दिपासाको बारुली कम्मर लचक्कै राजेन्द्र कार्की, रिम्ना
(जाजरकोट) : मोडेल तथा अभिनेत्री दिपासा बीसी जब ‘मेरो बारुली कम्मर लचक्कै’ बोलको गीतमा कम्मर मर्काउँदै स्टेजमा आइन्, दर्शकदीर्घाबाट हुटिङ आयो । गीत जति जोशिलो लाग्छ, उनको प्रस्तुति त्यत्तिकै शानदार थियो । कलाकार समाज काठमाडौंको आयोजनामा जाजरकोटको रिम्ना बजारमा आयोजित कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको चौथो दिन दिपासाको हट नृत्यमा दर्शकले भरपूर मनोरञ्जन लिए ।
भेरी कलाकार समाजकी महासचिव दिपासाले दुलै रानी, झेली, बिरानो माया, गहिराइ, रमिता, चाललगायतका चलचित्रमा अभिनय गरेकी छन् । दर्जनौं म्युजिक भिडियोमा मोडलिङ गरेकी विपासाको नृत्य हेर्न रुकुम र सल्यानका सयांै दर्शक महोत्सवस्थल रिम्ना पुगेका छन् ।
सोमबारसम्म चल्ने महोत्सवमा टीका पुन, राजु परियार, नवीन दैलेखी, पूर्णकला बीसी, जय रावल, गोपाल नेपाल जीएम, धनराज चुनारा, राजु सुनाम, बलु आरसी, गंगा विवश, आरसी आरजे सोनी, रत्न विक, निरुता शाही, नीराजन अधिकारी, भावना आचार्य, गणेश हमाल, दुर्गा बीसी, प्रज्ज्वल भण्डारी, क्षितिज समर्पण, तृप्ति खड्का, आरुसी मगर लगायतका कलाकारको उनीलगायत थुप्रै कलाकारको प्रस्तुति रहेको छ ।
कला संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न, कृषि तथा पशुपालनलाई व्यवसायीकरण गर्न, व्यापार तथा पर्यटनको प्रवद्र्धन गरी उद्यमशीलताको विकासबाट जिल्लाको आर्थिक वृद्धि गर्न जाजरकोटको भेरी नगरपालिका-१ स्थित रिम्नामा कलाकार आयोजक भएर कृषि, पर्यटन तथा सांस्कृतिक सचेतना महोत्सव-२०७४ आयोजना गरिएको भेरी कलाकार समाज, काठमाडौंका अध्यक्ष टीका पुनले जानकारी दिइन् ।
महोत्सव अवलोकनकर्तालाई ख्यातिप्राप्त कलाकारद्वारा मनोरञ्जन दिनुका साथै लोपोन्मुख स्थानीय झाँकीहरूको प्रस्तुति गरिरहेको अध्यक्ष पुनको भनाइ छ । महोत्सवमा किसानले उत्पादन गरेको कृषि उपज प्रदर्शनी गरिनुका साथै किसानहरूको लघुउद्यमद्वारा उत्पादन गरिएको मौरीको मह, लिउ, कम्मल, राडीपाखीजस्ता वस्तुको प्रदर्शनी गरिएको छ ।
कला, संस्कृति, प्राकृतिक सम्पदा र धार्मिक हिसाबले महत्वपूर्ण जिल्लाका रूपमा रहेको जाजरकोटमा भेरी कलाकार समाज, काठमाडौंले पहिलोपटक कृषि, पर्यटन तथा सांस्कृतिक सचेतना महोत्सव आयोजना गरेको अध्यक्ष पुनले जानकारी दिइन् ।