि कांगे्रसलाई नेतृत्व लिन आग्रह गरेका थिए । राप्रपा, फोरम नेपाल, राजपा, राप्रपा (प्रजातान्त्रिक) र फोरम लोकतान्त्रिकका प्रतिनिधिको सुझावलाई स्विकार्दै निधिले आइतबार कार्यदलमा सिट तालमेलसम्बन्धी एजेन्डामथि छलफल गर्ने जानकारी गराएको फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले बताए । कांग्रेस सभापति देउवाले गठबन्धनका नेतासँग समेत अनौपचारिक वार्ता गर्ने जानकारी निधिले बैठकमा दिएका थिए ।

देउवाले सिट तालमेलका सम्बन्धमा दुई दिनभित्रै निष्कर्षमा पुग्ने गरी छलफल गर्न लागेको चौधरीले बताए । उनका अनुसार निधिले पेस गरेको ड्राफ्टमा ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आन्दोलनकारी शक्तिहरू आगामी पाँच वर्षसम्म यसै गठबन्धनमा रहनुपर्ने’ उल्लेख छ । मधेस, थारू, मुस्लिम, जनजाति, आदिवासीलगायत आन्दोलनलाई समेट्दै तजा जनादेशमार्फत आउने प्रतिनिधिसभाबाट संविधान संशोधन गराउने प्रतिबद्धता पनि ड्राफ्टमा जनाइएको छ ।

प्रतिनिधिसभाको १६५ प्रत्यक्ष र ११० समानुपातिक, राष्ट्रियसभाको ५६ र प्रदेशसभाको ३३० प्रत्यक्ष र २२० समानुपातिक सिटमा एकमुस्ट तालमेल मिलाउने तयारी भइरहेको कार्यदलका अर्का सदस्यले बताएका छन् । प्रदेश १ मा प्रत्यक्ष ५६ र समानुपातिक ३७, प्रदेश २ मा प्रत्यक्ष ६४ र समानुपातिकमा ४३, प्रदेश ३ मा प्रत्यक्ष ६६ र समानुपातिक ४४, प्रदेश ४ मा प्रत्यक्ष ३६ र समानुपातिकमा २४, प्रदेश ५ मा प्रत्यक्ष ५२ र समानुपातिकमा ३५, प्रदेश ६ मा प्रत्यक्ष २४ र समानुपातिकमा १६ तथा प्रदेश ७ मा प्रत्यक्ष ३२ र समानुपातिकमा २१ जना चुनिनेछन् ।

उल्लिखित सबै संख्यामा मात्र नभएर प्रदेश २ मा प्रदेश सरकारसहितको बहुमत र संसद्मा पनि प्रदेश २ को हकमा कांग्रेस बराबरी सिटको दाबी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीको रहेको स्रोत बताउँछ । कार्यदल सदस्य सर्वेन्द्रनाथ शुक्लाले कांग्रेसको अगुवाइमा आइतबारदेखि सिट वितरण कार्य हुने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.